प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : रघुवीर महासेठ र डीपी अर्यालसँग करोडौँको सम्पत्ति

 जेठ ८, २०८१ मंगलबार १८:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार मन्त्रिपरिषदमा रहेका सबै सदस्यमध्ये उपप्रधान एवम् भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री बन्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खातामा एभरेस्ट बैंक सिंहदरबारमा प्रतिनिधि सभाको सदस्यको हैसियतमा प्राप्त २५ लाख रुपैयाँ रहेको उल्लेख छ । यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा स्वर्गीय श्रीमती सीता दाहालको नाममा पैतृक सम्पत्तिबाट प्राप्त १४ कठ्ठा र भरतपुरकै वडा नम्बर १२ मा अशंबाट प्राप्त एक कठ्ठा जमिन रहेको उल्लेख छ । यस्तै पैतृक स्रोतबाट प्राप्त पाँच तोला सुन रहेको विवरणमा उल्लेख छ ।

यस्तै मन्त्रिपरिषदमा रहेका मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्री उपप्रधान एवम् भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठको विभिन्न ११ वटा बैंक खातामा दुई करोड २५ लाख रुपैयाँ रहेको उल्लेख छ । यो पैसा काठमाण्डौ ललितपुरको साविक सैँबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ । यस्तै पैतृक तथा उपहारबाट प्राप्त ४३ तोला सुन र साढे एक किलो चाँदी रहेको छ । यसका साथै उहाँसँग जवाहरात सात थान औँठी, तीन थान सिक्री, तीन जोडा कानमा लगाउने र दुई जोडा चुरा रहेको छ । यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ । पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा पाँच लाख शेयर, महिला लघुवित्त संस्थामा एक करोड रुपैयाँको शेयर, कर्पोरेट बैंक वीरगञ्जको दुई करोड ५० लाख रुपैयाँको शेयर रहेको छ । यी सम्पत्ति ऋण, सापटी, पैत्तृक र कृषिबाट प्राप्त भएको उल्लेख छ । महासेठले आफूसँग कुनै गाडी नरहेको र सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख गर्नुभएकाे छ ।

यस्तै अर्का उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा एक लाख २२ हजार नाै सय १८ रुपैयाँ ६४ पैसा रहेको खुलाउनुभएको छ । आज सार्वजनिक उहाँको सम्पत्ति विवरणमा पैतृक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणासमेत गर्नुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा उहाँको नाममा तीन कित्ता जग्गा छ । एउटा कित्ता ३१ रोपनी १५ आना, अर्को कित्ता एक रोपनी १० आना र अर्को कित्ता पाँच रोपनी सात आना छ । त्यसलाई उहाँले पैतृक भन्नुभएको छ । यस्तै २०५८ सालमै जग्गा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र अहिले प्रक्रियामा रहेको उहाँले बताउनुभएको छ । उहाँसँग कुनै पनि कम्पनीको शेयर वा धितोपत्र नभएको सम्पत्ति विवरणमा खुलाइएको छ । उहाँसँग बा १० च ५७९८ नम्बरको जीप छ, यो गाडी प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

यसैगरी उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा पाँच आना जग्गा रहेको उल्लेख छ । याे जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ । पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ । लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ । काठमाण्डाै महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी (सगोलमा) जग्गा पनि छ । सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले झन्डै ८० तोला सुन रहेको उल्लेख गर्नुभएकाे छ । यी सुन धेरैजसाे बुबाआमाबाट र केही खरिद गरिएको उल्लेख छ । यस्तै चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ । गृहमन्त्री रविका नाममा दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ । निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजार रुपैयाँभन्दा बढी रकम छ । निकिताको नाममा आठ करोड ७५ लाख रुपैयाँ बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ । चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख रुपैयाँ बैंकबाट कर्जा लिएको पनि उल्लेख छ । निकिताको नाममा ४२ लाख रुपैयाँमा कार २०७९ सालमा किनेको उल्लेख छ । निकिताकै नाममा तीन करोडकाे नारी टिभी, एक करोड रुपैयाँको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणअनुसार अर्थमन्त्री वर्षमान पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार छ सय १८ रुपैयाँ मौज्दात छ । याे रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको उल्लेख गर्नुभएको छ । त्यसैगरी उहाँको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा आठ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ । त्यसबाहेक पुनसँग एक थान हलुका गाडी पनि छ जसलाई उहाँले पार्टीको सम्पत्ति भन्नुभएको छ ।

यस्तै श्रम, रोजगार तथा सुरक्षामन्त्री डीपी अर्यालले आफ्नो सम्पत्ति विवरणमा १२ ठाउँमा रहेको जग्गा, काठमाण्डाैमा घर, सुन, बैंक खातामा रहेको नगद देखाउनुभएको छ । १२ ठाउँमा रहेको जग्गाको मूल्य पाँच करोड २८ लाख रुपैयाँ पर्छ । अर्यालसँग सुन एक सय ५० तोला, चाँदी एक सय ताेला र हिरा १० तोला रहेको छ । उहाँको नाममा विभिन्न कम्पनी, शेयर र अरू सम्पत्ति रहेको छ ।

यसैगरी वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले आफ्नो साथमा १२ बोरको एक थान बन्दुक (राइफल) रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र राजविराजमा श्रीमती र छोरासहितकाे गरी नाै वटा घर रहेको छ । उहाँले पेश गरेको विवरणमा १५ ठाउँमा जग्गा देखाइएको छ । छोरा–बुहारी र पत्नीको नाममा एक सय ५८ तोला सुन रहेको छ । उहाँले ८० लाख रुपैयाँ ऋण देखाउनुभएको छ ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको नाममा अचल सम्पत्ति नभएको खुलेको छ । उहाँले काभ्रेमा नाै लाख ९५ हजार रुपैयाँमा आठ राेपनी छ आना ३० पैसा क्षेत्रफलको जग्गा किनेको देखिन्छ । उहाँले याे जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गर्नुभएको छ । चल सम्पत्तितर्फ ११ तोला सुन रहेको उल्लेख गर्नुभएको छ । उहाँले २०७५ असार ८ गते विवाह हुँदा १० तोला सुन उपहार पाएको उल्लेख गर्नुभएको छ । त्यस्तै आफ्नी हजुरआमाको मृत्युपछि एक तोला सुन पाएकाे उहाँले विवरणमा लेख्नुभएको छ । एक सय तोला चाँदी विवाहमा उपहार पाएको पनि उल्लेख छ । उहाँसँग हिराको सेट र हिराको टप पनि छ । सुमनाको एनआईसी एशियामा रहेको बैंक खातामा एक करोड १५ लाख रुपैयाँ रहेको छ । त्यसको स्रोत पारिश्रमिक भएको उल्लेख छ । त्यस्तै एभरेस्ट बैंकमा पनि ३७ लाख रुपैयाँ छ । उहाँका श्रीमान् पावल लुकास स्काविन्सकीले बैंकमा एक सय ८९ दशमलव सात हजार डलर रहेको उल्लेख छ । श्रेष्ठको विभिन्न कम्पनीमा शेयर पनि रहेको विवरणमा उल्लेख गर्नुभएको छ ।

सरकारमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानले भने सम्पत्ति विवरण बुझाउन बाँकी रहेको छ ।

यसअघि जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न भन्दै छुट्टाछुट्टै पत्राचार गरेका थिए । त्यसपछि मन्त्रिपरिषद्को बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरी आज मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखेको हो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया