देशका सबैजसो पर्यटकीय स्थलमा चहलपहल

 कात्तिक १२, २०८० आइतबार ७:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

अन्नपूर्ण आधार शिविर पुुगेका आन्तरिक पर्यटक, तस्बिर : रासस

काठमाण्डाै - दशैँ बिदाको बेला देशका धेरै पर्यटकीय स्थलमा चहलपहल बढेको छ । दशैँमा घरगाउँ पुगेकाहरु नजिकको पर्यटकीय क्षेत्र घुम्न जाने क्रम बढेपछि चहलपहल भएको हो । दशैँ सकिएपछि पनि धेरैजना घुम्न निस्किएका छन् ।

धेरै स्कुल, क्याम्पस तिहारसम्म बिदा हुने भएकाले यो बेला घुम्न निस्कनेमा विद्यार्थी र शिक्षकको सङ्ख्या बढी छ । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेपछि होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्यले दशैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिनुभयो ।

बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिङ्गा तातोपानीका होटल पाहुनाले भरिभराउ बनेका हुन् । बडादशैँको टीकाको भोलिपल्टदेखि काठमाण्डौ, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । 

‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पनि पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवम् बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले जानकारी दिनुभयो । विशेषगरी युरोपेली देश, चीन, भारतलगायत देशबाट पर्यटक बन्दीपुर आउने गरेका छन् । 

ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा पनि घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दशैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो ।

कञ्चनजङ्घा क्षेत्र घुम्नका लागि अन्तरिक तथा बाह्य पर्यटक पहिलो रोजाइमा पर्दै गएको छ । विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुन्सा बस्तीमा पर्यटकको चलहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेकपोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताउनुभयो ।

बाह्य पर्यटकले घुन्सा चेकपोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नु पर्दछ । तर आन्तरिक पर्यटकले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन, त्यसैले कञ्चनजङ्घा क्षेत्रमा कति अन्तरिक पर्यटकले अवलोकन गरे भन्ने तथ्याङ्क अहिलेसम्म कसैसँग छैन । तर हरेक वर्ष कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटकको पनि आगमन बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ ।

दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दशैँअघि सुनसान रहेका होटल दशैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् । दशैँ शुरु भएपछि धेरै होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निराश पर्यटन व्यवसाय चाडबाड शुरु भएसँगै पुनः तङ्ग्रिन थालेका बताउनुभयो । सौराहामा विदेशीभन्दा स्वदेशी पर्यटक धेरै जाने गरेका छन् ।

कास्कीमा रहेको विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको पनि लर्को लागेको छ । मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्राभित्र पर्दछ । पोखराबाट तीन दिन दुई रातमा पदयात्रा सकेर फर्किन सकिने भएकालेसमेत धेरैको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटक लोभिने गरेका छन् ।

यस्त, दशैँ लगत्तै पदयात्राका लागि पुुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्कोे लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया