दैलेखमा एउटै बँदेलले सात जनालाई टाेक्याे

 बैशाख ११, २०८१ मंगलबार १५:१४:९ | अमर सुनार
unn.prixa.net

बँदेलकाे टाेकाइबाट घाइते गणेश सिजाली

दैलेख – रातकाे समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएकाे बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ ।

आज मङ्गलवार दिउँसो भैरवी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयवासीलाई बँदेलले टाेकेकाे छ । एउटै बँदेलकाे टाेकाइबाट सात जना घाइते भएका छन् ।

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा टोलका बारीमा गहुँ काट्दै गरेका मानिसलाई बँदेलले टोकेको भैरवी गाउँपालिका–६ का वडाध्यक्ष तुलबहादुर हमालले बताउनुभयो । बँदेलको टोकाइबाट भैरवी–६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते भएका छन् ।

उनीहरू सबैजसोलाई लखेट्दै गर्दा बँदेलले पछिल्तिरबाट खुट्टाकाे भागमा टोकेको पाइएको पानीपोखरी प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) कर्णबहादुर रोकायले जानकारी दिनुभयो । घाइतेमध्ये छ जनाकाे स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ । गम्भीर घाइते भएका गणेशलाई थप उपचारका लागि सदरमुकाम ल्याउने पहल भइरहेकाे वडाध्यक्ष हमालले बताउनुभयाे ।

गएको फागुनमा भैरवी–६ घुम्नेखाली घरमै बसेकी पवित्रा कँडेललाई बँदेलले दायाँ खुट्टाको भाग र हातको औँलामा टाेकेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया