हचुवाका भरमा राजदूत सिफारिस : प्याकुरेलद्वारा कोरियाको राजदूत बन्न अस्वीकार

 असार ९, २०८१ आइतबार १५:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले हचुवाको भरमा राजदूत सिफारिस गरेको भन्दै सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गर्नुभएको छ ।

मन्त्रिपरिषद्को अस्ति शुक्रवारको बैठकले सुशील प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेको थियो । तर आज प्याकुरेलले विज्ञप्ति निकालेर राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित देशको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताउनुभएको छ ।

राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देखेको प्याकुरेलले बताउनुभएको छ ।

सरकारले आफूप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिन भन्दै आफूले प्रधानमन्त्रीलाई लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेको प्याकुरेलले जानकारी दिनुभएको छ । आफूलाई सरकारले राजदूतमा सिफारिस गरेको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै प्याकुरेलले सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केतसमेत नदिइनु अचम्मको विषय भएको बताउनुभएको छ ।

प्याकुरेल विगत पाँच दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा सक्रिय रहनुभएको छ । उहाँ राष्ट्रिय मानव अधिकार आयोगको संस्थापक सदस्य पनि हुनुहन्छ ।

मन्त्रिपरिषद्को बैठकले ८ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको थियो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया