व्यापारीले माग्छन् तीन रुपैयाँमै किसानसँग काउली, १० रुपैयाँभन्दा कममा उठ्दैन मल–बीउकै लगानी

 कात्तिक ३०, २०७५ शुक्रबार १७:२७:० | किरण लोहनी
unn.prixa.net

गोरखा – किसानको माग अनुसारको मूल्यमा खरीद गर्न व्यापारी तयार नहुँदा गोरखाको घ्याल्चोकका किसानले उत्पादन गरेको तरकारी संकलन केन्द्रमै कुहिन थालेको छ ।

गण्डकी गाउँपालिका ७ घ्याल्चोकको ज्यामिरघाटका किसानले बिक्रीका लागि संकलन केन्द्रमा जम्मा पारेको तरकारी व्यापारीले किसानको माग अनुसारको मूल्यमा नकिनिदिँदा तरकारी संकलन केन्द्रमै कुहिन थालेको हो ।

त्यहाँको जनकल्याण साझा तरकारी उत्पादक कृषि सहकारी संस्थामा आवद्ध किसानले उत्पादन गरेको झण्डै १० टन काउली संकलन केन्द्र कुहिन थालेको वडा नम्बर ७ का वडाध्यक्ष तुलसी रेग्मीले बताउनुभयो ।

जनकल्याण साझा तरकारी उत्पादक कृषि सहकारी संस्थाका झण्डै १ सय किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । यो सिजनमा सबैजसो किसानले काउली खेती गरेका थिए । तर खुद्रा बजारमा ४० देखि ५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने काउलीका लागि व्यापारीले भने किलोको ३ रुपैयाँ मात्रै तिर्न सकिने बताएपछि दुई दिनयताको उत्पादन बजारमा पठाउन नसकिएको सहकारीका अध्यक्ष गोविन्द रेग्मीले बताउनुभयो ।

लगानी अनुसारको मूल्य नपाएपछि किसानले बिहीबार तरकारी बिक्री बहिष्कार गरेका थिए । बारीको काउली बजारमा नल्याएर बिक्री बहिष्कार गरेका किसानले ३ रुपैयाँ प्रतिकिलोमा बेच्दा लगानी समेत नउठ्ने बताएका छन् ।

‘तीन रुपैयाँमा बेच्नु र बारीमा कुहाएर फाल्नुमा केही फरक भएन’, रेग्मीले भन्नुभयो, ‘मल र बीउको समेत मूल्य नआउने देखिएपछि किसान निराश छन् ।’ प्रतिकिलो काउलीको मूल्य कम्तिमा १५ रुपैयाँ हुनुपर्ने माग राखेका किसानले शुक्रबार भने १० रुपैयाँ घटीमा नबेच्ने अडान राखेका थिए ।

किसानले न्यूनतम १० रुपैयाँभन्दा कम मूल्यमा बेच्न नसक्ने अडान राखेपछि व्यवसायीले काउली नकिनेका हुन् । ‘१० रुपैयाँ किलोमा बेच्न पाए कम्तिमा मल र बीउको लगानी उठ्छ’, सहकारीका अध्यक्ष रेग्मी भन्नुहुन्छ, ‘नर्सरीमा काउलीको एउटा विरुवा हुर्काउन मात्रै ३ रुपैयाँ खर्च हुन्छ, किसानको श्रम, अरु लगानी जोड्दा एक किलो काउली फलाउन २२ रुपैयाँसम्म खर्च हुन्छ ।’

उचित मूल्य पाउने आशमा बिक्री बहिष्कार गरेका किसानले शुक्रबार भने काउली संकलन गरेर बजारमा ल्याएका थिए । तर किलोको ३ रुपैयाँभन्दा बढीमा किन्न कुनै पनि व्यापारी तयार नभएपछि झण्डै १० टन काउली संकलन केन्द्रमै थन्किएको हो ।

लगानी अनुसारको प्रतिफल नआएकाले सरकारले राहत वा क्षतिपूर्ति दिनुपर्ने केही किसानको माग छ । बजारमा सुधार नआए यही अवस्थामा तरकारी खेती गर्न नसकिने किसानहरुको भनाई छ ।

‘सबैतिर एकैसाथ धेरै उत्पादन भएर भाउ पाउन नसकेको अवस्था हो, तर व्यापारीले हामीलाई पेलेका पनि हुन्’, रेग्मीले भन्नुभयो । संकलन केन्द्रमै कुहिने अवस्था आएपछि सहकारीले नै जिम्मा लिएर तरकारी बिक्रीको प्रयास थालेको छ ।

सहकारीका पदाधिकारीहरु गाडीमा राखेर आफैं आसापासका बजारमा बिक्री गर्न हिँड्ने तयारीमा रहेको अध्यक्ष गोविन्द रेग्मीले बताउनुभयो ।  १० रुपैयाँमा बिक्री गर्न सके मल र बीउको लगानी भए पनि उठ्ने भएकाले बजार खोज्दै हिँड्न लागेको उहाँको भनाई छ । गएको वर्षको यही सिजनमा ६८ रुपैयाँ प्रतिकिलोसम्म पुगेको काउलीको भाउ यो वर्ष खस्किएको हो ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया