झापा गोल्डकप: दाउफिन्सलाई हराउँदै आर्मी क्लब फाइनलमा, उपाधिका लागि झापा ११सँग खेल्ने

 फागुन २५, २०७५ शनिबार १७:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आर्मीले शनिबार डोमालाल राजवंशी रंगशालामा भएकाे दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्नेछन् ।

शनिबार भएको खेलमा आर्मीलाई उपहार गोलले फाइनलमा पुर्‍याएको हो । २३ औंं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्सले आत्मघाती गोल गरेका थिए । उक्त उपहार गोल नै आर्मीलाई फाइनलमा पुर्‍याउन पर्याप्त बन्यो ।

आर्मीका भरत खवासले प्रहार गरेको बल सिलु मार्टिन्सले नियन्त्रणमा लिन खोज्दा आफ्नै पोस्टमा गोल भएको थियो । १–० गोलले पछि परेको दाउफिन्सले दोस्रो हाफमा आक्रामक खेल खेलेपनि सबै प्रयास आर्मीका गोल रक्षक विकेश कुथुले विफल बनाएका थिए ।

झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । आर्मी र झापा ११ गत संस्करणमा पनि खेलेका थिए । जसमा घरेलु टोलीलाई निराश बनाउँदै आर्मीले उपाधि जितेको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया