मदिरा निषेधित पहिलो नगरपालिका

 मंसिर १, २०७५ आइतबार ५:४३:५१ | रासस

मुगु - मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ । 

नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीको उत्साहका साथ संस्कृति, बाजा झाँक्रीसहित कार्यक्रममा सहभागी थिए । नगरलाई मदिरा निषेधित नगर घोषणा गर्न दुई महीनादेखि स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाका सबै गाउँ बस्तीमा नियमित प्रचारात्मक अभियान थालिएको थियो । नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा कार्यक्रममा नगरपालिकाभित्रका पाँँच हजार बढी सर्वसाधारणको सहभागिता थियो । 

नगरलाई मदिरा निषेधित घोषणा गर्दा प्रदेश मुख्यमन्त्री शाहीले प्रतिबद्धतापत्र वाचन गर्दा उपस्थित सबैले उठेर वाचन गरेर मदिरा निषेधितमा प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा नगरका वडा नं ५ का वडाध्यक्ष डम्बरबहादुर रावलले मदिराकै कारण समाज उधो गतितिर गएको र समाजमा महिला हिंसा, बालविवाह, विकास दुरुपयोग, अनियमिता बढ्दै गएको निष्कर्षसहित गत असोज १ गते बसेको नगरसभाको निर्णय गरेअनुसार मदिरा निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो । 

विगतका चाडबाडभन्दा यो वर्षका चाडबाड नगरवासीले खुशी र उल्लासमा मनाएको स्मरण गर्दै यो अभियानमा सबै लाग्न प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आग्रह गर्नुभयो । 

नगर क्षेत्रलाई बिक्री क्षेत्र बनाएका नेपाल सरकारबाट मदिरा बिक्रीका लागि इजाजत प्राप्त २६ जना व्यवसायीले आफ्ना इजाजतपत्र नगरपालिकालाई बुझाएको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रत्नसिंह मल्लले बताउनुभयो । 

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद गोपालबहादुर बमले नगरपालिकाले मदिरा नियन्त्रण, व्यवस्थापन तथा निषेधित क्षेत्र घोषणा कार्यविधि २०७५ छायानाथ रारा राजपत्र सार्वजनिक गर्नुभयो । 

मदिरा पीडितको प्रतिनिधित्व गदै छायानाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाउँकी नन्दकला मल्लले आफूले १८ वर्षमा विवाह गरेको १० वर्ष नबित्दै श्रीमानको मदिरा सेवनकै कारण कलेजोमा क्यान्सर भएर मृत्यु भएको र साथमा रहेका चार बच्चाको कठिन सामना गर्दै पालनपोषण गरेको बताउनुभयो । 

कार्यक्रममा नगरपालिका–३ तुम गाउँका स्थानीय केशर रावलले विगतमा मदिरा सेवन गरेकामा पश्चाताप गर्दै १२ वर्षभन्दा लामो समयसम्म रक्सी सेवन गर्दा धन, इज्जत सबै गुमेको र आफ्ना बालबच्चाले राम्रो शिक्षा नपाएको तथा आर्थिकरुपमा आफ्नो परिवार कमजोर हँुदै गएको बताउनुभयो । उहाँले नगरपालिकाले घोषणा गरसँगै आफूले मदिरा सेवन छोडेको घोषणा गर्नुभयो । 

स्वर्ग भनेकै कर्णाली हो भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छायाँनाथ, चन्दननाथजस्ता प्रसिद्ध तीर्थस्थल रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा मानिस कासाका थाल, कासाका भाँडा, तामाका भाँडामा मार्सी चामल खाने क्षेत्र हो तर केन्द्रीय सरकारको उपेक्षाले क्रमशः कणाली गरीब भएको हो भन्नुभयो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया