गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाको ज्यान गयो

८४ प्रतिशतभन्दा धेरै महिला आधा पेट खानामा बाँच्न बाध्य

 फागुन १९, २०८० शनिबार १८:२५:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाले गरिरहेको आक्रमणमा झन्डै नौ हजार महिलाले ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घीय महिला कार्यक्रम (यूएन वुमन) ले जनाएको छ ।

धेरै महिलाहरू भग्नावशेषमुनि परेको जानकारी आएकोले यो तथ्याङ्क कम भएको पनि यूएन वुमनको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजामा युद्धका कारण दैनिक औसतमा ६३ जना महिलाले ज्यान गुमाउने गरेका छन् । युद्धले गर्दा प्यालेस्टिनी महिलाहरूलाई आफ्ना बालबालिका जोगाउन निकै समस्या भएको पनि प्रतिवेदनमा भनिएको छ ।

हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व शुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको पाइएको छ । आफ्ना छोराछोरीलाई सीमित खाना पुर्‍याउनका लागि आफूहरू कैयौँ दिनदेखि सामान्य एक छाकमा बाँचिरहेको महिलाहरूले बताएका छन् ।

गाजाको झन्डै २३ लाख जनसङ्ख्याले केही हप्ताभित्रै खाद्य असुरक्षाको गम्भीर स्तरको सामना गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया