बिकेनन् अलैँची बेर्ना, नर्सरीको लगानी बालुवामा पानी

 मंसिर १२, २०७५ बुधबार ११:४२:४८ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – केही समय अगाडि पूर्वी नेपालका धेरै किसानले फलाउने ‘कालो सुन’ को उपनामले परिचित अलैँचीको मूल्य प्रतिकिलो पच्चीस सय रुपैयाँ हाराहारी थियो । त्यतिबेला अलैँची बिक्री गरेर किसानले प्रति मन (४० केजी) एकलाख रुपैयाँ सम्म आम्दानी गरे । थोरै ठाउँमा लगाएको बगानबाट वार्षिक ४–५ मन अलैँची उत्पादन गर्ने किसानले पनि राम्रो आम्दानी गरे । 

सोचेभन्दा बढी मूल्य प्राप्त गर्दा किसान खुब हौसिए पनि । बगान नहुनेले खाली जमिनमा अन्नबाली मासेर अलैँची रोपे । अलैँचीका बेर्ना र बगानकै पनि किनबेच राम्रो थियो । धेरै किसानको ध्यान अलैँची खेतीमा तानिएको र अलैँचीका बेर्ना अभाव भइरहेका बेला लालीगुराँस नगरपालिका–९, सोल्माका किसान टेकबहादुर केप्छाकीले भने बेर्ना उमार्ने र बिक्री गर्ने सोचले नर्सरी सुरु गर्नुभयो ।

‘स्वदेशमै केही गर्नुपर्छ र स्वरोजगार बन्नुपर्छ’ भन्ने सोच राख्ने टेकबहादुरले अलैँचीको नर्सरी उमार्न आवश्यक लगानी र प्राविधिक ज्ञान बटुल्दै हुनुहुन्थ्यो । साथीहरु खाडी मुलुकमा पैसा कमाउन लाग्दै गर्दा गाउँमा अलैँची र चिया खेती थाल्नुभएका टेकबहादुरलाई अलैँचीका बेर्ना उमार्न लगानीको खाँचो थियो । 

त्यही बेला जिल्लामा डेनिस सरकारको सहयोगमा सन्चालित उन्नति परियोजना भित्रियो, र उहाँलाई अलैँची बेर्ना उत्पादनमा प्रोत्साहन गरिदियो । टेकबहादुरले अहिले गाउँनै ढाक्ने गरी अलैँचीका बेर्ना उमार्नुभएको छ । पुख्र्यौली रुपमै अलैँची खेती गर्दै आउनुभएका टेकबहादुरलाई उन्नति परियोजनाले अलैँची नर्सरी लगाउन १७ लाख रुपैयाँ अनुदान दिएको थियो । उहाँले त्यति नै पैसा थप गरेर २० लाख भन्दा बढी अलैँचीका विरुवा उमार्नुभएको छ ।

उहाँले उमार्नुभएका बिरुवा प्रति बोट ५ रुपैयाँले मात्रै बिक्री हुने हो भने पनि १ करोड रुपैयाँ आम्दानी हुन्छ । तर कुनैबेला प्रति बोट १२–१५ रुपैयाँसम्म पर्ने अलैँचीका बेर्ना अहिले ५ रुपैयाँका दरले पनि किनबेच भइरहेको छैन । बेर्ना बिक्री नहुँदा हुर्किएका अलैँची बेर्ना कसरी जोगाउने ? र लगानी कसरी उकास्ने ? भन्ने चिन्ताले टेकबहादुरलाई सताएको छ । 

जिल्लाको मागभन्दा बढी अलैँचीका बेर्ना उत्पादन भएपछि उहाँका अलैँचीका बेर्ना बिक्री भएका छैनन् । एक वर्षअघि नै बिक्री गर्न तयार भएका बेर्नाहरु अहिलेसम्म पनि बिक्री भएका छैनन् । यो वर्ष उहाँले १ लाख विरुवामात्रै बिक्री गरेको बताउनुभयो । बाँकी १८ लाख बढी अलैँचीका विरुवा नर्सरीमै हुर्किएका छन् । 
एक करोड रुपैयाँ आम्दानी गर्ने योजना बनाएका टेकबहादुर भन्नुहुन्छ, ‘बेर्ना त उमारियो, तर पहिले जस्तो अहिले बजार छैन, नर्सरीमै खेर जाने चिन्ताले रातमा निद हराएको छ ।’ सस्तोमा विरुवा बिक्री गर्न चाहादा पनि बिक्री नभएको उहाँ बताउनुहुन्छ । 

