मलेसियामा अवैधानिक भएकालाई वैधानिक बन्ने या घर फर्कने अवसर, यस्तो छ प्रक्रिया

 मंसिर ३०, २०७७ मंगलबार १२:३८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ मलेसियामा अवैधानिक रुपमा काम गरिरहनुभएको छ भने मलेसिया सरकारले अवैधानिक श्रमिकलाई दिएको अवसरको फाइदा उठाउनुहोस् ।

मलेसिया सरकारले मलेसियामा अवैधानिक रुपमा काम गरिरहेका श्रमिकको व्यवस्थापनाका लागि दुई वटा कार्यक्रमको घोषणा गरेको छ । जसअन्तर्गत अवैधानिक श्रमिकले कि त निश्चित प्रक्रिया पूरा गरेर तोकिएको जरिबाना तिरी मलेसियामै वैधानिक भइ काम गर्न सक्नेछन् ।

अर्को चाहिँ सहुलियत दरको जरिबाना तिरेर आफ्नो देश फर्कन सक्नेछन् । घर फर्कन चाहने श्रमिकले पाँच सय मलेसियन रिंगिट अर्थात आजको विनिमय दर अनुसार १४ हजार ४५९ रुपैयाँ तिरेर स्वदेश फर्कन सक्नेछन् । यो मलेसिया सरकारले दिएको ठूलो अवसर हो ।

सामान्य अवस्थामा अवैधानिक रुपमा मलेसियामा बसेका व्यक्तिले मलेसियाको अध्यागमन कानुन अनुसार बढीमा १० हजार मलेसियन रिंगिट अर्थात झण्डै २ लाख ९० हजार रुपैयाँसम्म जरिबाना वा पाँच वर्ष कैद वा दुवै सजाय भोग्नुपर्ने हुन सक्छ ।

तर अहिले यो अवसरको सदुपयोग गरेर घर फर्किएमा अध्यागमनलाई अवैधानिक श्रमिकले पाँच सय रिंगिट मात्र बुझाउँदा हुन्छ ।

यस्तो छ घर फर्कने प्रक्रिया

http://sto.imi.gov.my मा गएर सबैभन्दा पहिला अनलाइन अपोइन्टमेन्ट लिनुपर्छ ।

आफूसँग यात्रा अनुमतिपत्र या पासपोर्ट छ भने सिधै यो अपोइन्टमेण्ट लिन सकिन्छ । तर यदि छैन भने मलेसियाको क्लाललाम्पुरमा रहेको नेपाली दूतावासमा गएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ । यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगिट दस्तुर तिर्नुपर्छ ।

त्यसपछि आफ्नो अपोइन्टमेन्टको दिन आवश्यक कागजातहरु लिएर आपोइन्टमेन्ट लिएको अध्यागमन कार्यालय जानुपर्छ । मलेसियन सरकारले तोकेको पाँच सय रिंगिट जरिबाना शुल्क तिरेपछि घर फर्कने चेकआउट मेमो लिन सकिन्छ ।

र नेपाल फर्कनका लागि साथमा चेकआउट मेमो, हवाई टिकट र ७२ घण्टा भित्रको कोभिड पीसीआर नेगेटिभ रहेको रिपोर्ट चाहिन्छ । विमानस्थलमा जाँदा सीसीएमसीले परदेशबाट फर्कनेका लागि तोकेको फारम भर्नुपर्छ ।

यसरी लिनुहोस् अपोइन्टमेन्ट

मलेसियन अध्यागमन विभाग वा कार्यालयको अपोइन्टमेन्ट लिन आफनो पासपोर्ट वा ट्राभल डकुमेण्ट तयारी राख्नु पर्छ ।

मोवाइल या कम्प्युटरमा इन्टरनेट ब्राउजर खोल्ने । त्यहाँ http://sto.imi.gov.myलिंक क्लिक गर्ने । आफ्नो पायक पर्ने अध्यागमन कार्यालय छान्ने । त्यसमा program rekalibrasi pulang छान्ने र उपयुक्त मिति छान्ने ।

सबै विवरण भरेपछि सबमिट गर्ने र कन्फर्मेशन प्रिन्ट गर्ने । मोवाइलमा भएमा स्क्रिनसट पनि लिन सकिन्छ । यो अध्यागमन कार्यालय जाँदा साथैमा लैजानु पर्छ । आफूले लिएको समयमा अध्यागमन कार्यालय जाँदा पनि पासपोर्ट या ट्राभल डकुमेन्टको प्रतिलिपि चाहिन्छ ।

कोरोना जाँच गरेको रिपोर्ट र १४ दिनभित्र स्वदेश फर्कने गरी घर फर्कनका लागि काटेको टिकटको प्रतिलिपि पनि आवश्यक पर्छ । जरिबाना भने बैंक कार्डमार्फत पनि तिर्न सकिन्छ । यसबारेमा थप बुझ्न परेमा मलेसियामा रहेको नेपाली दूतावासको श्रम शाखामा ०३२०२०१८९८, ०३२०२०१८९९ वा ०३२०२०१९०१ मा सम्पर्क गर्न सकिन्छ । दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ मा पनि सम्पर्क गरेर आफूलाई आवश्यक सहयोग र जानकारी लिन सकिन्छ ।

थप बुझ्न यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया