खोटाङको खोटेहाङ गाउँपालिकामा कृषक सञ्जाल गठन गर्न शुरु

 माघ २३, २०८० मंगलबार १०:५९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ - खोटाङको खोटेहाङ गाउँपालिकाले कृषक सञ्जाल गठन गर्न थालेको छ । गाउँपालिका, कृषि शाखा, वडा कार्यालय तथा किसानबीचमा पुलको काम गर्ने/गराउने उद्देश्यका साथ कृषक सञ्जाल गठन शुरु गरिएको हो ।

खोटेहाङ गाउँपालिका–४ बड्कादियालेबाट शुरु गरिएको सञ्जाल गठनको कार्यक्रम आउँदो फागुन ११ गते खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा पुगेर टुङ्गिने कृषि अधिकृत केशवकुमार झाले बताउनुभयो ।

नौ वटा वडा रहेको गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम एवं कृषक सञ्जाल कार्यान्वयन कार्यविधि २०८० अनुसार कृषि तथा पशु सेवा शाखामार्फत् कृषक सञ्जाल गठन गर्न थालिएको हो । सञ्जालमा आबद्ध भएका किसानलाई कृषि अभियान्ता नाम दिइएको छ । सञ्जालमा आबद्ध कृषि अभियान्तालाई गाउँपालिकाबाट परिचय–पत्र र सामान्य सेवा सुविधाको व्यवस्था हुने अधिकृत झाले जानकारी दिनुभयो ।

किसानको समस्या, गुनासो र आवाजलाई पालिकादेखि केन्द्रसम्म पुर्याउने र माथिल्लो निकायको योजना तथा कार्यक्रमलाई तल्लो तहमा पुर्याउने माध्यमको रुपमा कृषक सञ्जाल गठन शुरु गरिएको गाउँपालिकास्तरीय कृषि विकास समितिका सदस्य इन्द्र नारथुंगेले बताउनुभयो ।

सञ्जालले कृषि सम्बन्धी कार्यक्रमका बारेमा किसानलाई सूचना उपलब्ध गराउने तथा टोलमा भएका किसानको समस्या र मागलाई माथिल्लो निकायसम्म पुर्याउने भूमिका निर्वाह गर्नेछ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया