यो लकडाउन हो, मृत्युको काउन्टडाउन होइन

 बैशाख ६, २०७७ शनिबार १०:४:२४ | मेरो कथा मेरो भोगाई

पृथीछक बुढा मगर,/हाल, दुबई ।

अहिले परदेशमा काममा जाने र उठ्ने निर्धारित समय मात्र होइन धेरै कुरा फेरिएको छ ।

अनौठो लाग्दो समय, अनाै‌ंठो परिवेश, अनौठा शहरका मान्छेहरु, दिनरात जागरुक हुने शहर हिजोआज निदाएको छ । सबैको मुखमा टालो टालिएकै छ । द्वन्द्वकालका बिद्रोही माओवादी जस्ता ।

त्यतिखेर सबैको मुखमा यसरी नै रुमाल टालिएको हुन्थ्यो । एक होइन, हजारौं । सायद लाखौं र करोडौंको सङ्ख्यामा ।
दुबई शहरको नाइफ एरियामा पुरै लकडाउन भएको तीन हप्ता बढी भयो । सडकपारिको जनजीवन पुरै ठप्प छ । हामी क्वारेन्टाइनमा बसेको पनि तिनै हप्ता पूरा भइसक्यो ।

रातदिन सुतेर साथीहरुको अनुहार सुन्निएको जस्तो भैसक्यो । सग्लै मान्छे पनि बिरामी परेका जस्ता । छुट्टी हुनेबित्तिकै निधार चम्काउने साथीहरु अहिले चाहिँ कहिले ड्युटी शुरु होला भनेर कुरिरहेको अवस्था छ । जब म्यानेजर वा सुपरभाइजरको फोन आउँछ तब काममा बोलायो कि भनेर निधार चम्काउने दिन आएको छ ।

दुई तीन दिनसम्म त रमाइलै बित्यो । पकाउन सीप भएका साथीहरुले पकाए । खानेले पेटभरी खायौं । दुई हप्तालाई पुग्ने तरकारीले फ्रिज भर्‍यौं । साथीहरु त्यतिखेर झस्किए जतिखेर थप क्वारेण्टीन अबधी लम्बियो ।

फ्रिज पनि रित्तिन थाल्यो । पकेट पनि खाली हुन थाल्यो । सँगैका साथीहरुलाई कम्पनीले बेतलबी बिदा दिएको छ । उनीहरुलाई गाँसको चिन्ता बढेको छ । पछिल्लो हप्तादेखि त बाहिर निस्किन पनि पाईंदैन । दोस्रो हप्तासम्म त पार्क वरपर चक्कर मार्न पाइन्थ्यो । हिजोआज पार्कमा जान त के कोठाबाटै बाहिर निस्किए गेटबाटै प्रहरीले लखेट्छ ।

दुई हप्ता क्वारेण्टीन भनिएको अन्तिम साँझ जब एकजना साथीको मोवाइलमा फोन आयो, तब उसले फूर्तिका साथ फोन उठायो । उसलाई लागेको थियो कि अब कम्पनीले काममा बोलायो । बिडम्बना फेरि थप दुई हप्ता काममा नआइज भनेपछि जब उसले फोन काट्यो कसो फोन फुटाएन । रुन मात्रै सकेको थिएन । समस्या हामीलाई मात्रै होइन, अहिले संसारभर सबैको समान समस्या छ ।

एकदमै मिजासिला साथीहरुको हिजोआज बानी फेरिएको छ । झनक्क रिसाइहाल्ने, बढी अल्छी भए जस्ता । सबैको खाने र सुत्ने रुटिन पनि डामाडोल भएको छ । उनीहरुमा डिप्रेशनको खतरा पनि उत्तिकै देखिरहेको छु ।

अप्रिल महिना पनि दुई हप्ता बित्यो । घर मालिकले पनि कोठा भाडा उठाउन आएको छैन । फोन गरेका हौं । जवाफमा भन्छ, बाहिर निस्किनै मिल्दैन । पछि दिए हुन्छ । उसको पनि आफ्नै बाध्यता छ ।

हिजोआज कोठामा रमाइलो छैन । चिकेन फ्राई पाक्दैन । मटन करी पाक्दैन । लगातार दुई दिन फर्सीको ग्रेभीमा भात मुछेर खायौं । नभएर होइन, परिस्थिति अनुसार आफूलाई बदलेको हो । ठिक्कको खाउँ तर धेरै दिन खान पाउँ भनेर हो । एक्लैले नखाउँ मिलेर बरु थोरै खाउँ । कोही भोको बस्नु भएन । यही हो कुरा । बाँचे मीठो खाउँला । उमेर सकिएको छैन ।

मान्छेको सबैभन्दा दुःखको क्षण उसको मृत्यु हो । त्यो मृत्यु हामी सबैको टाउकोमा नाचिरहेको छ । यसकारण अहिलेको अबस्थामा अलिअलि दुःख हुने नै भयो, यो स्वभाविक कुरा हो । सामना गर्न सिकौं । जसले सामना गर्छ, उसैले जित्छ ।

समय कटाउने मेलो छैन । उही फेसबुक र यूट्युव न हो । साथीहरु यूट्युव र फेसबुकमा शेयर गरिएका कुराहरु हेर्नु हुन्छ । अनि भन्नुहुन्छ, मरिन्छ कि क्या हो ? विश्व सकिन्छ कि कसो ? त्यसपछि बिरह चल्न थाल्छ र भावुक स्टाटस लेख्नुहुन्छ । ती स्टाटसहरुले अरुलाई पनि दुःखी बनाउदो हो, जसरी अरुको स्टाटसले हामीलाई भ्रमित र दुःखी बनाउने गर्दछ ।

कोही आवेशमा आउनु हुन्छ र नेपाल सरकारले आफूहरुलाई नेपाल फिर्ताको वातावरण नमिलाएको भनेर सरकारलाई गाली गर्नुहुन्छ । कोही परिवारसँगै मर्न पाए हुने तर्क पेश गरिरहेको सुन्छु । मानौं कुनै हालतमा हामी मरिरहेका छौँ ।

त्यतिखेर उहानमा कोरोना संक्रमित भएको अफ्रिकी देशका मान्छेको भनाइ स्मरण गराउँछु । उनले भनेका थिए, ‘मरे यहीँ मर्न तयार छु, तर मैले यो रोग बोकेर मेरो देश लिएर जान्न, त्यहाँका नागरिकलाई मार्न चाहन्न ।’ हामीसँग यति पनि नैतिकता छैन ।

समयलाई सदुपयोग गर्नुपर्छ परिस्थितिसँग आनन्द लिन सकिन्छ । हर मान्छेसँग कुनै न कुनै कला लुकेको हुन्छ । कसैलाई कविता लेख्नमा मज्जा आउला, कसैलाई कथा लेख्न मज्जा आउला । कसैलाई गीत लेख्न, कसैलाई संगीतको रचना गर्न आनन्द आउला । यही समयलाई सदुपयोग गर्न सक्नुपर्छ ।

सन् २०११ मा हो सबैभन्दा बढी पुस्तक पढेको ४३ वटा । यसपटक पनि अध्ययन गर्न नपाएका पुस्तकहरु अध्ययन गरियो । केही पुस्तकहरु पछिसम्म चाहिन्छ भनेर अनलाइनबाटै डाउनलोड गरेको छु । एक वर्ष पहिले आहुतीले इमेलमा पठाइदिनु भएको एउटा सामग्री हिजोदेखि अध्ययन गर्न थालेको छु ।

अलिकति फुर्सद भएको बेला फेसबुक सफाय पनि गर्छु । भ्रम फैलाउने भ्रामक ग्रुप र मिडियाका पेजहरु फटाफट डिसलाइक गरिदिन्छु । कसैले कोरोनाको भिडियो म्यासेन्जरमा पठायो भने रिसाइदिन्छु ।

सबैलाई थाहै छ कोरोनाले मानव सभ्यतामाथि धावा बोलेको छ । जसको लागि रुनधुन सकिँदैन । जे हुनेछ त्यो हुन्छ । चिन्ताले त्यो रोकिने होइन । मुठी कस्ने हो । ढाल्ने हो । यो लडाइँको मैदान हो, हिम्मत चाहिन्छ । आत्मबल भए जस्तोसुकै कठोर युद्ध पनि जितिन्छ । यो लकडाउन हो, मृत्युको काउन्टडाउन होइन । चिन्ता नगरे हुन्छ, केवल आफ्नो ख्याल राखे पुग्यो ।

 

तपाईको प्रतिक्रिया