पाकिस्तानमा सबै किसिमका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव संसद्मा दर्ता

 फागुन २०, २०८० आइतबार १२:९:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानमा सबै किसिमका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने गरी एउटा प्रस्ताव संसद्मा दर्ता भएको छ । पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसद्मा पेस गर्नुभएको प्रस्तावमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रस्तावमा सामाजिक सञ्जालको नकारात्मक असरबाट युवा पुस्तालाई जोगाउन यसलाई प्रतिबन्ध लगाउनुपर्ने भनिएको छ । सामाजिक सञ्जालले देशको युवा पुस्तालाई नराम्ररी प्रभावित गरिरहेको अनि धर्म र संस्कृतिविरुद्ध सामाजिक सञ्जालको प्रयोग भइरहेको प्रस्तावमा उल्लेख छ ।

सामाजिक सञ्जालको प्रयोगले मानिसबीच भाषा र धर्मका आधारमा घृणा बढ्दै गएको दाबी गर्दै प्रस्तावमा रोक्नु उचित हुने भनिएको छ । केही समय अघि सम्पन्न आम चुनावमा सामाजिक सञ्जालको भूमिका बलियो देखिएको थियो ।

पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईमा सरकारी प्रतिबन्ध र दबाबको बाबजुद सामाजिक सञ्जालकै बलमा उहाँ समर्थित उम्मेदवारहरु विजयी भएका चर्चाका बीच सामाजिक सञ्जाल माथि नै प्रतिबन्धको प्रस्ताव संसद्मा दर्ता भएको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया