दाङकाे देउखुरी क्षेत्रमा दर्जन बढी घर डुबानमा, हुलाकी सडक खण्डमा ठाउँठाउँमा पहिराे

 साउन ९, २०८० मंगलबार १५:११:१३ | हेमराज शर्मा
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

दाङ – दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् ।

राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेका दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो । यस्तै लमही नगरपालिका–१ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार वटा घर डुबानमा परेका उहाँले बताउनुभयाे ।

सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उहाँको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थान्तरण गरिएको छ । यस्तै कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उहाँकाे परिवार छतमा बसेको र उद्धार कार्य भइरहेकाे प्रहरीले बताएको छ ।

स्थानीय ४० वर्षीय सुशील कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसेपछि उनीहरूको परिवार सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवम् प्रहरी निरीक्षक (डीएसपी) शंकर श्रेष्ठले जानकारी दिनुभयाे । डुबानमा परेका व्यक्तिहरूकाे उद्धारका लागि यहाँ १० जनाको प्रहरी टोली खटिएको छ ।

रातिदेखिको अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड बन्द भएको छ । बाढी आई ठाउँठाउँमा हिलो माटो खसेको हुँदा सडक खण्ड बन्द भएको हो ।

यसैबीच दाङको तुलसीपुरबाट घोराही जाँदै गरेको एउटा जीप खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको जीप बगाएको हो । बाढीले बगाएको जीप निकाल्ने प्रयास भइरहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिनुभयाे । जीपमा चालकमात्रै रहेका र उनको उद्धार गरिएको प्रहरीले बताएको छ ।

दाङमा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरूमा पानीको बहाव बढेकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया