विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक नेपालमा हुने

 जेठ २७, २०८१ आइतबार १८:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को २१ औँ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको अहिलेसम्मकै ठूलो कार्यक्रम हो । आउँदो असार ४ देखि ७ गतेसम्म काठमाण्डाैमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ ।

आईडीएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । आईडीए बैठकमा उद्घाटन, बन्द सत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ ।

समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन हुनुहुन्छ । अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको छ ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्राे वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, नाै जना उपाध्यक्ष र पाँच जना निर्देशक वाशिङ्टनबाट नेपाल आउँदैछन् । यस्तै विश्व बैंकका लागि दाता रहेका ६० र साझेदार ९० भन्दा बढी देशका तीन सय जनाभन्दा धेरै प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिनुभयो ।

सन् १९६० मा स्थापना भएको आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका साथै आर्थिक विकासमा पछि परेका देशहरूका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी देशमा सहायता उपलब्ध गराउँदै आएको छ । आईडीएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ ।

यस पटक बैठकको प्रमुख एजेन्डा नेपालजस्ता विकासोन्मुख देशको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुशीको कुरा भएको बताउँदै कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया