‘राज्जा रानी २’ ले जित्ला त दर्शको मन

 मंसिर ५, २०७५ बुधबार १६:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निर्माता एमके पौडेलले निर्देशन गरेको चलचित्र हो राज्जा रानी । जुन चलचित्र गएको वर्षमा नै रिलिज भइसकेको छ ।

तर उक्त चलचित्र बक्स अफिसमा असफल भयो । चलचित्रमा नायकमा रुपमा नाजिर हुसेन र नायिकाका रुपमाकेकी अधिकारीलाई प्रस्तुत गरिएको थियो ।
चलचित्र राज्जा रानीलाई व्यापारिक घाटा भए पनि निर्माता एमके पौडेल यो चलचित्रको सिक्वेल बनाउनका निम्ति कस्सिएका छन् । उनले एकै साथ तीन चलचित्रहरु निर्माणको तयारी थालेको बुझिएको छ ।

तीन चलचित्रहरुमध्ये सबैभन्दा पहिले ‘राज्जा रानी २’ निर्माणको तयारी गरिएको निर्माता पौडेलले जानकारी दिए । पौडेलले राज्जा रानीभन्दा पहिले चलचित्र रुद्रप्रियाको निर्माण गरेका थिए । उक्त चलचित्रले पनि दर्शकको मन जित्न असफल भएको थियो । उनको डेब्यू चलचित्र भने नाइन ओ क्लक हो । चलचित्र नाइन ओ क्लकबाट पनि उनी असफल निर्माता नै बनेका थिए ।

उनले नाइन ओ क्लकदेखि राज्जा रानीसम्म आइपुग्दा उनको कुनै पनि चलचित्रले व्यवसायिक सफलताको स्वाद चाख्न पाएको छैन । ‘राज्जा रानी २’ को कथामा अहिले काम भैरहेको बताइएको छ ।

कथाको काम सकिनेबित्तिकै कलाकार छनोटको काम अघि बढाउने तयारी भएको छ । यो चलचित्रबाट भने दर्शकको साथ पाउनेमा आशा रहेको निर्माता पौडेलको भनाइ छ । यो चलचित्रसँगै अन्य २ वटा चलचित्र बनाउने तयारी उनले गरेका छन् ।

–उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया