धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
इलाम – नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा शुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपचुनावमा विजयी भएसँगै सुहाङको संसद् यात्रा शुरु भएको हो ।
एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपचुनावमा बुबाको विरासत जोगाउँदै सुहाङकाे संसद् यात्रा प्रारम्भ भएको हो । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको हो । सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।
सुहाङको जन्म २०४६ साल फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाण्डाैमा भएको थियो । काठमाण्डाैकाे ग्यालेक्सी पब्लिक स्कुलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन शुरु गर्नुभएका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्नुभयाे । उहाँ ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अस्ट्रेलिया जानुभयाे । त्यहाँ दुई वर्ष बसेर उहाँ नेपाल फर्कनुभयो ।
स्वदेश फर्केर उहाँले काठमाण्डाै स्कुल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गर्नुभयो । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाउनुभएको थियो । सुहाङ पछिल्लो समय काठमाण्डाैकाे थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आउनुभएको थियो ।
सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्नुहुन्थ्यो । स्कुले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताउनुभएका सुहाङ अस्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुन थाल्नुभयो ।
उहाँले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गर्नुभयो । पछिल्लो समय उहाँ त्यही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गर्नुभएको थियो । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेसाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका हुनुहुन्छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाउनुभएको थियो । यद्यपि उहाँ राजनीतिक गतिविधिबाट भने टाढै हुनुहुन्थ्यो । सुहाङले यसअघिसम्म कुनै पनि चुनावमा मतदानसमेत गर्नुभएको थिएन । आफ्नै बुबा उम्मेदवार हुँदासमेत मतदाता नामावलीमा नाम दर्ता नभएकाले उहाँले मतदान गर्न पाउनुभएको थिएन ।
राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि नभएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर बुबा सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनपछि उहाँलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाउनुभएका नेम्वाङले कम उमेरमा नै संसद् छिर्ने अवसर पाउनुभएको छ ।
सालिन एवम् बौद्धिक नेताको छवि बनाउनुभएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रूपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ ।
आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उहाँको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उहाँको भनाइ छ । उहाँ आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउनुहुन्छ । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उहाँको भनाइ छ ।
अहिले सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका एक दाजु, एक दिदी र एक बहिनी हुनुहुन्छ । उहाँको दिदी सुसाङ पेसाले डेन्टल सर्जन हुनुहुन्छ भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।