बाकस भित्र फर्कंदाको पीडा

 असार १३, २०७७ शनिबार १७:१९:५४ | शान्ति सिंह
unn.prixa.net

पैसा राख्ने बाकस भित्र मान्छे परेपछि

आश भरोसा के रह्यो र लास बनेपछि ।

जाँदा टिकाटालो अनि आशीर्वाद नि लिएकै थियौ

परिवारको एउटै आशा मात्र तिमी, तिमी थियौ ।

बाटो हेर्दै प्रियसीले कति दिन गनिन् होला

कठै सबैको रूवाबासी कस्तो बिडम्बना होला ।

छातिभित्र आगो बल्छ, भत्भतिंदै मन पोल्छ

कठै तिम्रो भाग्य कस्तो विधाताले विष घोल्छ ।

सपना थियो खरको छानो जस्ताले सजाउने

यस्तो सपना टुटाएर कसरी शोक मनाउने ?

गरिबीलाई मेटाउन बाध्ताले परदेश गयौ

कठै तिम्रो जिउँदो शरीर मात्र एउटा लास भयौ ।

डाँको छोडी रूनुपर्ने मात्र एउटा बेला भयो

खोक्रो भाको तिम्रो शरीर धन्न आज नेपाल आयो ।

कसरी हो छाक टार्ने अनि, को भनेर मन बुझाउने

अलाप विलाप गर्दै यादमा आँसु भयो तन रूझाउने ।

जतिसुकै रोए पनि बाटो छैन फर्की आउने

कसैलाई नि नदेउ दैब यस्तै पीडा मन रूवाउने ।

शान्ति सिंह

सिंह प्रवासी नेपाली समन्वय समितिमा कार्यक्रम अधिकृत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया