विदेशमा नेपालीको स्वास्थ्य अवस्था : कोरोनाबाट निको हुनेसँगै मानसिक समस्या पनि बढ्दो

 असार १०, २०७७ बुधबार १२:२७:१३ | डा. सञ्जिव सापकोटा
unn.prixa.net

अहिले संसारभरी नै कोरोना महामारी फैलिएपछि संसारभरी रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे पनि चासो बढेको छ । विश्वभरी गैरआवासीय नेपाली संघ अन्तर्गत झण्डै ८० भन्दा बढी देशहरुमा ८० लाखभन्दा बढी नेपाली हुनुहुन्छ।

हामीले अहिले महामारीको समयमा उहाँहरुको स्वास्थ्य अवस्थाको बारेमा मध्यपूर्व, बेलायत, अमेरिका, यूरोप, अफ्रिका, अष्ट्रेलियाका सबै देशहरुमा हरेक हप्ता कोरोना सङ्क्रमणको अध्यावधिक तथ्याँक संकलन गरिरहेका छौं । अहिलेसम्म १७ देखि १८ हजारको हाराहारीमा नेपालीहरु विदेशमा सङ्क्रमित भएको हामीसँग जानकारी छ । त्यसमा पनि १० हजार जति निको भैसकेका छन् । नेपालभन्दा बाहिर कोरोनाका कारण १३० जना नेपालीको ज्यान गइसकेको छ । त्यसमा अधिकांश ज्यान गुमाउनेहरु बेलायत, अमेरिका र मध्यपूर्वका देशहरुमा छन् ।

मध्यपूर्वका देशमा सङ्क्रमण दर बढ्दो

केही समय पहिले अमेरिका र बेलायतमा सङक्रमणको दर निकै द्रुत गतिमा बढेको थियो । अहिले आएर अमेरिका र बेलायतमा यो गति केही रोकिएको छ ।

अहिले मध्यपूर्वका देशहरुमा विशेषतः कतार, साउदी, कुवेतमा सङ्क्रमको दर बढेको छ । यस्तै अफ्रिकामा पनि पहिले सङ्क्रमणको दर कम थियो भने अहिले बिस्तारै बढ्दो अवस्थामा छ । तर पहिले नेपालीहरु सङ्क्रमित भएका विभिन्न १७ वटा देशहरु अहिले सङ्क्रमणमुक्त भएका छन् ।

जापान र अष्ट्रेलियामा सङ्क्रमित भएका नेपालीहरु पनि सबै निको भैसकेको अवस्था छ । मलेसियामा पनिसबै नेपालीहरु सङ्क्रमणबाट मुक्त भएका छन् ।

क्यानडा, स्वीडेन्, फिनल्याण्ड, डेनमार्क, पोल्याण्ड जर्मनी, स्वीटजरल्याण्ड र यूरोपका नेपाली सङ्क्रमित भएका धेरै देश अहिले सङ्क्रमणमुक्त रहेका छन् । त्यस्तै जापान र अष्ट्रेलियामा सङ्क्रमित भएका नेपालीहरु पनि सबै निको भैसकेको अवस्था छ । मलेसियामा पनिसबै नेपालीहरु सङ्क्रमणबाट मुक्त भएका छन् ।

नेपाल बाहिर रहेका १८ हजारको हाराहारीमा सङ्क्रमित भएका भए पनि ७०/७५ प्रतिशत सङ्क्रमण मुक्त भैसकेका छन् । विदेशमा सङ्क्रमित भएका नेपालीहरु भन्दा पनि नेपाली मूलका व्यक्ति भनेर हामीले भन्ने गरेका छौं । किनभने उहाँहरुमध्ये कतिपयले विदेशी नागरिकता पनि लिएको हुन सक्ने अवस्था छ ।

सङ्क्रमणमुक्त हुने अवस्था जारी छ । तर मानसिक स्थिति बिग्रेको पनि देखिएको छ । यो समयमा ४ जनाले आत्महत्या गरेका छन् । आत्महत्याको कारण यो नै हो भनेर भन्न चुनौतीपूर्ण छ । तर कोरोना लागिसक्यो भनेर जानकारी भएपछि आत्महत्या गरेको हुनाले सम्भवतः कोरोनाकै त्रासका कारण हो कि भन्ने हाम्रो अनुमान छ । त्यही भएर हामीले मानसिक तनावले ग्रस्त नेपालीहरुको पहिचान गर्नको लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संगठनहरुलाई आग्रह गरेका छौं । उनीहरुलाई सावधानीपूर्वक हेर्नको लागि निर्देशिका बनाएर पनि हामीले पठाइसकेका छौं ।

नेपालीलाई विदेशमा बिना विभेद उपचार 

विदेशमा रहेका जति पनि नेपालीहरु हुनुहुन्छ, उहाँको स्वास्थ्यको जिम्मेवारी सम्बन्धित देशको नै हुन्छ । उहाँहरुले नेपालीहरुलाई कुनै पनि भेदभाव नगरेर अत्यन्तै राम्रोसँग उपचार गरेको पाइएको छ । हामीले थाहा पाएसम्म कसैलाई पनि स्वास्थ्य उपचारमा कमी भएको छैन ।

मध्यपूर्वमा आप्रवासी कामदारको रुपमा रहेका नेपालीहरुलाई पनि ती देशले राम्रो उपचार गरेको, अस्पतालमा राखेको अवस्था सबैतिर सुन्नमा आइरहेको छ ।

यो सङ्कटको बेला सबै देशहरुले जातभात, रङ्ग नहेरेर स्वास्थ्यलाई ध्यानमा राखेकोले कोरोना लागेका व्यक्तिलाई जुनसुकै देशका भए पनि उनीहरुलाई उपचार गर्ने गरेको पाइएको छ । बिरामीसँग खर्च नभए पनि परीक्षणदेखि उपचारसम्मका सबै खर्च त्यहाँको देशले नै व्यहोरेका छन् ।

मध्यपूर्वमा आप्रवासी कामदारको रुपमा रहेका नेपालीहरुलाई पनि ती देशले राम्रो उपचार गरेको, अस्पतालमा राखेको अवस्था सबैतिर सुन्नमा आइरहेको छ । कहिलेकाहीँ सबैतिर एक समानको साधनस्रोत नहुन सक्छ । जस्तो कुवेतमा क्वरेण्टीनमा बसेका नेपालीहरुलाई एयर कण्डिसनको अभावका कारण गर्मी भएको जस्तो समस्या छ ।

यस्तो समस्या नेपाली मात्र नभएर अरु देशका नागरिकलाई पनि पर्न गएको छ । यस्तो अवस्थामा त्यहाँ रहेका हाम्रा संस्थाहरुले त्यस्ता कुनै समस्या देखिए अथवा स्वास्थ्य जाँचमा समस्या आउने वित्तिकै सम्बन्धित निकायमा खबर गर्ने गरेका छन । 

यस्तै अमेरिका र बेलायतमा सङ्क्रमण देखिने वित्तिकै तुरुन्तै उपचार भएको छ । यो रोग नयाँ भएकाले पनि लाग्ने वित्तिकै मानसिक चिन्ता हुनु स्वभाविक हो । तर अत्यधिक तरिकाले धेरै दिनसम्म चिन्ताग्रस्त भयो भने यसले अर्को रुप लिन्छ । धेरै जनाले यो लागेपछि निको भैहाल्छ भनेर बुझेका छन् ।

यस्तै यो रोग लागेपछि मरिन्छ कि, यो रोग लागेको जानकारी कसैलाई पनि गर्नुहुन्न भन्ने सोचाइ भएकाहरु पनि छन् । यस्ता व्यक्तिलाई पहिचान गरेर हामीहरुले उहाँहरुलाई सम्झाउने गरेका छौं । उहाँहरुले बिस्तारै त्यो कुरा बुझ्दै गरेको हामीले पाएका छौं ।कोरोना सङ्क्रमणको अवधि तीन महिना भइसकेकाले धेरैले यसको बारेमा थाहा पनि पाइसकेका छन् । 

कोरोना जोखिम र स्वास्थ्य अवस्था

कुनै पनि व्यक्तिलाई सुरुमै स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै मधुमेह, रक्तचाप भएकाहरुलाई कोरोना लाग्यो भने निको हुन अलि ढिलो हुनु स्वभाविक नै हो । त्यस्ता व्यक्तिहरु अलि बढी जोखिममा पर्ने र अस्पतालमा धेरै दिन बस्नुपर्ने पनि हुन सक्छ । यस्तै वृद्धवृद्धाहरुलाई पनि यो रोगले अलि बढी च्याप्छ । 

ध्यपूर्वका देशहरुमा यसको दर बढ्दो अवस्थामा छ । अफ्रिकी देशमा पनि दर बढीरहेको छ । त्यसैले पहिला लागेकाहरु निको हुँदैगए र नयाँ सङ्क्रमण हुने क्रम पनि चलि नै रहन्छ ।

नेपालभन्दा बाहिर जति पनि जनाको ज्यान गएको छ, उहाँहरु सबै जना कोरोनाकै कारणले नभएता पनि पहलिे देखि नै मुटुको रोग, मधुमेह, दमको रोगी र वृद्ध भएका व्यक्तिहरु हुनुहुन्छ । कोही व्यक्ति मुटुको कारणले बित्नुभयो भने, कोरोनाका कारण मुटुलाई बढी समस्या गर्यो, मृगौलालाई बढी असर गर्यो भन्ने कुरालाई बुझ्नुपर्छ । चाँडो उपचार भयो भने यो रोगले त्यति असर गर्दैैन जति चाँडो उपचार नभएकाहरुलाई गर्छ ।

जुन ठाउँमा पहिले सङ्क्रमण बढी थियो त्यसमा कमी भएको छ । तर विश्वव्यापी रुपमा कोरोना निमिट्यान्न नभएको र आफैंमा महामारी भएका कारण हप्तैपिच्छे यो तथ्यांक परिवर्तन हुँदै जान्छ ।

अमेरिका बेलायत तथा १७ वटा देशमा कोरोना लागेको नेपालीहरु कोरोनाबाट मुक्त भइसक्नुभएको छ । तर मध्यपूर्वका देशहरुमा यसको दर बढ्दो अवस्थामा छ । अफ्रिकी देशमा पनि दर बढीरहेको छ । त्यसैले पहिला लागेकाहरु निको हुँदैगए र नयाँ सङ्क्रमण हुने क्रम पनि चलि नै रहन्छ ।

जापान, दक्षिण कोरियामा पनि नेपालीहरु हुनुहुन्छ । उहाँहरुले कुनै पनि प्रकारको सावधानी अपनाउनु भएन भने उहाँहरुलाई पनि कोरोना लाग्ने सम्भावना उत्तिकै बढी हुन्छ । त्यो कुरामा हामीले निकै ध्यान पुर्याउनुपर्छ । अधिकांश व्यक्तिहरु अहिले खतराबाट मुक्त नै हुनुहुन्छ ।

तर पहिलेदेखिकै दीर्घरोगीहरु अर्थात २० प्रतिशत अलि जोखिममा हुनुहुन्छ । त्यसैले नेपालमा रहेका आफन्तहरुले पनि उहाँलाई पहिलेदेखि नै रोग थियो भन्ने बुझ्नुपर्छ र जो पहिलेदेखि निरोगी थिए उहाँका परिवारले उ स्वस्थ थियो निको भइहाल्छ भन्ने सोच्नुपर्छ । सङ्क्रमण हँने बित्तिकै स्वास्थ्य परामर्श लिएर औषधि लिन ढिला नगर्नुस् भन्न चाहन्छु । सकेसम्म चाँडो उपचार गराउँदा निको हुने  सम्भावना बढेर जान्छ ।

जोखिमबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

मुख्यतया अहिले जो सङ्क्रमित व्यक्ति हुनुहुन्छ, उहाँबाट अरुलाई नसरोस् भन्ने कुरामा एकदमै ध्यान दिनुपर्छ । त्यसको लागि हामी कन्ट्र्याक्ट ट्रेसिङ गर्छौं । सङ्क्रमित भएको व्यक्तिको छेउमा आएका र एक्सपोज भएका व्यक्तिहरुलाई पहिचान गरेर उहाँहरुलाई आइसोलेसनमा बसेर र सङ्क्रमित भए नभएको १४ दिनसम्म हेरेर र आफू सङ्क्रमण्बाट मुक्त भएको थाहा पाएपछि मात्र आफूलाई समाजमा घुलमिल गर्नुभयो भने मात्र यसले नयाँ सङ्क्रमण हुन एकदमै रोक्छ । यसमा हामी सबैले ध्यान दिनुपर्छ । एकजनाले लागेर मात्र हँुदैन, संस्था, निकाय, सरकार र व्यक्ति स्वयंले ध्यान दिनुपर्छ । यदि मलाई कोरोना भयो भने मैले जति सावधानी अपनाउनुपथ्र्यो त्यो अपनाउन सकिनँ भन्ने सोच्नुपर्छ ।

सावधानी भन्ने कुरा, आफू कोठाबाहिर निस्कनु भन्दा पहिले पाँच पटक सोच्ने, नाकमुख राम्रोसँग छोपेर र बाहिर भएका अपचरित व्यक्तिलाई कोरोना छ भन्ने कुरा बुझ्यो भने हामीले सावधानका उपाय अपनाउँछौं र हामी सङ्क्रमित हुनबाट जोगिन्छौं ।

कोरोना सर्ने भनेको मुख्यतया हातले नै हो । त्यही भएर केही छोएपछि वा बजारबाट आएपछि राम्रोसँग मिचीमिची २० सेकेण्डसम्म हात धुनुपर्छ ।  किनभने २० सेकेण्ड नभएसम्म भाइरस मर्दैन । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने कुरा सबैलाई थाहा भएकै हो, तर यसमा विशेष ध्यान दिनुपर्छ ।

जसलाई जानैपर्ने आर्थिक, सामाजिक तथा स्वास्थ्य सम्बन्धी समस्याका कारण बाध्यता छ भने स्वदेश फर्किंदा ठिक हुन्छ । नेपालमा पनि कोरोना लागेको छैन भन्ने होइन । त्यहाँ पनि सङ्क्रमण फैलिरहेको छ । एक दिन त हामीले आफ्नो देश जानैपर्छ । तर बाध्यता छैन भने केही दिन कुर्नुहोस् भनेर हामीले भनिरहेका छौं । 

अनि जो व्यक्ति सङ्क्रमण भएका छन्, उनीहरुबाट एकदमै बचौँ र जो व्यक्ति सङ्क्रमित छन् उनीहरुले आत्मबल बढाऔँ । सुरुमै डाक्टरसँग परामर्श लिएर समयमै औषधि खानुपर्छ ।

जस्तो सुकै दीर्घरोग भए पनि चाँडै उपचार गर्यो भने यो निको हुने सम्भावना धेरै बढी छ । यस्तै मानसिक तनावलाई पनि नियन्त्रण गर्नुपर्छ । यसको लागि हामीले अरु विभिन्न काममा लाग्ने, मनोचिकित्सकको सल्लाह लिने । एन्जाइटी, डिप्रेसन लगायत धेरै कुराको औषधि छ । त्यसैले आवश्यक औषधि समयमै लिनपर्छ ।

हाम्रो जोड भनेको सङ्क्रमण हुनबाट बच्ने हो । त्यही अनुपातमा अस्पतालमा यसको दबाब कम हुन्छ, स्वास्थ्यकर्मीहरुलाई पनि यसको दबाब कम हुन्छ । समाजमा हुने त्रास पनि कम हुन्छ । त्यसैले सङ्क्रमण हुनबाटै हामीले जोगिनुपर्छ । सङ्क्रमण भइहाले पनि चाँडोभन्दा चाँडो उपचार गर्नुपर्छ । 

त्यही भएर कन्ट्र्याक्ट ट्रेसिङ एकदमै महत्वपूर्ण हुन्छ । सङ्क्रमित व्यक्तिसँग कम्तीमा दुई फिटसम्म सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिचान गरेर उहाँहरुलाई आइसोलेसनमा बस्न लगायो भने यो रोग फैलिनबाट बच्छ । अहिले स्वस्थ भएका व्यक्तिलाई फेरि सङ्क्रमण भएर सङ्क्रमणको दर बढ्नु भनेको ‘सेकेण्ड वेभ’ हो । त्यसैले हामीले यो अवस्था आउन दिनु हुँदैन । यस्तो हुन नदिन हामीसँग प्रशस्त उपाय छन्, त्यो हामीले गर्नुपर्छ ।

विदेशबाट घर फर्कनेले के कुरामा ध्यान दिने ?

हामीले यहाँ सबैलाई आवश्यकता छैन भने आफू रहेको देशमै बस्न आग्रह गरेका छौं । जसलाई जानैपर्ने आर्थिक, सामाजिक तथा स्वास्थ्य सम्बन्धी समस्याका कारण बाध्यता छ भने स्वदेश फर्किंदा ठिक हुन्छ । नेपालमा पनि कोरोना लागेको छैन भन्ने होइन । त्यहाँ पनि सङ्क्रमण फैलिरहेको छ । एक दिन त हामीले आफ्नो देश जानैपर्छ । तर बाध्यता छैन भने केही दिन कुर्नुहोस् भनेर हामीले भनिरहेका छौं । 

यस्तै जानै पर्दा हामीले चार मुख्य कुरामा ध्यान दिनुपर्छ । पहिलो त सङ्क्रमण मुक्त भएर, टेष्ट नेगेटिभ आएपछि मात्र जानुस् । यस्तै यात्रा गर्दा जहाजमा सबै कुराको सावधानी अपनाउनुहोस् । नेपाल गएपछि आफूलाई आइसोलेसन र १४ दिनसम्म सेल्फ क्वरेण्टीनमा बस्नुहोस् र आफू सङ्क्रमणमुक्त भएपछि मात्र समाजमा घुल्नुहोस् भनेर हामीले निर्देशिकाहरु दिएका छौं । 

नेपालमा पनि सङ्क्रमणको दर बढिरहेकाले हामी आफै सङ्क्रमित भएर गयो भने त्यसको दबाब नेपाललाई पर्छ, त्यो हामी चाहँदैनौँ । तर विभिन्न कारण जस्तै गर्भवती, बच्चा भएका महिला, दीर्घरोगी, वृद्ध तथा अवैधानिक भएकाहरुले जानैपर्ने हुन्छ । यस्ता समस्या भएकाहरु जाने क्रम चलिरहेको छ ।

हामीले उहाँलाई सावधानी अपनाउन भनेको छौं र त्यसै अनुसार उहाँहरुले पनि सावधानी अपनाइरहनुभएको छ । तर व्यक्ति सङ्क्रमित छ भने त्यसले असर गर्छ नै । सङ्क्रमण हुनबाट बच्नको लागि मास्क लगाउने, हात धुने, दूरी कायम गर्ने जस्ता जुन उपाय छन्, ती उपायहरुलाई हामीले पछिसम्म कायमै राख्नुपर्छ । सङ्क्रमण भइहालेको खण्डमा नआत्तिकन चाँडोभन्दा चाँडो उपचार गर्न आग्रह गर्न चाहन्छु ।

(डा. सापकोटासँग कार्यक्रम देश परदेशका लागि सन्जिता देवकाेटाले गर्नुभएकाे कुराकानीमा आधारित ।)

डा. सञ्जिव सापकोटा

डा. सापकोटा गैरआवसीय नेपाली संघ अन्तर्गतकाे स्वास्थ्य समितिका संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया