नेपालले मन मात्रै जित्ने कि खेल पनि जित्ने ? विश्वकपमा पुग्नु नै ठूलो कुरा हो त ?

 असार ४, २०८१ मंगलबार ८:१०:१४ | अर्जुन पोख्रेल
unn.prixa.net

तस्बिर : क्यान

सात समुद्रपारीको क्रिकेट मैदानमा पनि पञ्चेबाजा घन्किए, नाचगान भयो । चन्द्रसूर्य अङकित झण्डा फहराइए, नेपाली क्रिकेट टोलीको जर्सी लगाएका हजारौँ समर्थकले क्रिकेटको उत्सवलाई महाउत्सव बनाइदिए । समर्थकको सङख्या र हाउभाउ हेर्दा विश्वकप क्रिकेट नेपालमै पो भइरहेको हो कि भन्ने झल्को मिल्थ्यो ।

क्रिकेटप्रति नेपाली समर्थकको अटुट समर्थन, लगाव र इमान्दारिताको विश्वभरी प्रशंसा भयो । विश्वका नाम चलेका पूर्व क्रिकेटरले पनि क्रिकेटमा नेपाल उदाउँदो तारा भएको बताए । आईपीएल क्रिकेटका टिमहरु चेन्नई सुपरकिंग्स, मुम्बइ इन्डियन्स, राजस्थान रोयल्स लगायतले नेपालको वाहवाही गरे ।

हुन पनि हो अमेरिकाको डालास, टेक्सस, फ्लोरिडा मात्र होइन, वेस्ट इन्डिजको किंग्सटाउनसम्म पनि समर्थकहरु नेपालको खेल हेर्न पुगेका थिए । तर नेपालले विश्वभरबाट प्रशंसा बटुल्यो, धेरैको मन जित्यो, खेल भने जित्न सकेन । कतिपयले नेपाल विश्वकपमा पुग्नु र ठूला देशसँग खेल्न पाउनु नै ठूलो कुरा भएको बताएका छन् । तर कतिपयले भने जित्नै लागेका खेल पनि हार्नु नेपालको कमजोरी भन्दै आलोचना गरेका छन् ।

समग्रमा यो पटकको टी–२० विश्वकप क्रिकेट नेपालको लागि कस्तो रह्यो त ?  २०१४ को टी–२० विश्वकपका सदस्य र राष्ट्रिय टोलीका पुर्व खेलाडी शक्ति गौचन नेपालको प्रदर्शन उच्च कोटीको रहेको बताउँछन् । नेपालको प्रदर्शन हेर्दा आफूले आलोचना गर्ने ठाउँ नदेखेको शक्ति गौचनले उज्यालो अनलाइनलाई बताए । ‘सबै कुरा ठिकठाक छ । अनुभवको कमीले गर्दा नेपाली टोली फिनिसिङमा चुकेको मात्र हो, बलिङ, ब्याटिङ र फिल्डिङको पाटोमा म नेपालको आलोचना गर्ने ठाउँ देख्दिन’ शक्तिले भने । 

सन् २०१४ को विश्वकपमा भन्दा यो विश्वकपमा नेपालले हरेक पक्षमा सुधार गरेको शक्तिको दाबी छ । दक्षिण अफ्रिका र बङ्ग्लादेशलाई आच्छु आच्छु पार्न सक्नुले नै नेपालको क्षमता प्रमाणित भएको शक्तिले बताएका छन् । 
बलिङमा त राम्रो भयो, ब्याटिङमा नेपाली टोलीमा समस्या देख्नुभएन ? उज्यालोको प्रश्नमा गौचनले भने, ‘नेपाललाई मात्र होइन, विश्वका नाम चलेका टिम र खेलाडीले अहिले ब्याटिङमा सङ्घर्ष गरिरहेका थिए ।

दक्षिण अफ्रिकाका, क्विन्टन डिक कक, डेभिड मिलर, क्लासेन लगायतका खेलाडीले खोइ त रन बनाएको ? पाकिस्तानसँग भारत १ सय १९ रनमै अलआउट भयो । पाकिस्ताले १ सय २० रन पनि बनाउन सकेन । यी सबै तथ्याङ्क हेर्दा नेपालको ब्याटिङमा म समस्या देख्दिन’ गौचनले भने ।

नेपालसँग बङग्लादेश १ सय ६ रनमै अलआउट भएको उदाहरण दिँदै शक्तिले भने, ‘ बङग्लादेशसँग निकै राम्रा ब्याटर थिए तर नेपालसँग त उनीहरु टिक्न सकेनन् । यसपटकको विश्वकपमा हरेक ब्याटरलाई रन बनाउन सङ्घर्ष गर्नुपरेको छ । नेपालको मात्र कमजोरी होइन ।’

नेपालले निकै राम्रो अवसर गुमायो : राजु बस्नेत

राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा महिला टिमका मुख्य प्रशिक्षक राजु बस्नेत भने नेपालको ब्याटिङमा समस्या हुँदा निकै ठूला अवसर गुमाएको बताउँछन् । बस्नेतले उज्यालो अनलाइनसँग भने, ‘हामीले बलिङमा निकै राम्रो गर्‍यौँ तर ब्याटिङ नचल्दा ऐतिहासिक उपलब्धि गुमाउन पुगेको हो ।´

पीच गाह्रो भए पनि नेपालको टीयूको पीचसँग अलिकति मिल्दोजुल्दो भएकाले खेलाडीले त्यसको फाइदा उठाउन सक्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाई छ । ‘त्यही पीचमा बङग्लादेशले नेदरल्याण्डसँग १ सय ५९ रन बनाएको थियो, यदि रन नै नबन्ने भए बङग्लादेशले कसरी बनायो त ?, दक्षिण अफ्रिकासँग सजिलो अवस्थामा पुगेको खेल हामीले एक रनले हारेका थियौँ । पीचलाई दोष देखाएर हाम्रो कमजोरी लुकाउन मिल्दैन ।’ राजु बस्नेतले भने । 

दक्षिण अफ्रिकालाई १ सय १५ रनमा अलआउट गरेको नेपालले बङग्लादेशलाई पनि १ सय ६ रनमै अलआउट गरेको थियो । यी दुई खेलमा हारेर नेपालले ठूलो अवसर गुमाएको राजु बस्नेतको भनाई छ । खेलाडीलाई राम्रो सेवा सुविधा नहुँदा र एउटा पनि गतिलो मैदान नभएको अवस्थामा पनि नेपालले यत्तिको खेल्नु आफैंमा उपलब्धि भएको कतिपयको तर्क छ । तर केहीले भने सधैँभरी यस्तै भनेर मात्रै चित्त बुझाउने कि खेल पनि जित्ने ? भनेर प्रश्न उठाउन थालेका छन् ।

यस विषयमा राजु बस्नेत भन्छन्, ‘यसअघि सन् २०१४ मा पनि हामीले विश्वकप खेलेको हो, १० वर्षमा हाम्रो अनुभव र क्षमता पक्कै बढेको छ, अब पनि हामीले ठूलो टिमसँग खेल्न पायौँ भनेर गर्व गर्ने कि उनीहरुलाई जित्न सक्छौँ भन्ने कुरा आउँछ । अमेरिकाले हामीसँगै खेल्न लागेको हो, उ सुपर ८ मा पुगेको छ । हामीले भने दक्षिण अफ्रिकासँग एक सय १६ र बंगलादेशसँग एक सय ७ रनको लक्ष्य पनि भेटाउन सकेनौँ । यसरी नेपाल ऐतिहासिक अवसरबाट चुकेको छ ।’

सकारात्मक पक्षहरु

खेल हारे पनि यो विश्वकपमा नेपालको लागि केही सकारात्मक दृष्यहरु देखिएका छन् । विशेष गरेर नेपाली समर्थकले विश्वभर तहल्का मच्चाएका छन् । हार जित जे भए पनि समर्थन र टोलीप्रतिको सम्मानमा कमी हुन दिएका छैनन् । आईसीसीसहित धेरै देशका क्रिकेट बोर्डले नेपालको क्रिकेटको विकासमा सहयोग गर्न सक्ने सम्भावना रहेको शक्ति गौचन र राजु बस्नेत बताउँछन् ।

अहिलेको टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेकोले आउँदो १० वर्षसम्म पनि खेलाडीको अभाव नहुने र यिनै खेलाडीले ठूलै अन्तर्राष्ट्रिय उपाधि जित्न सक्ने शक्तिको विश्वास छ ।‘यसपटक हामीले विश्वलाई हाम्रो खेल देखाएका छौँ, टोली युवा खेलाडीले भरिएको छ ।

नेपाली क्रिकेटको भविष्य मैले त उज्वल  नै देखेको छु ।’ शक्तिले भने । राजु बस्नेत अब नेपालको क्रिकेटको विकासमा अन्तर्राष्ट्रिय सहयोग बढ्ने अपेक्षा गर्छन । राजु भन्छन्, ‘क्रिकेटमा यति धेरै क्रेज भएको देशलाई अब आईसीसी  र अरु देशबाट सहयोग बढ्न सक्छ, सहयोगको सदुपयोग  गरेर नेपालले आफ्नो प्रदर्शन र पूर्वाधार सुधार गर्न सक्छ ।’

तस्बिर : क्यान 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया