‘परदेशीका श्रीमतीलाई आफ्नै गाउँका छोरी, बुहारी सम्झेर व्यवहार गर्न जरुरी छ’

 असार ३१, २०७८ बिहिबार १७:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

पुरुषहरू कमाउन विदेश हिँडेपछि महिलामाथि घरको कामको बोझ अरू थपिएको छ । बालबच्चाको रेखदेख, घाँस दाउरा, मेलापात, खेतीपाती र सामाजिक, सांस्कृतिक व्यवहारका काम गर्ने महिलाको सङ्ख्या दिनदिनै बढ्दै छ, तर परदेशीका श्रीमतीले थामेको कामको कदर गर्नुको साटो समाजले चाहिँ महिलाको चरित्रमाथि औँला उठाउँछ । सुकिलो लुगा लगाउँदा, मिठो खादा अनि घरबाट बाहिर निस्कँदा पनि समाजले लगाउने अनेक लाञ्छनाको सिकार भएका छन् महिलाहरू । वैदेशिक रोजगारीमा गएका घरका महिलाले भोगिरहेका सामाजिक लाञ्छना र अवहेलनाको विविध पाटोमा समाजशास्त्र डा. मीना पौडेलसँग गरिएको कुराकानी ।

***

पुरुष वैदेशिक रोजगारीमा गएका घर महिलालाई समाजले हेर्ने दृष्टिकोण र गरिने व्यवहार कस्तो छ ?

यसमा धेरै वटा पक्ष छन् । भर्खरै बिहे गरेर श्रीमान् परदेश गएका छन् भने एक त महिलाका लागि श्रीमानको घर नयाँ,  ठाउँ नयाँ र परिवेश पनि फरक हुन्छ ।

बिहे गरेको केही समय भयो र बालबच्चा पनि छन् भने पनि श्रीमान् परदेश गएपछि घर व्यवहार सम्हाल्दै अघि बढ्ने महिलाहरू आफूलाई एक्लो महसुस गर्छन् । श्रीमान् नहुँदा सहारा छैन, म एक्लै छु, मलाई केही भयो भने साथ दिने मानिस छैन जस्ता कुराहरूले महिलाहरूलाई मानसिक तनाव भइरहेको हुन्छ । 

त्यसमाथि समाजले पनि महिलालाई त्यस्तै व्यवहार गर्छ । जस्तै फलानोको श्रीमान् बाहिर गएको छ, यसलाई जे भन्दा पनि हुन्छ, जे बोल्दा पनि हुन्छ  यसको बोलिदिने मानिस छैन, भनेर हेप्ने गरिन्छ । अनि विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रमहरूमा जस्तै बन उपभोक्ता समितिहरुमा, सहकारीका बैठकहरूमा नबोलाउने, यसको श्रीमान् छैन, त्यो घरबाट अनुपस्थित भनिदिने, श्रीमतीलाई मान्यता नदिने जस्ता व्यवहार पनि भएको पाइन्छ । यसले महिलाहरूलाई थप तनाव दिने र एक्लिने देखिन्छ । 

 उनीहरूले नयाँ फरिया लगाउँदा पनि, चुरा पोते लगाउँदा पनि अनेक खालका कुरा काट्ने गरिन्छ । श्रीमान् घरमा नहुँदा महिलालाई दोहोरो जिम्मेवारी हुन्छ । 

अर्को सबभन्दा ठुलो समस्या भनेको सामाजिक हिंसा भएको छ । यो भन्नाले एक्लै छ, यही हो मौका भनेर पैसा पनि श्रीमानले पठाएको छ भनेर लैङ्गिक दृष्टिकोणदेखि, यौन हिंसा, यौन शोषणदेखि लिएर भएको पैसा लुट्ने, ललाई फकाई गर्ने, डर धम्की दिने र कसरी हुन्छ चुस्ने प्रवृत्ति पनि देखिएको छ । यस्तो व्यवहार विवाह पछि संयुक्त परिवारमा नबसी एकल रूपमा बालबच्चा सम्हालेर बसिरहेका महिलामाथि धेरै भएको देखिन्छ । 

 उनीहरूले नयाँ फरिया लगाउँदा पनि, चुरा पोते लगाउँदा पनि अनेक खालका कुरा काट्ने गरिन्छ । श्रीमान् घरमा नहुँदा महिलालाई दोहोरो जिम्मेवारी हुन्छ । 

घरभित्र र बाहिरी व्यवहार पनि धान्नुपर्छ । तर समाजले चाहिँ हेर हेर उसको श्रीमान् बाहिर छ, यहाँ मस्ती गरेकी, फलानो सँग हिँडेकी भनेर विभिन्न लाञ्छना लगाउने कुरा काट्नेहरू बढी हुन्छन् । 

तर यसरी घर चलाएर बसेका महिलाहरूलाई बाध्यता के हुन्छ भने बिजुलीको बिल पनि तिर्नै परेको छ, खेताला खोज्न पनि जानै परेका छ, अनि बच्चाको स्कुलको फिस तिर्न पनि जानै परेको छ । सहकारीको बैठक, गाविस, नगरपालिकादेखि वडासम्म पनि पुग्नै परेको हुन्छ । 

सामान्यतया यी काम घरमा पुरुषहरू हुँदा उनीहरूले गर्छन् । तर उनीहरु छैनन् भनेपछि त महिला आफैँले गर्न पर्ने दोहोरो जिम्मेवारी छ । तर यसरी सबै बोझ उठाएर अघि बढिरहेका महिलालाई सामाजिक सांस्कृतिक दृष्टिकोणले बाठी भएर आइ भन्ने, अनि श्रीमान् छैन मोज मस्ती गरेर हिँडेको छ भन्ने र हेयको दृष्टिले हेर्ने, कुरा काट्ने, खिसिटिउरी गर्ने प्रवृत्ति हाम्रो समाजमा छ । 

श्रीमान् कमाउन गएपछि घर व्यवहार, बालबच्चा सबै सम्हालेर श्रीमानलाई कमाउन सघाउने महिलाको योगदानको कदर गर्नुको साटो हाम्रो समाजमा किन उनीहरूलाई नकारात्मक व्यवहार गरिन्छ ? उनीहरूलाई गर्नु पर्ने सही व्यवहार कस्तो हो ?

परदेशीकी श्रीमती पनि त्यही गाउँको छोरी, चेली, बुहारी र महिला हो । यसमा विशेष व्यवहार गर्नुपर्छ भन्ने छैन । हिजो श्रीमान् घरैमा छँदा जस्तो व्यवहार गरिन्थ्यो त्यस्तै व्यवहार गर्दा हुन्छ । तर यहाँ त श्रीमानको अनुपस्थितिमा विभिन्न नकारात्मक टीकाटिप्पणी गर्ने नकारात्मक प्रवृत्ति छ ।

हिलाको एकल पहिचानलाई अस्वीकृत गरिएको हो । अस्वीकृति गरेपछि जस्तो व्यवहार गरे पनि भयो । हेला गरे पनि भयो, जस्तो व्यवहार गरे पनि भयो ।

यो हाम्रो समाजमा महिलाहरूलाई हेर्न एउटा ऐना मात्र हो यो । श्रीमान् घरमै छ भने श्रीमान् उसको सुरक्षा कवच भइदिन्छ । श्रीमान् छ त्यस कारण उ सुरक्षित छ भन्ने तरिकाले समाजले हेर्छ । तर श्रीमान् नभइसकेपछि यसको बोल्दिने कोही छैन, सहारा छैन भनेर हेप्न थाल्ने एक खालको हेपाहा प्रवृत्ति छ । 

वैदेशिक रोजगारीमा जाने हुन् या गाउँ छाडेर काठमाण्डौमा रोजगारी गर्ने आउने हुन्, रोजगारीका लागि घर परिवार छाडेर एक ठाउँबाट अर्को ठाउँमा जाने यो आप्रवासनकाे एउटा प्रक्रिया हो । तर मूल रूपमा महिलालाई समाजमा यो मान्छे हो, उसको अस्तित्व छ, उसको स्वाभिमान छ भनेर स्वीकार्दैन ।

पुरुषसँग गाँसिएको अस्तित्व र पुरुषसँग जोडिएको पहिचान भएको हुँदा  यस्तो भएको हो ।  महिलाको एकल पहिचानलाई अस्वीकृत गरिएको हो । अस्वीकृति गरेपछि जस्तो व्यवहार गरे पनि भयो । हेला गरे पनि भयो, जस्तो व्यवहार गरे पनि भयो । सिङ्गो समाजमा महिलाको आफ्नो पहिचानलाई नस्विकारेको सङ्केत हो यो । 

परदेशीका श्रीमतीलाई यस्तो व्यवहार गर्ने को हुन्छन् बढी ?

सबैभन्दा बढी नजिकका छर छिमेकीहरूले यस्तो व्यवहार गरेको पाइन्छ । छरछिमेक प्रभावले र दबाबले अनि आफ्नो परिवारले पनि यस्तो व्यवहार गर्न थाल्छ । 

विभिन्न अध्ययन र मेरो आफ्नो अध्ययन अनुसार पनि परिवारका सदस्य, जेठाजु, जेठानी वा नजिकका आफन्तले पनि सबैभन्दा पहिला हेला गर्न सुरु गरेका छैनन् । समाजले तेरो मानिस यस्तो भनेर कुरा काट्न थालेपछि परिवार भित्र पनि त्यो किचलो सुरु हुन्छ ।

त्यस कारण सबैभन्दा पहिला त सुरुवात गर्ने चाहिँ सबैभन्दा नजिकको छिमेकी हो । त्यसपछि वल्लो टोल पल्लो टोल हुँदा हुँदै माइतीतिर पनि पुग्छ । त्यो यति छिटो फैलन्छ कि नकारात्मक व्यवहारको सङ्क्रमण यति छिटो फैलन्छ कि सारा समाजले  उसलाई नकारात्मक हिसाबले हेर्ने थाल्छ । 

आजकाल हाम्रो समाजमा धेरैको घरको चुलो रेमिट्यान्सबाट बल्छ । तर तिनै रेमिट्यान्स पठाउनेका घरका महिलालाई गाउँ समाजमा यस्तो व्यवहार हुँदा यसको असर महिला स्वयम् र समाजमा कस्तो पर्छ ?

यसले विभिन्न खालका असर पर्छ । सबभन्दा ठुलो असर त व्यक्ति स्वयंमा पर्छ । उसको मानसिक तनाव, नैराश्यता, दिक्दारी र हैरानी उसमा देखिन्छ । 

 शान्तिपूर्ण तरिकाले बस्न नपाउने, सुत्न सक्दिन म राती, दिनभरि त म काममा व्यस्त हुन्छु, बिर्सन खोज्छु तर राती चाहिँ श्रीमान् नहुँदा गाउँ समाजले गरेको अवहेलनाले मलाई छटपटी हुन्छ भन्नुहुन्छ कतिपय महिलाहरू ।

स्वास्थ्य सँगसँगै अर्को भनेको श्रीमानसँग गर्नु पर्ने व्यवहार पनि फरक भएको पाइन्छ । धेरै त हैन तर केही केशमा यस्तो पाइएको छ । आफू एक्लै भएको दिक्दारी हैरानी अनि  कहिलेकाहीँ रिस उठ्ने र श्रीमानसँग फोनमा कुरा हुँदा पनि यो कुरा व्यक्त हुँदो रहेछ । 

श्रीमान् परदेश जाँदा केही समयका लागि एक्ली भएकी महिला एकातिर र हाम्रो सिङ्गो समाज एकातिर हुन्छ । यो लडाइ ठुलो छ । हाम्रो समाजमा कानुनभन्दा पनि सामाजिक सांस्कृतिक मूल्य मान्यता कडा र बलिया छन् यसलाई तोड्न समय लाग्छ । 

म एक्लै छु । यहाँ एक्लै यहाँ घर व्यवहार चलाउदा मलाई कति दुःख भएको छ तिमीले देखेको छैन भनेर फोनमा पनि भन्ने रहेछन् । त्यो गुनासो कहिलेकाहीँ रिसको रूपमा व्यक्त हुँदा श्रीमान् श्रीमती बिचमा पनि अशान्ति हुने, हैरानी हुने र श्रीमतीले आफ्नो हैरानी श्रीमानलाई सार्ने हुँदा श्रीमानलाई पनि तनाव हुन्छ । 

अर्को भनेको चाहिँ शङ्का उपशङ्का सृजना हुने हुन्छ । ए म नभएको बेलामा त्यहाँ यस्तो गरेको भन्ने कुराहरू आउँछ । फलानोसँग बोलिस्, हिँडिस् भनेर श्रीमानले पनि भन्न थाल्छन् । स्कुलमा गएर केही विषयमा छलफल गरेको हो गफ गर्न गइस् भन्ने, ए फलानोसँग बोल्दा राम्रोसँग बोल्ने मसँग चाहिँ रिसाउने भनेर श्रीमानले पनि शङ्का गर्ने हुन्छ । कतिपय घटना त यस्ता पनि छन् कि यो घाउ बढ्दै बढ्दै गएर यति गहिरो हुन्छ कि सम्बन्ध विच्छेदसम्म पनि पुगेको पाइएको छ ।

अर्को भनेको त्यसको असर बच्चामा पनि पर्ने । बच्चाहरूसँग पनि चिढिने र श्रीमान् श्रीमतीबीच भएको संवादको असर बच्चाहरूमा पर्ने अर्को समस्या छ । यसको असरको बाछिटा नातेदारमा पनि पर्छ । 

त्यसले गर्दा बाहिरबाट हेर्दा केही देखिन्न तर भित्र भित्रै सम्बन्ध परिवर्तन हुने, धेरैजसो नकारात्मक परिवर्तन हुने र सम्बन्धहरू बिग्रने अनि हैरान भएपछि महिलाहरू घरबाट निस्केर डेरामा बस्नु पर्ने, सहयोगी माइती छन् भने माइत गएर बस्ने र यसले गर्दा झन् सम्बन्ध बिग्रने, सम्बन्ध विच्छेदका कुराहरू र कतिपयले आत्महत्याको प्रयास भएको पनि पाइन्छ ।

कोही हुँदैन श्रीमानले पनि मेरो कुरा सुन्दैन, आफन्तले पनि बुझ्दैनन्, खिसिटिउरी गर्छन् अनि त्यसले गर्दा म कहाँ जानु भनेर एकदमै आफूले आफूलाई कमजोर ठानेको पनि पाइन्छ । डिप्रेशनमा जाने, औषधी खानु पर्ने स्थिति पनि छ । दुई तीन वर्षपछि श्रीमान् फर्कँदा  श्रीमान् श्रीमतीबीचको सम्बन्ध सहज नभइदिने समस्या देखिएको छ  सामाजिक कारणले गर्दा सम्बन्ध र स्वास्थ्य दुवैमा असर गरेको छ । यसले कतिपयको त जिन्दगी नै वर्वाद भएको पनि छ । 

सम्बन्ध विच्छेद  गरेकाहरू त आफ्नो आफ्नो बाटो लागेका छन् तर यी सबै कुराहरूलाई  दबाएर सहेर बस्नेहरूको सम्बन्ध नसुध्रिएको हैन सुध्रिएको छ । तर धेरै समय, धेरै लगानी गर्नु परेको अवस्था चाहिँ  छ । मायालु वातावरण बनाउन र सम्बन्ध सुमधुर बनाउन धेरै समय खर्चनु परेको अवस्था छ ।

परदेशीका श्रीमतीमाथि भइरहेका यस्ता व्यवहारमा परिवर्तन ल्याउन कसले के गर्न सक्छन् ?

सबभन्दा पहिला त जो प्रभावित छ, जसलाई असर गरेको छ उसले नै सुरुवात गर्ने हो । तर हामीले भनेजस्तो सहज छैन । परामर्श लिने, सहजकर्ताकोमा जाने त्यो पनि चलाएको पनि देखिन्छ । तर सहज छैन । यसमा धेरै ठुला कुरादेखि मसिना कुरा पनि गर्नुपर्ने हुन्छ । ठुला कुरा भनेको समाजले आप्रवासनमा गएका पुरुष र उनीहरूका घरका महिलालाई हेर्ने दृष्टिकोण फेरिन जरुरी छ । तर यो एकदमै ठुलो कुरा हो ।

यो आजको भोलि हुँदैन । सानो कुरा भनेको दुई जनाबीच निरन्तर कुरा गर्ने जो आप्रवासनमा गएको छ र जो घरमा हुनुहुन्छ उहाँहरूले विश्वासको वातावरणलाई टुट्न नदिने गर्न सक्नुहुन्छ । 

समाज यस्तै हो, यो समाज यस्तै हुँदा पनि मैले गल्ती गरेका छैन र हाम्रो सम्बन्धलाई टुट्न दिनुहुँदैन भनेर लाग्नुपर्छ ।  

परिवारको ठुलो भूमिका रहन्छ यसमा । महिला त नयाँ हुन्छ, आफ्नो घर परिवार छाडेर त्यो घरमा आएको हुन्छ । त्यस कारण उसलाई सहज वातावरण बनाउनको लागि पुरुषले नै भूमिका खोल्नुपर्छ । 

यसको चुरो कुरो भनेको निरन्तर संवाद र विश्वासलाई टुट्न नदिने हो । अरू परामर्श गर्ने लगायतका कुरा भनेको ती मलम पट्टीहरू दीर्घकालीन हुँदैनन् । मुख्य रूपमा आफूहरूबीचको विश्वासलाई टुट्न दिनुहुँदैन । कतिपयले धेरै प्रयास गरेका पनि छन् । बाहिर जति कुरा काटे पनि श्रीमानको कान जति फुके पनि खिसिटिउरी गरे पनि उनीहरूले हामी दुई जना बिचको कुराकानी नै सत्य हो भनेर आफ्नो सम्बन्ध र घर व्यवहारलाई अझ मजबुत बनाएका छन् ।

एउटा समाजमा बसेपछि एकले अर्काको आदर र सम्मान गर्न पर्छ र सकैलाई पनि अभद्र व्यवहार गर्न पाइँदैन । तर यो वातावरण छैन हाम्रो समाजमा ।  कानुनमा यसो गर्न पाइँदैन भनेर छ । संविधानले पनि यस्तो हुनुहुँदैन, अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने  कुराहरू मोटो रूपमा लेखेको छ ।

तर कानुनले भन्ने कुरा, त्यसमा लेखिएको कुरा र हामी बाँच्ने समाजको बिचमा ठुलो खाडल छ । यस कारणले गर्दा यी कुराहरू कानुनीभन्दा पनि सामाजिक, सांस्कृतिक मूल्य मान्यताका कुराहरू छन् । जसले गर्दा महिलाको अस्तित्व र महिलाको पहिचानलाई सामाजिक सांस्कृतिक रूपमा परिभाषित गर्दैन ।

म त फेरि पनि भन्छु मुख्य कुरा भनेको आफ्नो आत्मविश्वास डगमगाउन नदिएर एक अर्काबीच निरन्तर अन्तरक्रिया र संवाद गरी विश्वास कायम राख्नुपर्छ ।

श्रीमान् परदेश जाँदा केही समयका लागि एक्ली भएकी महिला एकातिर र हाम्रो सिङ्गो समाज एकातिर हुन्छ । यो लडाइ ठुलो छ । हाम्रो समाजमा कानुनभन्दा पनि सामाजिक सांस्कृतिक मूल्य मान्यता कडा र बलिया छन् यसलाई तोड्न समय लाग्छ । 

तपाईको प्रतिक्रिया