मनसुन शुरु हुनुभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी

 चैत १५, २०८० बिहिबार ९:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिनुभएको छ । सरकारले दिने भनेको राहत नपाएर कतिपय भूकम्प पीडितहरु चर्किएको घर र पालमै बस्न बाध्य भैरहँदा गृहमन्त्रीले यस्तो दाबी गर्नुभएको हो ।

हिजो प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले मनसुन शुरु हुनुअगावै राहत वितरण गरिने बताउनुभएको हो । पाँच महिनाअघि कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम  जिल्लाका बासिन्दा प्रभावित भएका छन् ।

जाजरकोटमा ४२ हजार ५ सयभन्दा बढी लाभग्राही कायम भएकोमा ३० हजारभन्दा बढीले अस्थायी आवास बनाएका छन् । यस्तै रुकुम पश्चिमका ३१ हजार ३ सय लाभग्राही रहेकोमा झण्डै ३० हजार अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर पहिलो किस्ता पाएका कतिपयले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

अस्थायी आवास बनाउन नसकेका भूकम्प पीडित चर्किएकै घरमा बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसक्दा कतिपय परिवार पाँच महिनादेखि त्रिपालमुनी बसिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया