खोलो तरेपछि बिर्सिएको लौरो भेटाउला त कांग्रेसले ?

 चैत २३, २०७५ शनिबार १८:५४:२२ | जानुका दुवाडी
unn.prixa.net

नेपालमा प्रजातन्त्रको सूत्रपात भएपश्चात कयौँपटक सत्ताको बागडोर सम्हालेको र त्यसमा पनि बहुमतको सरकारको अनुभव नेपाली कांग्रेसको सुखद इतिहासको संक्षिप्त हो । नेपाल गणतन्त्रात्मक देश भएपछि पनि २०७० को चुनावमा पहिलो पार्टी भएको र दुईपटक सरकारको नेतृत्व गरिसकेको नेपाली कांग्रेस यतिबेला भने बिरानो ठाउँमा बाटो बिराएको बटुवा जस्तै भएको छ । 

कसैले बाटो देखाउला कि भन्ने आश गरेर बस्नु र जसले जता बाटो देखायो उतै कुद्नुपरिरहेको कांग्रेसको तीतो वर्तमान हो । कांग्रेसको अबको राजनीतिको मुद्दा के हो र राष्ट्रिय राजनीतिको उसको लाइन के हो भन्ने कुरामा नागरिक मात्रै होइनन् कांग्रेसकै नेता कार्यकर्ताहरु पनि अन्यौलमा छन् । 

एकातिर नेपालको उपलब्धि भनिएका संविधान निर्माण, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको प्राप्तिमा कांग्रेसको उच्च योगदान र बलिदानको दावी कायमै छ भने अर्कोतिर कांग्रेसकै केही केन्द्रीय नेताहरु यीमध्ये केही विषयहरुमा जनमत संग्रह गर्नुपर्छ भनिरहेका छन् । तर यो विषयमा सिंगो पार्टीको धारणा के हो अझै अस्पष्ट छ । 

योबाहेक सुरुदेखि नै जुट र फुटको अवस्थाबाट गुज्रिँदै आएको कांग्रेसमा यतिबेला पनि आन्तरिक वैचारिक बिमती वा फरक– फरक र गुटगत स्वार्थका धाँजाहरु छर्लङ्गै छन् । कहिले पार्टी केन्द्रीय कार्यालयमै जिन्दावाद र मूर्दावादका नारा, ढुङ्गा हानाहान त कहिले पार्टी नेतृत्वको विरोधमा पार्टीभित्रै मोर्चाबन्दीका समाचारहरु बाहिर आउनुले यो कुराको पुष्टी गर्दछ । 

पछिल्लो संघीय, प्रादेशिक र स्थानीय तहको चुनावमा प्रतिपक्षको भूमिकामा पुगेको कांग्रेसले संघीय र प्रदेश संसदहरुमा  सशक्त प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकेको कतिपय कांग्रेस नेताहरुकै टिप्पणी छ । 

संविधानसभा सदस्यको लागि भएको दोस्रो चुनावमा नेपाली नागरिकले पहिलो पार्टी बनाए पनि कांग्रेसले त्यो जनमत र जन विश्वास चार वर्ष पनि टिकाउन सकेन । सत्तामा पुगेपछि चालिएका कतिपय अलोकप्रिय कदम र व्यवहारले  कांग्रेस नेतृत्वलाई आलोचित मात्रै बनाएन आफैंले सम्पन्न गराएको चुनावमा स्थानीय तहदेखि केन्द्रसम्म पराजयको सामना गर्नुपर्यो । 

पराजयको कारण खोज्न गरिएका समीक्षा र छलफलहरु अर्को गुटतिर आँैला सोझ्याउँदै सकिए । चुनावको वर्ष दिनसम्मै समीक्षा चल्यो, तर नेताहरु त्यसको निक्र्यौलमा अझै पुग्न सकेका छैनन् ।  केहीले ‘नाच्न नजान्ने आँगन टेढो’ भन्ने उखानलाई चरितार्थ गर्न हारको कारण नेकपाको एकतालाई ठाने पनि मुख्य कारण कांग्रेसको व्यवहार र विचारगत विचलन नै थियो भन्ने कुरा स्वंय नेताहरुको अन्तरमनले स्वीकार गरिसकेको छ । त्योभन्दा पनि धेरैले कांग्रेसको हारको प्रमुख कारण उसको रणनीतिक असफलता र नेतृत्वको आन्तरिक व्यवस्थापन क्षमताको कमीलाई मानेका छन् । 

आफ्नो राम्रो भन्दा अर्काको नराम्रोले टिक्ने रानीतिक संस्कार  

आफ्नो राम्रो देखाएर भन्दा पनि अर्काको नराम्रो देखाएर आफ्नो पक्षमा जनमत बनाउनु नेपाली राजनीतिको पुरानै संस्कार हो । मसँग के छ भन्दा पनि उसँग के छैनले राजनीतिका नाराहरु तय गरिन्छन् । हाम्रो राजनीतिमा सत्ता र प्रतिपक्षको कथाबस्तु खासै परिवर्तन हँुदैन । परिवर्तन हुन्छ त केवल पात्र, परिवेश  र समय मात्रै । 

यतिबेला दुई तिहाई जनमतसहित सत्तामा रहेको नेकपाले जनअपेक्षा अनुसार काम गर्न नसकेको चौतर्फी गुनासो बढिरहेका बेला प्रतिपक्ष भने सरकारसँग जनमत टाढिएला र आफू नजिक होला भन्ने सपना बुनेर बसिरहेको छ । नेकपा सरकारको एक वर्ष बिते पनि अझै उसँग झण्डै चार वर्षको समय बाँकी छ । अर्को चुनावसम्म नेकपाले पाउने र गुमाउनेको हिसाबकिताब उसले एक वर्षमा गरेका काम र बाँकी चार वर्षको कामले निर्धारण गर्नेछ । 

आगामी चार वर्षमा  सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्न नसके कांग्रेसको लागि केही सहज त होला । तर आम नेपाली नागरिकका  निम्ति भने त्यो निकै पीडादायि र पट्यारलाग्दो हुनेछ । सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थकता दिन र आम नागरिकको सपना साकार गर्न प्रतिपक्षले कर्मकाण्डी प्रतिपक्ष भएर होइन की रचनात्मक प्रतिपक्ष भएर आफूलाई उभ्याउनु आवश्यक छ । 

अहिले रचनात्मक प्रतिपक्षको भूमिका निभाउन नसकेको अवस्थामा कालान्तरमा देशले घाटा बेहोर्नुपर्नेछ भने कांग्रेसलाई पनि आफ्नो पुरानो साख फर्काउन त्यति सहज हुने छैन । 

‘खोलो तर्यो लौरो बिर्सियो’ भनेजस्तै चुनाव जितेपछि सीमित समूहको स्वार्थमै अलमलिएर  बिर्सिएका घोषणापत्रका प्रतिबद्धता र मतदादातालाई दिइएका अश्वासन त फेरि पनि भेटिएलान् ।

तर कांग्रेसको निम्ती हिजो बिर्सिएको त्यो ‘लौरो’ भेटाउन कति संघर्ष गर्नु पर्ने हो ? त्यो महत्वपूर्ण छ । प्रमुख प्रतिपक्षी कांग्रेसको नजरबाट हेर्ने हो भने उसको प्रमुख प्रश्न हो, के खोलो तरिसकेपछि अलपत्र छोडेको त्यो लौरो फेरि सहजै भेटिएला त ? 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया