वायु प्रदूषण बढ्दो : प्लाष्टिक, कृषि अवशेष लगायत नजलाउन वातावरण विभागको अनुरोध

 मंसिर १०, २०८१ सोमबार ७:४८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकालगायतका ठाउँमा वायु प्रदूषण बढेपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहाेर नजलाउन आग्रह गरेको छ ।

विभागले सुचना निकालेर हिउँदयाम लागेपछि वायु प्रदूषण बढ्दै जाने भन्दै त्यस्तो प्रदूषण नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह गरेको हो । केही हप्तादेखि तराई क्षेत्रलगायत काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढेको छ ।

विभागका अनुसार उद्योग कलकारखाना र गाडीबाट निस्कने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो लगायतबाट वायु प्रदूषण भएको हो ।

विभागले ठोस तथा प्लास्टिकजन्य फोहाेर तथा कृषिजन्य अवशेष नजलाउन, गाडीको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले देशभरका स्टेशनहरुमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ । अहिले काठमाण्डौ उपत्यकामा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय २० आसपासमा रहेको छ । एक्यूआई एक सयभन्दा माथि पुगेपछि संवेदनशील समूहका मानिसको स्वास्थ्यमा जोखिम हुन्छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया