सगरमाथा आधार शिविरमा मनलागी पाल टाँग्न नपाइने

 चैत १३, २०८० मंगलबार १८:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – यस वर्षको सगरमाथा आरोहणका लागि बाटो बनाउने काम शुरु भएको छ । दोस्रो शिविरसम्मको बाटो बनाउने जिम्मा लिएको सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपीसीसीले खटाएका आइसफल डाक्टरको टोलीले बाटो बनाइरहेको हो । अहिले खुम्बु आइसफलमा बाटो बनाउने काम भइरहेको एसपीसीसीका आधार शिविर सम्पर्क अधिकृत छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

दोस्रो शिविरसम्म एसपीसीसी र त्योभन्दा माथि नेपाल पर्वतारोहण संघको समन्वयमा बाटो बनाउने काम हुन्छ । आरोहणको व्यवस्थापनका लागि ट्रेकिङ एजेन्सीले आधार शिविरमा सामान पुर्याउने लगायत बन्दोबस्तीका काम गरेका छन् । यस्तै अनुमतिका लागि टोलीले सम्पर्क गर्न थालेका पर्यटन विभागले जनाएको छ ।

यसैबीच सगरमाथा रहेको सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाले यसपालीदेखि नयाँ नियम लागू गरेको छ । गाउँपालिकाले जारी गरेको आधार शिविर व्यवस्थापनसम्बन्धी संशोधित कार्यविधिअनुसार आरोहण अवधिभर आधार शिविरमा गाउँपालिकाको पनि उपस्थिति रहनेछ ।

यसअघि आधार शिविरमा कुनै उपस्थिति नजनाउने पालिकाले यस वर्षदेखि आधार शिविरमै मानिस राखेर निमयन गर्ने भएको छ । आरोहणलाई व्यवस्थित गर्न यसपालीदेखि केही नयाँ व्यवस्थाहरु गरेको गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो । गाउँपालिकाको नयाँ नियमअनुसार यस पटकदेखि आरोहीले आधारशिविरभन्दा माथिबाट आफ्नो दिसा अनिवार्य फिर्ता ल्याउनुपर्छ ।

यस्तै कुनै आरोहीको ज्यान गएमा सम्बन्धित कम्पनीले शव फिर्ता ल्याउनैपर्ने गाउँपालिकाले जनाएको छ । फेला नपरेको अवस्थामा बाहेक शव छाड्न नपाउने व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । यस्तै शव फेला पार्न सजिलो होस भनेर पर्यटन विभागले यस वर्षदेखि हरेक आरोहीकासाथमा विद्युतीय चिप्स अनिवार्य गरेको छ ।

यस्तै आधार शिविरमा भइरहेको अनावश्यक तडकभडक रोक्न गाउँपालिकाले आरोहीका लागि राखिने पाललगायतको आकारको मापदण्ड पनि तोकेको छ । यस्तै पर्वतारोहणका लागि नयाँ डोरी टाँग्ने बेला पुरानो डोरी फुकालेर अनिवार्य रूपमा आधार शिविरमा फिर्ता ल्याउनुपर्ने, उद्धार प्रयोजनबाहेक अरू कार्यका लागि आधार शिविरभन्दा माथि हेलिकप्टर उडान र अवतरण गर्न नपाइने लगायतका नयाँ नियम गाउँपालिकाले लागु गरेको छ ।

सगरमाथामा भइरहेको अस्वस्थ प्रतिस्पर्धा रोक्न तथा हुन सक्ने प्रदुषण नियन्त्रणका लागि नयाँ नियम लागु गरेको र गाउँपालिकाबाटै प्रभावकारी अनुगमन हुने अध्यक्ष शेर्पाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया