एजेण्ट खारेज भए पनि वैदेशिक रोजगारीमा ठगी उस्तै, एउटैले चार सय जनालाई ठगे

 साउन ११, २०७६ शनिबार १६:३३:२३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डाै – नवलपरासीका ईश्वरी पौडेल १६ वर्ष प्रहरीमा सेवा गरेर हवल्दारबाट रिटायर्ड हुनुभयो । दुबईमा सेक्युरिटीको काममा राम्रो कमाइ हुन्छ भन्ने सुनेर त्यता जाने सोच्नुभयो । एकजना साथीको सल्लाहअनुसार एजेण्टको सम्पर्कमा पुग्नुभयो ।

एजेण्टले चार दिनभित्रै दुबई उडान हुने भन्दै उहाँसँग ६० हजार रुपैयाँ माग्यो । उहाँले भनेअनुसार रकम दिनुभयो । तर दुबई जाने भनिएको अघिल्लो दिनदेखि एजेण्ट सम्पर्कबिहीन भयो ।

यस्तै १८ वर्ष प्रहरीमा सेवा गरेर रिटायर्ड भएका गुल्मीका विष्णुराज पोख्रेलले पनि वैदेशिक रोजगारीमा जाने सोचाई बनाउनुभयो । दुबईमा सेक्युरिटी गार्डमा जान पाए हुन्थ्यो भन्दै बस्नुभएको थियो । यतिकैमा उहाँको भेट एजेण्टसँग भयो ।

एजेण्टले विष्णुलाई ‘लाइफ गार्ड’को सेक्युरिटीमा लगाउने प्रलोभन देखायो । काम भइसक्यो अहिलेलाई केही पैसा दिनुस् भन्दै उहाँसँग पनि ६० हजार रुपैयाँ मागेर फरार भयो । 

यसैगरी एजेण्टको सम्पर्कमा पुग्नुभयो, सल्यानका भुवन बोहोरा । सुरेश वली नाम गरेका साथीले एजेण्टसँग सम्पर्क गराइदिएका थिए । दुई लाख रुपैयाँ तिरेर दुबईमा सेक्युरिटीको काम पाइने भएपछि भुवन एजेण्टसँग नजिकिनुभयो । त्यो एजेण्टसँग आत्मियता बढ्दै गयो । दाजुभाइको सम्बन्ध जस्तै बन्यो । 

ती एजेण्टले भुवलाई ‘असार मसान्तसम्मको हिसाब मिलाउनुपर्ने भयो भाइ, मैले घर पनि बन्धकी राखेको छु, अहिले अलि गाह्रो भयो मलाई तुरुन्तै एक लाख चाहियो, फ्लाइटको पैसा तिर्नुपर्ने भयो’ भन्दै भावनात्मक रुपमा बहकाएर एक लाख रुपैयाँ माग्यो । गाउँका दाइहरुसँग ऋण मागेर भए पनि भुवनले १ लाख रुपैयाँ दिनुभयो ।

असार ३१ गते उहाँले एजेण्टलाई रकम बुझाउनुभयो । साउन ५ गते फ्लाइट छ भनेको, थियो तर ४ गतेदेखि नै एजेण्टको मोबाइल स्वीच अफ भयो ।

विष्णु, भुवन र ईश्वरी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै चार सय जना यसैगरी ठगिए, त्यो पनि एउटै एजेण्टबाट । विदेश पठाइदिने भन्दै सबैसँग ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म रकम उठाएर फरार भएका ती  एजेण्ट हुन्, दाङका रम्तुल्ला मियाँ । उनी करिब ४ करोड रुपैयाँ ठगी गरेर फरार भएको पीडितहरु बताउँछन् ।

को हुन् रम्तुल्ला मियाँ ?

दाङ स्थायी घर भएका ३२ वर्षीय रम्तुल्ला मियाँ काठमाण्डौमा रहेको जीएस टेक्निकल सेन्टरसँग आबद्ध छन् । सेन्टरले वैदेशिक रोजगारीमा जानेहरुलाई विभिन्न तालिम दिने काम गर्छ । 

मियाँले ठगिने जति सबैलाई यसै सेन्टरमा भेट्न बोलाउँथे ।

‘उसले म यसै सेन्टरमा काम गर्छु, यसैको शेयर होल्डर हो भनेको थियो’ पीडित भुवन बोहोराले भन्नुभयो, ‘मलाई विश्वास त लागेको थिएन, तर म्यानपावर कम्पनीसँग सम्पर्क गरेर दुबईमा जीफोरएस सेक्युरिटीको लागि भिसा निकालेका छौँ भनेपछि मलाई विश्वास लाग्यो ।’

यसरी विदेश पठाइदिने भन्दै सबैसँग पैसा असुलेर फरार भएका मियाँले पहिलेदेखि नै ठगी गर्दै आएका थिए । उनको गाउँमा गएर बुझदा उनले पहिलेदेखि नै ठग्ने गरेको थाहा भएको अर्का पीडित विष्णुराज पोख्रेलले बताउनुभयो ।

‘मियाँ फरार भएपछि हामी खोज्दै उनको घरसम्म पुग्यौ’, विष्णुले भन्नुभयो, ‘गाउँपालिकामा पनि उनीविरुद्धका थुप्रै उजुरी रहेछन्, गाउँमा नगएकै ३ वर्ष भइसकेको रहेछ ।’

गाउँमा उनकी श्रीमती र तीन वर्षकी छोरीबाहेक अरु कोही छैनन् । उनीहरु पनि छुट्टै सानो पसल चलाएर बसिरहेका छन् । उनकी श्रीमतीसँग कुरा बुझ्दा मियाँ कहिले पोखरामा त कहिले काठमाण्डौमा अरु केटीहरुसँगै बस्ने गरेको विष्णुले बताउनुभयो ।

नक्कली भिसा देखाएर फसायो 

रम्तुल्ला मियाँले असार २५ गतेसम्म भिसा आइसकेको भन्दै सबैलाई इमोमा भिसाको फोटो पठाए । आफूले जान चाहेको कामको लागि भिसा आएको देखेर सबैलाई विश्वास पनि लाग्यो र रकम दिन थाले । मियाँले पठाएको नक्कली भिसाको फोटोमा धेरैले आफ्नो रकम डुबाए ।

‘त्यतिबेला कसैले पनि त्यो भिसा नक्कली हो कि सक्कली भन्ने वास्ता नै गरेनन्’, पीडित भुवनले भन्नुभयो, ‘मियाँ फरार भएपछि मात्रै त्यो भिसा त नक्कली रहेछ भन्ने सबैले पत्तो पाए ।’

मियाँले सबैलाई साउन ५ गतेदेखि ११ गतेसम्म विदेश पठाइदिने भनेका थिए । मियाँ फरार भएपछि जीएस ट्रनिङ सेन्टरका मेनेजर चङ्खबहादुर राईसँग अनुसन्धान गर्नुपर्ने पीडितहरुको माग छ । राई पनि रम्तुल्ला मियाँसँग जोडिएको पीडितहरु बताउन्छन् ।

‘त्यो पनि मियाँसँगै सँलग्न छ’,  भुवन बोहोरा प्रश्न गर्नुहुन्छ, ‘नत्र अर्काको ट्रेनिङ सेन्टरमा बसेर कसैले कसरी यत्रो ठगी गर्न सक्छ ?’ 

अझै पनि एजेण्ट सक्रिय 

सरकारले वैदेशिक रोजगारीमा पठाउने एजेण्ट खारेज गरिसकेको छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानेसँग पासपोर्ट संकलन तथा रकम उठाएमा एजेण्टलाई कारबाही हुन्छ । तर एउटै एजेण्टले चार  सय जनालाई ठगेको तथ्यबाट अझै एजेण्ट सक्रिय रहेको प्रष्ट हुन्छ ।

अझै पनि एजेण्टबाट ठगिने क्रम नरोकिएको वैदेशिक रोजगारीमा ठगिएकाहरुलाई कानुनी परामर्श दिने संस्था पिपुल फोरमका कानुनी सल्लाहकार सुदिप देवकोटा बताउनुहुन्छ ।

‘कानुनी रुपमा खारेज भए पनि गाउँ शहरतिर एजेण्टहरु अझै छ्याछ्याप्ती छन्’, उहाँले भन्नुभयो, ‘विदेश जानेहरुलाई सीप सिकाउन खोलिएका संस्थाहरुले समेत एजेण्टको रुपमा काम गरेको देख्दा अचम्म लाग्छ ।’

यसरी ठगिमा संलग्न व्यक्तिलाई साथ दिएकाले जीएस ट्रेनिङ सेन्टरमाथि छानबिन गरेर कारबाही गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
 

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया