चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प : नेपालमा पनि धक्का महसुस
पुस २३, २०८१ मंगलबार
काठमाण्डौ – वैदेशिक रोजगार विभागमा भेटिनुभएका नुवाकोटका सुरेश सिटौला निराश देखिनुहुन्थ्यो । वैदेशिक रोजगारीको लागि युरोपेली देश पोर्चुगल जान एजेण्टलाई बुझाएको पाँच लाख रुपैयाँ फिर्ता पाइन्छ कि भन्ने आशा बोकेर आइतबार उहाँ विभागमा आइपुग्नुभएको हो ।
एक वर्ष पहिले काठमाण्डौको चाबहिलमा बस्दा दोलखाका रविन खड्का भन्ने व्यक्तिसँग उहाँको चिनजान भयो । चिया पसलदेखि भएको चिनजान एकअर्काको कोठामा आउने जानेसम्म लम्बियो । त्यही क्रममा रविनले युरोपेली देशमा राम्रो जागिरको लोभ देखाए । यस्तो मौका पछि आउँदैन भन्दै ऋण काढेरै भए पनि पोर्चुगल जान हौस्याए । सुरेशले केही आफूले काम गरेर बचाएको रकम र केही घरबाट ऋण निकाल्न लगाएर पाँच लाख रुपैयाँ रविनको हातमा थमाइदिए । पैसा पाएको एक हप्तासम्म सुरेशसँगै मिठा गफ गरिरहे रविनले । तर अहिले ६ महिना हुन थाल्यो आफ्नो अनुहार नै देखाएका छैनन् । बीचमा एक पटक फोन गरेर भिसा आउन थाल्यो थप तीन लाख रुपैयाँ मिलाऊ है भनेका थिए । सुरेशले ‘म जान्न बरु पैसा फिर्ता देऊ’ भन्ने कुरा गरेपछि उनी सम्पर्कमै छैनन् । त्यही उजुरी लेखाउन रमेश वैदेशिक रोजगार विभाग पुग्नुभएको हो ।
गएको फागुनमा मात्रै रमेश जस्तै एजेण्टको पासोमा परेर ठगीने ९७ जनाले विभागमा उजुरी दर्ता गराएका छन् । विभागका अनुसार वैदेशिक रोजगारीमा जाने क्रम बढ्दा ठगी भयो भन्दै विभागमा आउने उजुरीको सङ्ख्या पनि बढ्दो छ । ठग्नेहरुमा पनि इजाजतपत्र लिएका म्यानपावर व्यवसायीबाट भन्दा सरकारले खारेज गरिसकेको गैरकानुनी एजेण्टहरु रहेको विभागले तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षको फागुनसम्म मात्रै वैदेशिक रोजगारी सम्बन्धी ठगीका ६ सय ८६ वटा व्यक्तिगत उजुरी विभागमा दर्ता भएका छन् । म्यानपावर कम्पनीसँग नजोडिएका वा वैदेशिक रोजगारको काम गर्न अनुमति नै नलिएका व्यक्तिहरुबाट भएको ठगीलाई विभागले व्यक्तिगत ठगीको रुपमा मुद्दा दर्ता गर्छ । यस्तै, वैदेशिक रोजगारीमा श्रमिक पठाउन विभागसँग इजाजत लिएका म्यानपावर कम्पनीबाट भएको ठगीलाई संस्थागत उजुरीको रुपमा लिने गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा संस्थागत तर्फ ४ सय ८५ वटा उजुरी परेका छन् । ७८ वटा उजुरीको फरफारक(मुद्दा टुङ्गो लागेको) भएको छ । त्यसमध्ये ७५ वटा उजुरीमा विभागले एक करोड ८ लाख १५ हजार २२२ रुपैयाँ क्षतिपूर्ति भराइसकेको अवस्था छ । यस्तै तीन वटा उजुरीको मिलापत्र गराएको विभागले जनाएको छ । संस्थागत तर्फ ३ सय ८५ उजुरी अझै प्रक्रियामा रहेका छन् । यी उजुरीउपर ७२ लाख ९७ हजार ३५ रुपैयाँ माग दाबी गरिएको छ ।
संस्थागत ठगीको तुलनामा व्यक्तिगत ठगीको संख्या बढी छ । अघिल्लो आर्थिक वर्षमा ६९५ वटा व्यक्तिगत उजुरी विभागमा दर्ता भएका थिए । यो क्रम घटेको छैन । चालू आर्थिक वर्षको फागुनसम्म मात्रै ६ सय ८६ वटा व्यक्तिगत ठगीका उजुरी विभागमा दर्ता भएका छन् । यी उजुरीउपर पाँच करोड ९५ लाख ८ हजार रुपैयाँ बिगो दाबी गरिएको विभागले जनाएको छ ।
विभागमा दर्ता भएका व्यक्तिगत उजुरीमध्ये विभागमै खटिएका प्रहरीले २६५ जनालाई पक्राउ गरिसकेको छ । यस्तै चालू आर्थिक वर्षमा एक सय ६ सहित अहिलेसम्म दुई सय २० जनासँग मिलापत्र गरिएको विभागले जनाएको छ । १६ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको रकम मिलापत्रमार्फत विभागले पीडितलाई दिलाएको छ । यस्तै चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २३ करोड ९९ लाख ८६ हजार ७७१ रुपैयाँ बिगो दाबीसहित व्यक्तिगत उजुरीका एक सय ४७ मुद्दा विभागले अदालतमा दायर गरेको छ ।
यो त चालू आर्थिक वर्षको मात्रै व्यक्तिगत उजुरी र बिगो दाबीको कुरा भयो । अहिलेसम्म व्यक्तिगत ठगीका एक हजार ३८१ वटा उजुरी विभागमा दर्ता भएका छन् । यी उजुरीउपर एक अर्ब ६ करोड ३९ लाख ७० हजार रुपैयाँ बराबर रकम माग दाबी गरिएको विभागले जनाएकाे छ ।
वैदेशिक रोजगारीसम्बन्धी उजुरी धेरै भए, मुद्दाको चाङ बढ्दै गयो तर ठगी गर्नेलाई पक्राउगर्न समस्या हुँदा उजुरी फर्छ्याेटमा समय लाग्न लागेपछि प्रहरी नायव उपरीक्षक डीएसपीको कमाण्डमा विभागमै प्रहरी टोली राखिएको छ । तत्कालै ठगी भएको स्थानमा पुगेर अपराधीलाई पक्राउ गर्न सकियोस्, ठगीका घटनामा थप अनुसन्धान गर्न सजिलो होस् भनेर नै विभागमै प्रहरी टोली राखिएको हो । तर पनि उजुरी फर्छ्याेटको अवस्था अझै पनि न्यून छ ।
अहिले विभागमा आएका वैदेशिक रोजगारी सम्बन्धी ठगीमध्ये निकै कम मात्र उजुरी फर्छ्याेट हुने गरेका छन् । वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालका अनुसार २८ देखि ३० प्रतिशत उजुरी मात्र फर्छ्याेट हुने गरेका छन् । उहाँका अनुसार अपराधीलाई समातेर कानुनी प्रक्रियासहित अगाडि बढ्न समय लाग्ने र ठगीने क्रम निरन्तर बढीरहँदा फर्छ्याेटको प्रतिशत कम देखिएको हो ।
वैदेशिक रोजगारीमा नेपालबाट जनशक्ति पठाउनको लागि अहिलेसम्म १५ सय २० वटा म्यानपावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन् । तिमध्ये धेरैको कारोबार बन्द भएका छन् भने कति खारेज भइसकेका छन् । चालू आर्थिक वर्षमा मात्रै ६ वटा इजाजत प्राप्त संस्थाको कारोबार बन्द गरेको छ । यस्तै केही खारेज भएका छन् ।
विभागले संस्थागत ठगी रोक्नको लागि आकस्मिक अनुगमन गर्ने, पारदर्शीतालाई बढाउन विद्युतीय प्रणालीको प्रयोग गर्ने लगायत काम गरिरहेको छ । यस्तै विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीको आकस्मिक तथा नियमित अनुगमन गर्ने गरेको विभागले जनाएको छ । संस्थागत ठगीका उजुरीमाथि पीडितको तर्फबाट प्रमाण पुगे क्षतिपूर्ति भराउन सजिलो हुन्छ । कम्पनीले विभागमा राखेको धरौटी रकमबाटै क्षतिपूर्ति दिलाउने गरी ऐनमै व्यवस्था छ । तर व्यक्तिगत ठगीमा भने क्षतिपूर्ति पाउन पीडितलाई सजिलो छैन ।
वैदेशिक रोजगार विभागले एजेण्टको व्यवस्थालाई खारेज गरेको चार वर्ष हुन थालिसक्यो ।त्योभन्दा पहिले म्यानपारल कम्पनीले एजेण्ट राख्ने प्रावधान थियो । तर त्यसले गर्दा वैदेशिक रोजगारीमा हुने ठगी बढेको भन्दै त्यो प्रावधान खारेज भएको थियो । अहिले एजेण्टलाई वैदेशिक रोजगार ऐनले अपराध मानेको छ । तर पनि यसबाट ठगिने क्रम रोकिएको छैन । व्यक्तिगत ठगी रोक्न चुनौती भएको विभागका निर्देशक कृष्णप्रसाद भुसाल बताउनुहुन्छ ।
‘पीडितहरुसँग प्रमाण हुँदैन, प्रमाण नहुँदाकारबाही प्रक्रिया अगाडि बढाउन सकिँदैन, यस्तै ठगी गर्ने आफ्नै नजिकको मान्छे भएकाले कतिपयले त उजुरी नै गर्दैनन्’, भुसाल भन्नुहुन्छ, ‘संस्थागत ठगी भए उनीहरुको धरौटीबाट त झिकेर दिन मिल्छ, व्यक्तिगत ठगी गर्नेहरु त ठगेर फरार भइसक्छन् सुरुमा पक्राउ गर्नुपर्यो अनि बल्ल कारबाही हुन्छ, त्यसैले यसमा लामो समय पनि लाग्न सक्छ ।’ यही कारणले गर्दा उजुरी फर्छ्याेटमा ढिलाइ हुने उहाँको भनाइ छ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।