उत्तरी गाजामा बालबालिकाहरू भोकले ज्यान गुमाउँदै : विश्व स्वास्थ्य सङ्गठन

 फागुन २२, २०८० मंगलबार १५:१६:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले उत्तरी गाजामा भोकबाट बालबालिकाहरूको ज्यान गइरहेको बताएको छ । आफ्नो टोलीको भ्रमणका क्रममा उत्तरी गाजामा खानेकुराको कमी पाएको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो ।

यही हप्ता उत्तरी गाजाको दुई वटा अस्पताल– अल अवदा र कमल अदवानमा भ्रमणका क्रममा डब्ल्यूएचओको टोलीले खानेकुराको कमीका कारण कम्तीमा १० जना बालबालिकाको ज्यान गएको पाएको बीबीसीले जनाएको छ । खानेकुराको कमीका कारण कुपोषणको समस्या निम्तिएको खबरमा उल्लेख छ ।

डब्ल्यूएचओ प्रमुख गेब्रेयससले उत्तरी गाजाको अवस्था निकै गम्भीर रहेको भन्दै बालबालिकाहरूले कुपोषणको सामना गरिरहेका र भोकका कारण ज्यान गुमाइरहेका बताउनुभयो । उत्तरी गाजामा चिकित्सा सामग्रीको आपूर्तिमा कमी आएको, अस्पतालका भवन ध्वस्त भएको, यहाँ कम्तीमा तीन लाख जना मानिस रहेका र उनीहरूका लागि निकै कम खानेकुरा र सफा पानी रहेको उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले कमल अदवान अस्पतालमा कुपोषण र शरीरमा पानीको कमीका कारण कम्तीमा १५ जना बालबालिकाको ज्यान गएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया