‘याे साँच्चैकाे म नै हूँ-तपार्इंहरुकाे राष्ट्रपति, कुनै क्लाेन वा डुुप्लिकेट हाेइन’

 मंसिर १७, २०७५ सोमबार १४:२९:२५ | एजेन्सी
unn.prixa.net

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आफ्नो मृत्यु भएको र आफूजस्तै अनुहार र जीउडाल भएकाे सुडानी क्लोनलाई गद्दीमा राखिएको भनी विद्रोहीहरुले फैलाएको अफवाह गलत भएको दावी गरेका छन् । 

उनका बारेमा यस्तो हल्ला केही महिनाअघि सामाजिक सञ्जालमा फैलाइएको थियो । आउँदो पुन निर्वाचनको तयारीमा लागेका बुहारी गएको वर्ष एउटा अज्ञात रोगको उपचारका सिलसिलामा ५ महिना बेलायतमा बसेका थिए ।

त्यतिबेला उनका विरोधी तथा प्रतिपक्षीहरुले सामाजिक सञ्जालमा उनलाई उनीजस्तै देखिने सुडानका जुब्रिल नामका व्यक्तिले स्थानापन्न गरेको अफवाह फैलाएका थिए । 

यूट्यूब र फेसबुकमा यो अफवाहको भिडियो हज्जारौं पटक हेरिएको दावी गरिएको छ तर यो अफवाह सही हो वा होइन भन्ने कुनै प्रमाण सार्वजनिक गरिएको छैन ।

‘म तपाईंहरुलाई आश्वस्त बनाउन चाहन्छु कि यो साँच्चैकाे म नै हूँ ।  म छिट्टै नै आफ्नो ७६ औं जन्मदिन मनाउँदैछु र अझै दरिलो हुनेछु,’ बुहारीले पोल्याण्डमा कोप२४ जलवायु सम्मेलनमा भाग लिन गएका बेला नाइजेरियालीहरुलाई सम्बोधन गर्दै विश्वस्त पारे । 

‘थुप्रै व्यक्तिहरुले उपचारका क्रममा मेरो मृत्यु भएको आशा गर्नुभएछ,’ उनले उक्त अफवाह फैलाउने व्यक्तिहरुलाई ‘अज्ञानी र अधर्मी’ को संज्ञा दिँदै भने । राष्ट्रपति कार्यालयले इमेलमार्फत राष्ट्रपति बुहारीको यो टीप्पणीलाई पत्राचार गरेको थियो ।

इमेल गरिएको टीप्पणीको शिर्षक थियो, ‘ (राष्ट्रपति बुहारीको क्लोनिङबारे प्रत्युत्तर ‘यो साँच्चैकाे म (राष्ट्रपति बुहारी) नै हूँ ।’  

गएको हप्ता राष्ट्रपति बुहारीले नाइजेरियाका मुस्लिम अतिवादीहरुले बोको हराम समूहविरुद्धको एक दशक लामो द्वन्द्व भएको र इस्लामिक स्टेटसँग सम्बद्ध क्षेत्रहरुमा ड्रोनको प्रयोग गर्न थालेको बताएक थिए ।

बुहारीले गएको बिहीबार अतिवादीहरुसँग लडिरहेका सेनाका टुकडीहरुलाई सहयोग गरिरहेका देशका प्रतिनिधिहरुको बैठकमा यो कुरा व्यक्त गरेका हुन् ।   


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया