उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
झापा - व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ ।
बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाउनुभएको थियो । गएकाे वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उहाँले गुनासो गर्नुभयो ।
तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार जमाएपछि स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उहाँको भनाइ छ । 'भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो', उहाँले भन्नुभयो, 'जब तिहारमा फूल बिक्री हुने दिन शुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो । हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेनन् ।'
अहिले उहाँको फूलखेतीमा दुई हजार पाँच सय केजी (२५ क्विन्टल) सयपत्री ढकमक्क फुलेको छ । कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको उहाँकोे भनाइ छ । अहिलेको बजारभाउअनुसार तिहारमा कम्तीमा पाँच लाख रुपैयाँको फूल बिक्री हुने आशा गर्नुभएको उहाँले ७० हजार रुपैयाँको मात्र फूल बिकेको जानकारी दिनुभयो । उहाँले फूलखेतीमा एक लाख रुपैयाँभन्दा बढी लगानी गरेको बताउनुभयो ।
शुरुमा प्रतिकेजी दुई सय ५० रुपैयाँमा फूल बोटबाटै बिक्री भएता पनि तिहारको मुख्य दिनमा ५० रुपैयाँ प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाउँदा ज्यादै निराश बनेको उहाँको गुनासो छ । 'ताजा फूललाई बोलेरो गाडीमा राखेर साउन्ड सिस्टमबाट प्रचार गर्दै गाउँसहर डुलाउँदासमेत बिकेन', उहाँले बताउनुभयो ।
जिल्लामा तिहारको बेला एक करोड रुपैयाँको सयपत्री फूल र १० करोड रुपैयाँको झिलीमिली बत्ती बिक्री हुने गरेको छ । खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सपयत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन् ।
स्थानीय व्यापारीहरू भारतबाट आएको सयपत्री फूलको माला २५ रुपैयाँ प्रतिकेजीका दरले बिक्री भएको बताउँछन् । भन्सार अधिकारीहरूका अनुसार नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरेता पनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा भएको थिएन ।
खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयुर्वेदिक औषधि उत्पादकहरूले खरिद गरेर लैजान्छन् भनेर सुनेता पनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको बिर्तामोडका किसान दलबहादुर अधिकारी बताउनुभयो । चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना छैन ।
सयपत्री फूललाई सात डिग्री सेल्सियस तापक्रममा राख्दा केही अवधि ताजा राख्न सकिन्छ । तर बिर्तामोडका शीतभण्डारले अरु उत्पादन राखेका कारण सयपत्री फूलका लागि उचित तापक्रम मिलाउन गाह्रो पर्ने बताएको अधिकारीले बताउनुभयो । 'शीतभण्डारमा राख्न पाइएन र कसैले किनेर लगेनन् भने खेतमै सयपत्री कुहिएर गएको टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ', उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।