दुम्सीलाई थापेको पासोमा चितुवा परेपछि...

 पुस ७, २०७५ शनिबार ११:१४:४२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – छत्रकोट गाउँपालिका १ हुँगामा दुम्सीलाई थापेको पासोमा चितुवा फेला परेको छ । गाउँमा दुम्सीले निकै सताएपछि गएको बिहीबार राति स्थानीयले दुम्सीलाई तर्साउनका लागि पासो थापेको र त्यही पासोमा चितुवा परेको बताइएको छ । 

शुक्रबार बिहान थापेको पासो हेर्न जाँदा चितुवा पासोमा अल्झिएको देखेपछि स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय गुल्मीमा खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालयले घटनाको बारेमा जानकारी पाए लगत्तै डिभिजन वन कार्यालय तम्घासलाई जानकारी गराएपछि डिभिजन वन कार्यालय गुल्मीले चितुवालाई सकुशल उद्दार गरी शनिबार बिहान तम्घास ल्याएको छ । 

चितुवालाई उद्दार गर्नको लागि गुल्मीका डिभिजन वन कार्यालयका प्रमुख रविन्द्र महर्जनले चितवन राष्ट्रिय प्रमुख संरक्षण अधिकृतलाई खबर गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता अध्ययन केन्द्रले उद्दारको लागि पशु चिकित्सक पुरुषोत्तम पाण्डेको नेतृत्वमा वन्यजन्तु उद्धार एम्बुलेन्समार्फत बन्दोबस्ती सामानसहित चार जनाको टोली शुक्रबार राति गुल्मी आएको थियो । 

चितुवाको उद्धारका लागि चितवनदेखि आएको टोलीसहित डिभिजन वन कार्यालका अधिकृत पुष्पराज श्रेष्ठ, नासु नवीनकुमार पन्थी, प्रहरीलगायतको टोली शुक्रबार राति नै घटना स्थलमा पुगेर आवश्यक प्रकृया पूरा गरेर चितुवालाई शनिबार बिहान सदरमुकाम तम्घासमा रहेको डिभिजन वन कार्यालयमा ल्याएका थिए । 

रातो पाटे रङको अन्दाजी ६० किलो बरावरको पोथी प्रजातिको चितुवा पासोमा परेपछि उम्कन खोज्दा तारमा अल्झीएर खुट्टामा चोट लागेको छ । चितुवाको उपचारका लागि शनिबार अपरान्ह चितवन राष्ट्रिय निकुञ्ज सौराहामा पठाउने तयारी गरिएको डिभिजन प्रमुख रविन्द्र महर्जनले बताउनु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया