मौसममा बदली : शुक्रबार धेरै ठाउँमा पानी पर्ने सम्भावना

 जेठ १८, २०७५ शुक्रबार ८:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १८ – देशका विभिन्न ठाउँको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । भारतको बिहारमा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले शुक्रबार एकैछिन मौसम खुलेपनि फेरि बदली भई केही ठाउँमा पानी पर्नेछ । तर झरिको संभावना भने कम छ । प्रि मनसुनी गतिविधि सक्रिय हुँदा यो महिना धेरै ठाउँमा औसतभन्दा बढी पानी परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आवृत्ति बढी भएको र पूर्वी वायु सतही रुपमा बसेकाले यो महिना धेरै ठाउँमा औसतभन्दा बढी पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार गएको वैशाख १८ गतेदेखि हिजोसम्ममा सुर्खेतमा सबैभन्दा धेरै पानी परेको छ ।

सुर्खेतमा औसतको १ सय ७८ प्रतिशत, भैरहवामा १ सय ६८, नेपालगञ्जमा १ सय ३०, काठमाडौंमा १ सय २५, ओखलढुंगामा १ सय ७, पोखरामा १ सय २ र ताप्लेजुङमा सय प्रतिशत पानी परेको छ । 

यसअघि चैत महिनामा पनि धेरै ठाउँमा औसतभन्दा धेरै पानी परेको थियो । यस्तै, जुम्लामा ९२ प्रतिशत, विराटनगरमा ७६, धनकुटामा ७१, धनगढीमा ६१, दिपायलमा ५९ र डडेलधुरामा ३९ प्रतिशत पानी परेको छ । यो वर्ष मनसुन याममा पनि औसत पानी पर्ने देखिएको उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया