डाक्टर केसीको सत्याग्रहको आठौँ दिन : रिंगटा र मुटुको ढुकढुकी बढ्यो

 असार २३, २०७५ शनिबार ११:५५:४० | नेत्र शाही

जुम्ला – डा. गोविन्द केसीको जुुम्ला सत्याग्रहको आज आठौँ दिन पुगेको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसनमा रहेका डाक्टर केसीको मुटुको ढुुकढुकी बढेको छ । 

सत्याग्रहको आठौँ दिन भने डाक्टर केसीले मुटुको ढुकढुकी बढिरहेको बताउनुभयो । डाक्टर केसीले भन्नुभयो, ‘बोल्न प्रयास गर्छु तर ढुकढुकी बढिरहेकाले बीचैमा रोकिनुपर्ने हुन्छ ।’ यसैगरी रिंगटा पनि लाग्न थालेकाले डर लागिरहेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो । 

कभर्डहलबाट प्रतिष्ठान सारिएपछि सिथिल स्वास्थ्य भएको केसीको ढुकढुकीसँगै मासु फर्किने, असजिलो हुने भएको छ ।  यसैगरी  पिसाबमा समस्या बढ्दै गएको, अक्सिजनको मात्रा घट्दो क्रममा रहेको उपचारमा खटिएका डाक्टर प्रविण गिरीले जानकारी दिनुभयो । यसैगरी डाक्टर केसीको अवस्थाका बारेमा दैनिक रुपमा सूचना टाँस्ने गरिएको उहाँले बताउनुभयो ।  उपचारमा खटिएका डाक्टर गिरीसँगै, धिरज गुरुङ र सिद्धार्थ खत्रीसहित नर्सहरुले उपचारमा सघाएका छन् । यसैगरी डा. केसीका भाइ किशोर केसीले अभिभावकको भूमिका निभाइरहेका छन् । 

यसैगरी काठमाडौंबाट आएको चिकित्सकको टिमले उपचारमा अप्रत्यक्ष रुपमा  निगरानी गरिरहेको  बताएकोछ । सरकारले काठमाडौंबाट खटाएका डा.जीवन गिरी, डा. सुवास रेग्मीसँग केसीले उपचार गर्न इन्कार गर्नुभएको थियो । डा. केसीले कर्णाली प्रतिष्ठानमा डाक्टर हुँदाहुँदै सरकारले खटाएको चिकित्सकको उपचार आवश्यक नभएको भन्दै इन्कार गर्नुभएको थियो । ‘प्रतिष्ठानको टिम उपचारमा लागिरहेको छ तर हामी पनि अप्रत्यक्ष निगरानी गरिरहेका छौँ’, डा. जीवन थापाले बताउनुभयो ।  

यसैगरी डा.केसीको अनसन अभियानले सडकदेखि सदन समेत तातिएको छ । नेपाली कांग्रेस जुम्लाले स्थलगत अनुगमन पठाएको टोलीले लिखित प्रतिवेदन सार्वजनिक गरी सदनमा समेत विशेष समय लिएर सरकारको ध्यानआकर्षण गर्ने भन्दै काठमाडौं फर्किएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया