गए रातिपछि पहिरो र चट्याङमा परेर ११ जनाको ज्यान गयाे

 असार १२, २०८१ बुधबार १८:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएकाे पहिराे, तस्बिर : रासस

काठमाण्डाै – मनसुनी प्रणाली सक्रिय भएसँगै भएको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानजस्ता विपद्का घटनाहरू बढेका छन् ।

गृह मन्त्रालयका अनुसार विशेषगरी कोशी, मधेश र गण्डकी प्रदेशका विभिन्न ठाउँहरूमा पहिरो र डुबानका घटनाहरू देखिएका छन् । अरू प्रदेशका विभिन्न क्षेत्रमा पनि ठूलो पानी परिरहेको छ ।

गृह मन्त्रालयका अनुसार गए रातिदेखि बाढी र पहिरोमा परि सात जना र चट्याङ लागेर चार जनाको ज्यान गएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गए राति पहिरो खस्दा पुरिएका एकै परिवारका चार जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर रुद्रमान गुरुङ र उहाँकी बुहारी पञ्चकुमारी गुरुङसहित आठ र चार वर्षका दुई जना बालिकाकाे ज्यान गएको हो ।

यस्तै कास्कीको मादी गाउँपालिका–५ चितेपानीमा प्रकाश रानाभाटको घर पहिरोले पुरिँदा घरमा सुतिरहेकी १३ वर्षकी आयुष्मा रानाभाटको ज्यान गएको छ । कास्कीकै पोखरा महानगरपालिका–२७ आरुपाटाका हरि सुनारको घरमा पहिरो खस्दा सुनारका छोरा तीन वर्षका अनमोल सुनारको ज्यान गएको छ ।

यस्तै ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–५ थुम्कीका बाबुराम खत्रीको घर र गोठ पहिरोले पुरिँदा उहाँकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको ज्यान गएको छ । यसैगरी चितवनको माडीमा मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रणबहादुर कामी बेपत्ता हुनुभएको छ ।

यसैबीच कैलालीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । जोशीपुर गाउँपालिका–३ भितरियाका जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ का शालिम चौधरीको ज्यान गएको हो । चट्याङ लागेर कैलालीमा अरू छ जना घाइते भएका छन् ।

यस्तै चट्याङ लागेर कपिलवस्तुमा पनि दुई जनाको ज्यान गएको छ । यशोधरा गाउँपालिका–८ भैसहियाका महेश कलवार र बुद्धभूमि नगरपालिका–१० धनकौलीका राजु ठाकुरको चट्याङ लागेर ज्यान गएको हो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया