विश्व सामाजिक मञ्चको १६औँ संस्करणको सम्मेलन आजदेखि काठमाण्डौमा

 फागुन ३, २०८० बिहीबार ९:३५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराकासाथ आजदेखि विश्व सामाजिक मञ्चको १६औँ संस्करणको सम्मेलन काठमाण्डौमा शुरु हुँदैछ । आउँदो ७ गतेसम्म हुने सम्मेलनमा ९२ देशका झण्डै ४० हजार जनाको सहभागिता रहनेछ ।  

सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन् । विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल हुने बताइएको छ ।

नेपाल आयोजक समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकेले मञ्चले  नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउँदै आएको जानकारी दिनुभयो । 

सम्मेलनमा वर्ल्ड फेमिनिस्ट फोरमले लैङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकारजस्ता विषयमा बहस छलफल गर्नेछ भने सीमान्तकृत सामाजिक समूहले लैङ्गिकता यौनिक अल्पसङ्ख्यक, आदिवासी जनजाति, अपाङ्गता भएका समुदायका सवालमा कार्यक्रम गर्नेछन् ।

यस्तै, डेमोक्रेसी मुभमेन्टले मानव अधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाको संरक्षण, जवाफदेहिताजस्ता विषयमा बहस गर्नेछ । मञ्चको अन्तर्राष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक बेलुका शान्ति र न्याय, अर्थतन्त्र : ऐक्यबद्धता, सामाजिक र पुँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र सङ्घर्ष, प्यालेस्टाइन समसामयिक सवालमा सन्ध्याकालीन क्याफे संवाद हुँदैछन् ।

अरविक र पोर्तुगिज गरी ५ वटा भाषामा पोडकास्टबाट अनुवाद हुने जनाइएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एसिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथि वक्ताको सहभागिता हुनेछ । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया