भोजपुरमा क्वरेन्टीनमा बसेकाहरु गुन्द्रीमा रात काट्दै

 बैशाख १४, २०७७ आइतबार १५:२४:१९ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुरको षडानन्ड नगरपालिका-१४ मा मापदन्ड अनुसारको क्वरेन्टीनको व्यवस्था नहुँदा क्वरेन्टीनमा बसेकाहरु समस्यामा परेका छन् । पालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमणको आशंकामा क्वरेन्टीनमा राखिएका १८ जना गुन्द्रीमा रात काट्न बाध्य भएका हुन । 

प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले क्वरेन्टीनमा मापदण्ड विपरीत बेडहरु राखिएको भन्दै क्वरेन्टीनमा बसेकाहरुलाई अरु रोगको संक्रमण फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, 'क्वरेन्टीनमा मापडण्ड विपरित वेड निर्माण गरिएको रहेछ । यसले झनै अन्य रोगको सङ्क्रमण फैलिने सक्ने डर बढेको छ ।’  वडा कार्यालयहरुले भने नगरपालिकाले सहयोग नगर्दा तत्कालको समस्या समाधानका लागि यस्तो क्वरेन्टीन निर्माण गर्नुपरेको जवाफ दिएका छन् । 

‘आवश्यक श्रोत साधनको अभावमा काम गर्न समस्या भयो। नगरपालिकाले चासो दिएन । मैले व्यक्तिगत लगानीमा म्याट, चामल खरिद गरेर दिएको छु । नगरपालिकाको मेयर र उपमेयरलाई पटक–पटक फोन गरे । उहाँहरु हेर्नसम्म आउनु भएको छैन्’, षडानन्द नगरपालिका १४ का वडाध्यक्ष झम्काबहादुर रोकाहाले बताउनुभयो ।

नगरपालिकाले आवश्यक श्रोत र साधानको आधारमा क्वरेन्टीन निर्माण गरेको जानकारी दिएको छ । ‘सकेसम्म मापडण्ड अनुसार बनाउने कोशिस गरेपनि धेरै ठाउँमा क्वरेन्टीन निर्माण गर्नुपरेकोले समस्या भएको छ', षडानन्द नगरपालिकाका उपमेयर मेरिका राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले, भोजपुर नगरपालिका र पौवादुङमा गाउँपालिका बाहेकका अधिकांश पालिकाले निर्माण गरेका क्वरेन्टीन मापडण्ड अनुसारको नपाइएकाले सुधार गर्न निर्देशन दिएको जनाएको छ । 

भोजपुरमा अहिलेसम्म ३३ जना क्वरेन्टीनमा तथा १०९ जना होम क्वरेन्टीनमा रहेका छन् । त्यस्तै जिल्लाभरी ३६७ क्वरेन्टीन र १४ वटा आइसोलेसन वार्ड निर्माण भएका छन् । जसमध्ये धेरै मापडण्ड विपरीतका रहेका छन् । 

 

 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया