भेरी करिडोर : सडक स्तरोन्नति र पुल निर्माणको काम अस्तव्यस्त

 फागुन ३०, २०८० बुधबार १५:२५:२९ | रासस
unn.prixa.net

जाजरकोट — भेरी करिडोरको एक सय १८ किलोमिटर खण्डमा निर्माण हुने पुल र सडक अस्तव्यस्त भएका छन् । झण्डै ५६ किलोमिटर खण्डमा कालोपत्रको काम भइरहेको छ भने बाँकी ६२ किलोमिटरको अहिलेसम्म बोलपत्र आह्वान नै भएको छैन ।

नेपाली सेनाले अस्थायी ट्रयाक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको सडकको स्तरोन्नति नहुँदा यात्रा कष्टकर बन्ने गरेको छ । जाजरकोटको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्मको सडकमा पाँच वटा पुल निर्माण गर्नुपर्ने भए पनि काम नगरी अलपत्र परेका छन् । बाँकी ६२ किलोमिटर अर्थात् तल्लुबाट डोल्पाको दुनैसम्मका लागि बोलपत्र आह्वान नभएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।

तल्लुबाट दुनैसम्म अस्थायी ट्र्याक निर्माण भएसँगै गाडी चले पनि सडक कालोपत्र नहुँदा समस्या हुन थालेको स्थानीय बताउँछन् । दुनै ल्यासिक्या सडक खण्डमा २०७८ सालको चैत १७ गते निर्माणको ठेक्का लगाइए पनि अहिलेसम्म १० प्रतिशत मात्रै काम भएको छ ।

डोल्पाको काइके गाउँपालिकाले सडक आयोजना निर्माण गर्नका लागि भेरी करिडोरलाई पटक–पटक अनुरोध गरे पनि निर्माण व्यवसायी र करिडोरले बेवास्ता गरेको गाउँपालिकाका अध्यक्ष अङगद रानाले बताउनुभयो ।

भेरी करिडोर अस्तव्यस्त हुँदा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका सर्वसाधारणलाई करिडोर भएर आवतजावत गर्न समस्या हुँदै आएको छ । भेरी कोरिडोरले भारत, नेपाल र चीनलाई जोड्नुका साथै कर्णाली करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया