१५ औं पञ्चवर्षीय योजना देशको विकासमा ‘टर्निङ प्वाइन्ट’ हुनसक्छ : प्रधानमन्त्री ओली

 मंसिर २१, २०७५ शुक्रबार १८:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र गतिमा विकास गर्ने देश हुन सक्ने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगले शुक्रबार आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले  तिनलाई सदुपयोग गरेर देश तीव्र गतिको विकासमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु अस्वीस्कार गरिहरनु पर्दैन । अरुले आस्वीस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।’ प्रधानमन्त्री ओलीले १५ औं पञ्चवर्षीय योजना (२०७६/०७७–२०८०/०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताउनुभएको छ ।

‘अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तीव्र गतिमा अघि बढ्न सक्ने व्यवहारिक योजना बनाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।’

स्वदेशमा रहेका फलाम खानीको उत्खनन्, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रित हुनु पर्ने प्रधानमन्त्री ओलीको जोड छ ।

‘विद्युत, सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जेट्रोफाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता र शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया