कतारमा मात्रै १५ नेपाली कोमामा, कुन देशमा कति ? (विवरणसहित)

 असार १८, २०७६ बुधबार १७:२२:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीको सिलसिलामा गम्भीर बिरामी भएर कोमामा उपचार गराइरहेका नेपालीमध्ये सबैभन्दा धेरै कतारमा छन् । कतारमा मात्रै त्यहाँका विभिन्न अस्पतालमा १५ जना नेपालीको कोमामा उपचार भैरहेको छ ।

त्यहाँको एक अस्पतालमा ७ जना र अरु विभिन्न अस्पतालमा थप ८ जना गरी १५ जना नेपालीको उपचार भैरहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यो तथ्याँक वैदेशिक रोजगार बोर्डको सचिवालयले विदेशस्थित नेपाली नियोगसँग लिएको हो । 

कतारसहित विभिन्न देशमा गरी २८ जना नेपालीको कोमामा उपचार भैरहेको सरकारी तथ्याँक छ । 

यी हुन् कतारमा कोमामा उपचाररत नेपाली 

रुपन्देहीका राजाराम चमार, कास्कीका भीमबहादुर थापा, बाग्लुङका लिलाराम सापकोटा, सिरहाका दिनेशकुमार चौधरी, पर्वतका देवेन्द्रकुमार थापा, नवलपरासीका ओमबहादुर कुमाल र जिल्ला पहिचान नभएका छविराज आलेको कतारको रुमैला अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै कतारकै अमन हाउस पुनर्स्थापना केन्द्रमा चार जना नेपालीको कोमामा उपचार भैरहेको छ । पुनर्स्थापना केन्द्रमा झापाका श्रीबहादुर नेम्वाङ, बैतडीका भरतराम लवाद, रोल्पाका मनराज डाँगी, दाङका भक्तबहादुर रासकोटी मगर र ललितपुरका सुबेन्द्र घिसिङको उपचार भैरहेको हो । झापाका नेम्वाङ सन् २००८ देखि कोमामा हुनुहुन्छ ।

यसैगरी स्याङ्जाका अभिषेक कुमालको अल वाकर अस्पतालमा, जनकपुरका लियामत कवारी हमदको मेडिकल सिटीमा र सङ्खुवासभाका दिनेशकुमार राईको हमद पुनर्स्थापना गृहमा उपचार भैरहेको छ ।

साउदीमा सात नेपाली कोमामा

कतारपछि साउदी अरबमा धेरै नेपाली कोमामा छन् । त्यहाँका विभिन्न अस्पतालमा १ महिला र ६ पुरुष गरी सात जना नेपालीको कोमामा उपचार भैरहेको छ । धनुषाका चण्डेश्वर विन मुखियाको मउसात अस्पताल दमाममा र प्रकाश गुरुङको तादिक अस्पताल रियादमा ६ वर्षदेखि उपचार भैरहेको छ । यस्तै बाटुली सुनार चार वर्षदेखि किङ फाहद अस्पतालमा अचेत अवस्थामा हुनुहुन्छ । 

यस्तै मनोज कुमार माझी रियाद केयर अस्पतालमा, महेन्द्र गुरुङ किङ अब्दुल्लाजिज मेडिकल सिटीमा, देवराज दर्जी किङ साउद समेसी अस्पतालमा र बेदबहादुर भुजेल फेमिली केयर अस्पताल रियादको दूतावास सेन्टरमा हुनुहुन्छ ।

कुवेतमा पनि चार जना नेपाली

कुवेतमा पनि चार जना नेपालीको कोमामा उपचार भैरहेको छ । नवलपरासीका भागिरथ चापागाईं र वाग्लुङका हिरा दमाई कोमामा रहेका छन् । दुवैको अल आदम अस्पतालमा उपचार भैरहेको छ । कोमामा रहेका पर्वतकी सुमित्रा बि.क. र खोटाङका गंगाबहादुर गुर्बाछाने मगर अल जारा अस्पतालमा दुई वर्षदेखि उपचाररत छन् ।

यस्तै यूएईमा पनि एक नेपाली कोमामा रहेका छन् । पर्वतका कुमार फकामी पुन अचेत अवस्थामा चार वर्षदेखि त्यहाँको अल घरबिया अस्पतालमा उपचाररत हुनुहुन्छ । 

दक्षिण कोरियामा कोमामा रहेका झापाका ओमनाथ ढकाललाई सरकारले गएको शुक्रबार  स्वदेश ल्याएको छ । ‘नेस्नल युनिभर्सिटी होस्पिटल बुसन’ उपचाररत ढकालको अहिले वीर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।

कोमामा रहेका सबै नेपालीलाई स्वदेश ल्याईंदै

सरकारले विदेशका विभिन्न अस्पतालमा कोमामा रहेका सबै नेपालीलाई स्वदेश ल्याउने प्रक्रिया सुरु गरेको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य तथा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ । 

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीहरुको संकलित तथ्याँक छानबिन गरेर नेपाल ल्याउने प्रक्रिया तथा मापदण्डका साथै नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्नेछ । झापाका ओमनाथ ढकाललाई भने परिवारको विशेष आग्रहमा परिवारसँग सहमति गरेर स्वदेश ल्याइएको बोर्ड सचिवालयले जनाएको छ । 

दुर्घटना र रोगका कारण कोमामा पुग्ने सम्भावना

कोमामा जाने कारण धेरै छन् । यही कारणले गर्दा कोमामा जान्छन् भन्न नसकिए पनि दुर्घटना र विभिन्न रोगका कारण नेपाली कामदार विदेशमा कोमामा जाने गरेको अनुसन्धानकर्ता डा. जीवन बानियाँ बताउनुहुन्छ । 

विदेश जाने बेला स्वास्थ्य परीक्षणका सबै प्रक्रियामा पास भएर गएका कामदार पनि कोमामा गइरहेका छन् । ट्राफिक संकेत र काम अनुसार अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदारलाई गम्भीर रोग लाग्ने र दुर्घटनामा पर्ने गरेको डा. बानियाँ बताउनुहुन्छ । 

सामान्य बिरामी हुँदा कामदारले नै बेवास्ता गर्ने र समस्या गम्भीर हुँदै गएपछि कम्पनीले जिम्मेवारी नलिने गर्दा पनि कोमामै जाने सम्भावना हुने उहाँले बताउनुभयो । 
विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम पर्याप्त नहुँदा पनि धेरै नेपाली विदेशमा समस्यामा परिरहेका हुन्छन् । विदेशको वातावरण, रहनसन, नीति नियम, कामको प्रकृति र समस्या परिहाले जाने ठाउँ थाहा नहुँदा पनि धेरैजसो अप्ठ्यारोमा पर्छन् । 

विदेश जानु अघि र त्यहाँ रहँदा ध्यान दिनुपर्ने कुरा

विदेशमा काम गर्दा सानोतिनो सुरक्षामा मात्रै ध्यान दिँदा पनि अंगभंग र बिरामी हुनबाट बच्न सकिन्छ । विदेश जानुअघि नै आफूले गर्ने काम र जाने देशका बारेमा सामान्य जानकारी राख्न आवश्यक छ । 

काम गर्दा आइपर्ने समस्या र त्यसबाट बच्न सकिने समाधानका उपयका बारेमा कामदारले नै ध्यान दिनु पर्छ । विदेश जानुअघिको अभिमुखिकरण तालिम देश अनुसारको भएमा पनि विदेशमा दुर्घटना जस्तै अरु समस्याबाट कामदारलाई बचाउन सकिने डा‍. बानियाँ बताउनुहुन्छ । 

विदेश जाने कामरदाहरुमा व्यवसायजन्य सुरक्षाका बारेमा सूचनाको कमी भएका कारण अंगभग हुने, निको नहुने रोग लाग्ने, ट्राफिक संकेतको बारेमा जानकारी नहुँदा दुर्घटनामा पर्ने गरेको देखिन्छ । त्यसैले विदेश जानुअघि नै आफूले गर्ने काम र त्यससँग सम्बन्धी असुरक्षाबारे थाहा पाउनुपर्ने उहाँको भनाइ छ ।

कतिपय कामदार र कम्पनीले नै सुरक्षाको मापदण्ड नअपनाउँदा पनि दुर्घटना निम्तने र कोमामै जाने अवस्था आउन सक्ने डा. बानियाँले बताउनुभयो । समस्या कम हुँदा वेवास्ता गर्ने र बढ्दै गएपछि कम्पनीले पनि राम्रो ख्याल नगर्दा झन समस्या बढ्ने भएकाले बेलैमा चनाखो हुन उहाँको सुझाव छ । 

अहिले व्यवसायजन्य सुरक्षालाई नेपाल सरकारले ऐनमै उल्लेख गरेको छ । श्रम ऐन २०७४ र श्रम नियमवाली २०७५ मा पनि व्यवसायजन्य सुरक्षाका विभिन्न पक्षहरुलाई समेटिएको छ ।

व्यवसायसँग सम्बन्धित कामदारका लागि शारीरिक, मानसिक लगायत सुरक्षाका बाटोहरुमा अपनाउनु पर्ने विधिलाई मध्यनजर गर्दै ऐन र नियमावलीमा पनि सुरक्षाको व्यवस्था गरिएको हो । विदेशमा काम गर्दा गह्रौं सामान उचाल्नु पर्ने छ वा यताउता सार्नुपर्ने छ भने काम गर्ने ठाउँमा भएका लिफ्ट आदिको प्रयोग गर्नुपर्छ । सकभर जाँडरक्सी, चुरोटबिडी नखान डाक्टरको सुझाव छ । 

काम गर्दा बेल्ट, टोपी, पञ्जा, मास्क प्रयोग गर्नुपर्छ । यसो गर्दा चोटपटकबाट बच्न सकिन्छ । धेरै घण्टा एउटै काम गर्दा तनाव हुनसक्छ । घर परिवार, साथीभाइका कारण पनि तनाव हुन्छ । यस्ता कुरा कम गर्ने प्रयास गर्नुपर्छ । 

विदेश गएर फर्कने सय जनामध्ये ५६ जना कामदारमा स्वास्थ्य समस्या देखापर्ने गरेको विभिन्न देशका डाक्टर तथा स्वास्थ्य संस्थाले मिलेर गरेको अध्ययनले देखाएको छ । 


 

तपाईको प्रतिक्रिया