उहाँले १ सय २५ रोपनी क्षेत्रफल जमिनमा अलैंचीको नर्सरी उमार्नुभएको छ । नर्सरीमा उहाँ आफैँ खटेर काम गर्नुहुन्छ । अनि श्रीमती, छोरा र बुहारीले पनि उहाँलाई काममा सघाउँछन् । आफूले नर्सरीका लागि आवश्यकता अनुसार १० जनासम्म कामदार लगाउने गरेको उहाँले बताउनुभयो । आफ्नो ४५ रोपनी जमिन थोरै भएपछि मगरले छिमेकी र आफन्तसँग ८० रोपनी जमिन वार्षिक २ लाख बुझाउने गरी भाडामा लिनुभएको छ ।

बेर्नालाई स्थानान्तरण गरेर हुर्काउन थप जमिन आवश्यक भएको उहाँले बताउनुभयो । ‘बेर्ना ठाउँ नसारे बिग्रिएर जाने अवस्थामा पुगेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘ठाउँ सार्नका लागि तयारी गरेको छु, तर सबै विरुवा ठाउँ सार्न पर्याप्त ठाउँ छैन ।’ 

सबै विरुवा आफैँले रोपेर खेतीलगाउन समेत ठाउँ नभएको उहाँ बताउनुहुन्छ । पछिल्लो वर्षहरुमा क्रमशः अलैँचीको भाउ घट्दै गएपछि जिल्लामा अलैँची विरुवाको माग शून्य जस्तै छ । अलैँची विरुवा सित्तैमा लगेर रोप्न भने पनि मूल्य घटेका कारण किसानलाई नयाँ बेर्ना रोप्न जाँगर छैन । 

उहाँले स्थानीय हावापानीमा राम्ररी फस्टाउने रामसाई र गोल्साई जातका अलैंचीका बिरुवा नर्सरीमा हुर्काउनुभएको छ । यहाँको मध्यम हावापानीमा उमारिएका बिरुवा पूर्वी पहाडका अलैँची खेती हुने सबैजसो जिल्लामा रोप्दा पनि उपयुक्त हुने कृषि प्राविधिक बताउँछन् । 

उहाँले बेर्ना उत्पादनमा सहयोग पाए पनि बजारीकरणमा कसैले सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँलाई उन्नति समावेशी वृद्धि कार्यक्रमले बिरुवाका लागि एग्रोनेट, हिलट्याङ्कलगायतका सामान खरिद गर्न सहयोग प्राप्त भएको थियो । 

जिल्लामा अलैँची बेर्ना उमार्ने किसानको संख्या दर्जन हाराहारी छ । उनीहरुले पनि बेर्ना बिक्री नभएको भन्दै गुनासो गरिरहेका छन् । बेर्ना विक्री नहुँदा नर्सरीमा गरिएको लगानी खतरामा परेको म्याङलुङका व्यवसायी दीपक भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘बेर्ना त उमारियो, तर माग कतैबाट आएन ।’ जिल्लाका किसानलाई आवश्यक पर्ने बेर्ना गाउँपालिका र नगरपालिकाले अनुदानमासमेत वितरण गर्दै आएका छन् । तर अनुदानमा वितरण हुने विरुवा लिनसमेत किसानले जाँगर देखाएका छैनन् । अलैँचीको मुल्यमा आएको गिरावटले किसानलाई अलैँची खेतीमा लगानी गर्न जोश नभएको अलैँची व्यवसायी संघका जिल्ला सचिव तुलसी ढकाल बताउनुहुन्छ ।
 
 

अन्तिम अपडेट: भदौ १५, २०७६

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया