नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिए...
पुस ७, २०८१ आइतबार
काठमाडौं – बजारमा तिहारको चहलपहल छ । काठमाडौंको मंगलबजार र असनको गल्लीमा टीकाका सामग्रीदेखि न्यूरोड र दरबारमार्गमा लाखौं रुपैयाँको सुनचाँदी किन्नेहरुको भिड लागेको छ । भाइमसला, फूलमाला, मिठाई, नयाँ लुगा, दाजुभाइ र दिदीबहिनीबीच आदानप्रदान हुने उपहार किन्नेहरुको भीडले बजारमा उत्सव नै चलेजस्तो भएको छ । सेलरोटीको लागि घिउ, तेल, चिनी, मैदालगायतका वस्तु किन्नेहरु पनि उत्तिकै छन् ।
तिहारको बजार यति धेरै आक्रामक भएको छ कि, नेपालमा उत्पादन भएका कुनै पनि वस्तुले तिहार उम्काउन सक्ने अवस्था छैन । अर्थविद्हरु भड्किलो बन्दै गएका चाडबाडको लागि आयात हुने वस्तुबाट केही कर प्राप्त भए पनि यसले दीर्घकालका लागि घाटा नै रहेको दाबी गर्छन् ।
भाइटीकाको दिन पूजापाठको लागि चाहिने जौ तिलमा पनि नेपाल आत्मनिर्भर छैन । त्यस्तै भाइमसलामा प्रयोग हुने र तिहारको दिन दैलो तथा चौबाटोमा फोडिने ओखर पनि आयात नै हुने गरेको छ । नेपालले चीन, भारत र फ्रान्सबाट वार्षिक ६ करोड रुपैयाँ बराबरको ओखरको आयात गर्दै आएको छ । यस्तै जौ तिल पनि भारतबाट नै आयात हुने गरेको छ ।
दसैँ र तिहारलाई लक्षित गरेर साउन, भदौ र असोज महिनामा ५० लाख प्याकेट तास आयात भएको छ । आयात भएकोमध्ये दुई तिहाइ तास तिहारमा नै खपत हुने व्यापारीहरु बताउँछन् । ५० लाखभन्दा धेरै प्याकेट तास आयात गर्दा नेपालको ८ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्खले देखाउँछ ।
चीन, भारत, बेलायत, थाइल्याण्ड, हङकङ लगायत ठाउँबाट तास आयात हुँदै आएको छ ।
केही वर्ष पहिले तिहारको समयमा शहरमा मात्रै बिजुली बत्तिको झिलिमिली हुन्थ्यो । गाउँ गाउँमा तेलका दियोले झिलिमिली पारिन्थ्यो । तर अहिले गाउँमा माटोको दियोमा तोरीको तेल राखेर दियो बाल्ने चलन हराउँदै गएको छ । गाउँ गाउँमा समेत विदेशबाट आयात भएका झिलिमिली बत्ती पुगेका छन् ।
यो तिहारमा ५५ करोड रुपैयाँ बराबरको बिजुलीका झिलिमिली बत्ती आयात भएको छ । धेरैजसो विजुली बत्ति चीनबाट मात्रै आयात हुने गरेका छन् । तेलको दियोलाई बिजुली बत्तीले विस्थापित गर्दै जाँदा वार्षिक ५५ करोड रुपैयाँ बाहिरिने अवस्था आएको छ ।
तिहारका लागि चाहिने फूलमा नेपालले आयात घटाउँदै लगेपनि अझै आत्मनिर्भर हुन सकेको छैन । सरकारले सहुलियत र अनुदान दिएकाले नेपालभित्रै पनि तिहारको लागि सयपत्रीको खेती बढ्दो छ । तर नेपाललाई चाहिने फूलमा भने आत्मनिर्भर हुन सकेको छैन् । सयपत्री फूलको ३ लाख थान माला भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल फानका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो ।
बजारमा अहिले प्याकेटका भाइमसला छ्याप्छ्याप्ती पाइन्छन् । काजु, बदाम, पेस्ता किसमिस, छोडा, नरिवल लगायत मिसाएर बनाएका भाइमसलाले अहिले घरयासी परिकारलाई पनि विस्थापित गर्न थालेका छन् । २ वर्षअघि १ अर्बको भाइमसला आयात हुने गरेकोमा अहिले बढेर झण्डै डेढ अर्बमा पुगेको छ ।
तिहारमा सुनचाँदीको कारोबार पनि अरु बेलाको भन्दा धेरै हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार तिहारका हरेक दिन सबैभन्दा धेरै सुनचाँदीको कारोबार हुने गरेको छ । उहाँका अनुसार धनतेरसको दिन ४० देखि ५० किलो सुन र ८ सय किलोसम्म चाँदी बिक्र हुने अनुमान छ ।
‘अरु दिन अढाइ सय किलोसम्म चाँदीको कारोबार हुन्छ, तर धनतेरसको दिन चाँदीको सर सामान जोड्नुपर्छ भन्ने प्रचलन रहेकाले ८ सय किलोसम्म चाँदी बिक्री हुन्छ’ शाक्यले भन्नुभयो ।
पूर्व अर्थसचिव शान्तराज सुवेदी तिहारको लागि नेपाली बजार तात्तिनु नेपालको लागि राम्रो नभएको बताउनुहुन्छ । तिहारको सामाजिक मूल्य र मान्यता भएकाले तिहार मनाउने सामग्रीको आयात रोक्ने भन्दा पनि नेपालले उत्पादन गर्न सक्ने वस्तु आफैं उत्पादन गर्नुपर्नेमा उहाँको जोड छ ।
‘व्यापार घाटा बढ्दै गएको हाम्रो देशमा तिहारका लागि आयात हुने वस्तुले घाटा अझै बढाउँछ, नेपालको सञ्चित मुद्रा बाहिर जाने कुरालाई राम्रो मान्न सकिन्न’ पूर्व अर्थसचिव सुवेदीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘व्यापार घाटा हुन्छ भनेर चाडबाड मनाउने सामग्री आयात रोक्न त हुन्न, तर सकभर देशमै उत्पादित वस्तुले चाड मनाएमा राम्रो हुन्छ ।
सरकारले थोरै मात्र काम गरेमा फूलमाला, बदाम, ओखर, जौ तिल लगायतका वस्तुमा नेपाल आत्मनिर्भर हुन सक्ने भएकाले त्यसतर्फ सोच्नुपर्ने उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।