रङ र ब्रस बोकेर विदेश गएका प्रेम हिजोआज कमाउँछन् महिनाको लाख (भिडियोसहित)

 जेठ ३, २०७६ शुक्रबार ८:१२:५५ | सन्जिता देवकोटा

इलाम –  प्रेम केसी आफ्नै अनुहार क्यानभासमा उतार्दै हुनुहुन्थ्यो । ऐनामा देखेको आफ्नो अनुहार चित्रमा उतार्दै गर्दा उहाँलाई लाग्यो ‘अबको ५० वर्षमा म कस्तो देखिन्छु होला ?’

आफू ५० वर्ष लाग्दाको आकृति मनमनै बुन्नुभयो र त्यसलाई चित्रमा उतार्नुभयो । ५० वर्षे आफूलाई हेरेर आफैँ मुस्कुराउनुभयो । 

‘त्यो बेला ५० वर्षपछिको आफू सम्झेर खुब रमाइलो लागेको थियो,’ प्रेम सम्झनुहुन्छ, ‘म अहिले पनि बेलाबेलामा यो चित्र हेर्छु, लाग्छ दिनहरु छिटो कट्दै छन् ।’

४५ वर्ष लागेका प्रेमले आजभन्दा १० वर्षअघि बनाएको आफ्नो ५० वर्षे आकृति काम गर्ने ठाउँमा झुण्ड्याउनुभएको छ । जुन चित्रले उहाँलाई आज केही गर्न प्रेरित गर्छ । त्योभन्दा पछि आउने दिनका लागि सम्भावनाहरुको बाटो देखाउँछ । 

रङ अनि त्यसलाई आकृति दिने ब्रस । प्रेमलाई लाग्छ – हातमा रङ र ब्रस भए जे पनि बनाउन सकिन्छ । जस्तो रङ पनि भर्न सकिन्छ । तर कागजमा जस्तै जीवनमा रङ भर्न भने सजिलो नहुने अनुभव छ, प्रेमको । 

रङ र ब्रस झोलामा बोकेर प्रेम जीवनको रङ खोज्दै साउदी र मलेसिया पनि पुग्नुभयो । देश घुमेर परिवेश बुझ्नुभयो । तर कोर्न सक्नुभएन जीवनको चित्र । र फर्किएर अहिले चित्र कोर्दै र भर्दै हुनुहुन्छ आफ्नो जीवनको रङ पनि । 

काठमाण्डौमा काम गर्दा तलब नपाएपछि मलेसिया

स्कुल पढ्दा कापीका पाना चित्रले भरिन्थ्यो । दिदीहरुको रङ्गिन पेन्सिल चोरेर भए पनि प्रेम आफ्ना चित्र रङ्याउनुहुन्थ्यो । पढ्ने बेलामा चित्र बनाएको भन्दै बुवाले पिटेको दिन पनि ताजै छ प्रेमको मष्तिस्कमा । तर उहाँले चित्र बनाउने आफ्नो रहर मार्नु भएन । 

‘मैले चित्र राम्रो कोर्थें । हिँड्दा, डुल्दा जे देख्यो म त्यसलाई त्यो बेलामा चित्रमा उत्तार्न सक्थें । सँगै लेख्न पनि म राम्रो लेख्थें त्यो बेलामा,’ प्रेम सम्झनुहुन्छ, ‘पेन्सिल आर्ट मात्र थियो त्यो बेलामा ।’

इलाममा पढ्दै गरेका प्रेमलाई साथीले काठमाण्डौमा राम्रो काम पाइने आश देखाए । चित्र बनाउन र लेख्न पाइने काम भएपछि उहाँ इलाम छाडेर काठमाण्डौ जानुभयो । साथीले भनेजस्तै काम पनि मिल्यो । होडिङबोर्डमा लेख्ने काम गर्नुभयो । 

‘दुई महिनाजति काम गरेपछि मैले तलब मागें । तिमीलाई तलबमा काम लगाएकै हैनौं भने । मलाई त गाह्रो भयो नि, कोठा भाडा पनि तिर्न पर्ने, त्यही रन्कोमा विदेश पुगियो,’ प्रेम विदेश जाने निर्णयमा पुग्दाको क्षण सुनाउनुहुन्छ । 

तलब नपाएर रन्थनिएका बेला प्रेमलाई साथीले मलेसियाको कुरा सुनाए । कमाइ पनि राम्रो हुन्छ भन्ने भएपछि दायाँबायाँ सोच्नु भएन । २०५४ सालमा उहाँ मलेसिया उड्नुभयो । 

काम भनेअनुसारकै मिल्यो । काम थियो कारको सिटमा कभर बनाउने । ९ सय रिंगिट थियो मासिक कमाइ । 

‘काम र कमाइ राम्रो भए पनि घरको यादले त्यो बेलामा मलेसियामा बस्न दिएन नि,’ प्रेम सम्झनुहुन्छ, ‘तीन वर्ष त बल्लतल्ल कटाएर आएको हुँ, बुवाआमको यादले खुब गाह्रो हुन्थ्यो ।’

झोलामा रङ र ब्रस बोकेर विदेश

मलेसियाबाट फर्किएपछि उहाँ गाउँघरमै रम्नुभयो केही समय । विदेश जाने सोच थिएन पनि । तर गाउँकै बहिनीले साउदीबाट राम्रो कामको अफर आएको कुरा सुनाइन् । 

‘मलेसियाबाट फर्किएपछि बिहे भयो, छोरी पनि जन्मिएकी थिइन्, चित्र बनाउन जान्ने मानिसका लागि जागिर पाइने सम्भावना थिएन । त्यही भएर पनि घर चलाउनकै लागि साउदी गएको हुँ,’ साउदी जानुको बाध्यता सुनाउनुहुन्छ प्रेम । 

प्रेमको प्रेम ब्रस र रङहरुमा थियो । तर ब्रस र रङले कागजमा जस्तो जीवनमा रङ भर्न सजिलो नहुने रैछ । प्रेम झोलामा लुगाफाटासँगै ब्रस र रङ बोकेर २०६५ सालमा साउदी उड्नुभयो । 

‘मन त चित्रकलामै थियो, तर धन नभएपछि मन मार्न पर्ने रहेछ,’ प्रेम भन्नुहुन्छ, ‘साउदीमा पनि म फुर्सदको समयमा चित्रहरु बनाइरहन्थें ।’

फुर्सदका बेलामा उहाँ ब्रस लिएर चित्र कोर्न बस्नुहुन्थ्यो । ‘मैले त्यहाँ कोरेको दुईवटा चित्र त यहाँ पनि ल्याएको छु,’ आफूले परदेशमा बनाएको चित्र देखाउँदै प्रेमले भन्नुभयो, ‘मेरो छोरीको पेन्टिङ गरें, उनी त्यो बेला ९ महिनाको थिइन् ।’ 

छोरीको पेन्टिङ गर्दाको क्षण सम्झँदै प्रेम भन्नुहुन्छ, ‘म विदेश जाँदा छोरी तीन महिनाकी थिइन्, उनी ९ महिनाको भएको तस्बिर घरबाट आयो । त्यो देखेपछि मलाई यस्तो गाह्रो भयो, अनि यो पेन्टिङ गरेको हुँ ।’ 

हिँड्दा, बस्दा, खाँदा जे कुराले छोयो, त्यही कुरा चित्रमा उत्र्तानुहुन्छ प्रेम । साउदीमा काममा हिँडिरहेका बेला प्रेमले एकदिन मरुभूमीमा ढलिरहेको रुख देख्नुभयो।

ढलिरहेको रुख देख्दा उहाँलाई लाग्यो ‘मरुभूमीमा यो रुख ठिङ्ग उभिंदा कस्तो देखिएला ?’ आफ्नो सोचलाई चित्रमा उतार्नुभयो । त्यो चित्र प्रेमले काम गर्ने कम्पनीमा धेरैले मन पनि पराए । 

विदेशबाट फर्केर चित्र बनाउने व्यवसाय

दूध डेरीको काममा साउदी पुगेका प्रेमको काम र कमाइ सोचेजस्तै थियो । १९ सय साउदी रियालसम्म हुन्थ्यो मासिक कमाइ । तर साउदी पुगेको केही समयदेखि नै सुरु भएको ढाड दुख्ने समस्याले गर्दा एक वर्षपछि २०६६ सालमा उहाँ स्वदेशक फर्किनुभयो ।  

साउदीबाट फर्किएकै वर्षदेखि हो प्रेमले व्यवसायिक रुपमा आफ्नो हातमा भएको सीप प्रयोग गर्न थाल्नुभएको । इलाम बजारमा एउटा सटर भाडामा लिएर उहाँले आर्टको काम गर्न थाल्नुभयो । 

साइबोर्ड, ब्यानर बनाउनेदेखि उहाँ चित्र कोर्नेसम्मको काम गर्नुहुन्छ हिजोआज । हातैले लेखेर आकर्षक ब्यानर, होर्डिङबोर्ड लगायत ग्राहकको आवश्यकता अनुसारको काम गर्ने भएकाले पनि कलाले नै जीवन चलेको छ । 

प्रेम विशेष गरी इलामलाई चिनाउने र महिलाका विषयमा चित्र बनाउन रुचाउनुुहुन्छ । सँगै उहाँले देखेका र भोगेका कुरालाई पनि चित्रमा उतार्नुहुन्छ ।

यही कामबाट सिजनाका बेलामा त महिनाको एक लाख रुपैयाँसम्म कमाइ हुन्छ भन्नुहुन्छ प्रेम । ‘कामको सिजनका बेलामा त लाख रुपैयाँसम्म कमाइ हुन्छ, नभए पनि महिनाको ५० देखि ६० हजार रुपैयाँ त कहीँ पनि जाँदैन,’ प्रेम भन्नुहुन्छ ।

स्वदेशमै बेश

हातमा सीप हुँदा हुँदै पनि धेरै कमाइहुने आशमा परदेशिएका प्रेमलाई हिजोआज बाध्यताले भन्दा पनि युवलाई सोचले खाडी पु¥याइरहेको छ जस्तो लाग्छ । 

‘यहाँ मेहनत नगर्ने अनि विदेशमा चाहिँ पैसा टिप्न पाइन्छ भन्ने सोचले हो बिग्रने,’ प्रेम आफ्नो अनुभव सुनाउँदै भन्नुुहुन्छ, ‘कामलाई सानो नमान्ने हो भने यहीँ पनि धेरै कमाउन र जमाउन सकिन्छ ।’

प्रेमले विदेशबाट फर्किएर काम थाल्दा शून्यदेखि नै थाल्नुभएको थियो । तर अहिले उहाँको सीप र मेहनतले नै ग्राहकसँगै कला पनि बढिरहेको छ । प्रेमलाई अहिले आफूसँग भएको कुरा चिन्न नसकेर विदेशमा समय खेर फालेछु भनेर पछुतो लाग्छ । 

प्रेमलाई खेतीपाती गर्न पनि खुब मन लाग्छ । तर ढाडको समस्या भएकाले डटेर लाग्न असहज हुन्छ । त्यसैले रङको खेती गरिररहेको छु भन्नुहुन्छ उहाँ । 

प्रेमले विभिन्न पुरस्कार र सम्मान पनि पाउनुभएको छ । व्यसायिक सफलतासँगै इलामलाई चिनाउन चित्रमार्फत सहयोग गरेको भन्दै उहाँले नगर युवाबाट वर्ष युवा पुरस्कार, युवा प्रोत्साहन पुरस्कार लगायतका पुरस्कार र सम्मान पाउनुभएको छ ।

आफूले गरेको कामले पाएको सम्मानबाट झन् काममा प्रेरणा मिलेको छ । प्रेमलाई चित्रमार्फत आफ्नो देशलाई चिनाउन मन छ । ‘जे गरे पनि आफ्नै गाउँठाउँमा गर्दा आफ्नो र देशका लागि हुन्छ,’ प्रेम भन्नुहुन्छ ।
 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया