म्याग्दीमा यसरी चलिरहेछ देउसीभैलो (फोटोफिचर)

 कात्तिक २१, २०७५ बुधबार १७:१४:२८ | प्रताप बानियाँ

म्याग्दी – शरद ऋतु । कार्तिक शुक्लपक्ष । यमपञ्चकको सुनौलो अवसर । शहरदेखि गाउँसम्म वर्ष दिनको चाड तिहारले छपक्कै छोपेको छ । 

गाउँघरमा ढकमक्कै फुलेका सयपत्री र मखमलीका फूलले मालामा गाँसिनका लागि पर्खिरहेका छन् । दसैँमा अलि सुनसानजस्तो देखिने शहरबजार यतिबेला निकै झिलिमिली देखिएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको रौनक बढ्दै गैरहेको छ । 

तिहारको अवसर पारेर म्याग्दी सदरमुकाम बेनीबजारसहित जिल्लाको ग्रामीण भेगमा देउसीभैलो खेल्ने कार्यक्रमले तीव्रता पाएको छ । पहिले–पहिलेका तिहारमा साथीभाइ जम्मा भएर दियालो, चप्पल र पाइप बालेर रातभर गाउँघर घुमेर खेलिने देउसीभैलोको अहिले स्वरुप फरिएको छ । मौलिक गीत बनाएर गाउने र चाच्ने देउसीभैलो परम्परागत थियो भने अहिले विभिन्न कलाकारको गीतमा मोबाइल, ल्यापटप, पेनड्राइभ र सिडी चक्काको साथमा गाउने र चाच्ने गरिएको छ । भैलो गीत समेत ट्रयाकमा गाउन थालिएको छ । 

शहरदेखि गाउँसम्म देउसीभैलोका आधुनिक र परम्परागत गीतहरु घन्किरहेका छन् । जति तिहारका दिनहरु नजिकिएका छन्, उति नै मात्रामा देउसीभैलोको रौनक बढ्दै गैरहेको छ । अहिले सदरमुकाम बेनीबजारमा मात्रै एक दर्जनबढी विभिन्न उमेर समूहहरु देउसीभैलो खेलिरहेका छन् । धार्मिक संस्था, अन्य संघसंस्था, होटल व्यवसायी, युवा क्लब, स–साना बालबालिकाहरु खेलेको देउसीभैलोको आ–आफ्नै लक्ष्य र उद्देश्यहरु रहेका छन् ।

म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ म्याग्दीले ‘म्याग्दी घुम्न जाऔं, पर्यटकीयस्थलहरुको अवलोकन गरौं, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नारासहित देउसीभैलो आयोजना गरिएको जनाएको छ । म्याग्दी भ्रमण वर्ष–२०७५ लाई सफल बनाउन र जिल्लामा पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यसहित देउसीभैलो खेलिएको संघका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो ।

यसैगरी बेनी शिवालय मन्दिर संरक्षण समितिले पनि म्याग्दी भ्रमण वर्षलाई सहयोग गर्नेगरी देउसीभैलो आयोजना गरिएको जानकारी दिएको छ । परम्परालाई जोगाउँदै धार्मिक संघसंस्थाको प्रचारप्रसार र संरक्षणमा टेवा पु¥याउने उद्देश्यसहित देउसीभैलो सञ्चालन गरिएको समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो । 

पछिल्लो समय समाजको हरेक क्षेत्रमा देउसीभैलो आर्थिक सङ्कलन गर्ने एउटा गतिलो माध्यम बन्दै जान थालेको छ । तर, नेपालीहरुको परम्परागत देउसीभैलो खेल्ने कला संस्कृति भने आधुनिकताको नाममा लोप हुने अवस्थामा पुगेको जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

समयसापेक्ष देउसीभैलोको परिवर्तन गरेपनि कला र संस्कृतिको संरक्षण गर्नुपर्ने उनीहरु बताउँछन् । परम्परागत रुपमा खेलिने देउसीभैलोमा अहिले आधुनिकता भित्रिएको हुँदा यसको संरक्षण र प्रचारप्रसार गरेर बचाउनुपर्ने ज्येष्ठनागरिक नैनकुमार श्रेष्ठको भनाई छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया