यसरी थाहा पाउन सकिन्छ पहिरोका सङ्केतहरु

 असार १६, २०८१ आइतबार ७:२२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

मनसुन सक्रिय भएसँगै पहिरो र त्यसबाट ज्यान गुमाउने घटना बढेका छन् । पहाडी भेगमा जथाभावी खनिएका सडक, पानी पर्ने क्रममा आएको फेरबदल लगायतका कारण पछिल्ला वर्षमा तुलनात्मक रूपमा पहिरोका घटना बढिरहेका छन् । वर्षा र बाढीको जस्तो पहिरोको पूर्वानुमान गर्न त सकिँदैन । तर पहिरो जाँदैछ भनेर केही न केही कुरा थाहा भने हुन सक्छ । आफ्नो घर वरिपरि वा घरभन्दा माथिको ठाउँमा भइरहेका परिवर्तनलाई ख्याल गर्ने हो भने स्थानीयबासिन्दाले पहिरोको जोखिम बढेको थाहा पाउन सक्छन् ।

पहिरोका पूर्व सङ्केतहरु :

  • जमीन चिरा पर्नु वा भासिनु । 
  • पानीका मूल आकश्मिक रूपमा बढ्नु, धमिलो आउनु, सुक्नु वा अन्यत्र सर्नु ।
  • साना खोल्सा वा ठूला खोला एक्कासी सुक्नु वा बढ्नु । 
  • भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु वा ढुङ्गा माटो खस्न थाल्नु । 
  • रुख वा बिजुलीको पोल ढल्किनु वा बाङ्गो हुनु । विशेषगरी पहाड र भिरालो जमिनमा रहेका रुख तथा बिजुलीका पोल तलतिर ढल्किनु ।
  • घरहरु ढल्किनु वा घरका झ्याल–ढोका लगाउन अप्ठ्यारो हुनु । सजिलै गरी लगाएको झ्याल ढोकाको चुकुल एक्कासी खोल्न वा लगाउन गाह्रो हुनु । 
  • जमीन मुनिबाट कट्कट् गरेर अस्वाभाविक आवाज आउनु ।

यस्ता सङ्केत देखिएमा पहिरोको जोखिम बढेको छ भनेर थाहा पाउनुपर्छ । यस्तो बेलामा आफ्नो परिवार चाँडै सुरक्षित ठाउँमा जानुपर्छ भने आसपासका सबैलाई जानकारी गराउनुपर्छ । यस्तो जोखिमबारेमा सुरक्षा निकाय, उद्धार टोली वा पालिकालाई जानकारी गराइहाल्नुपर्छ । पहिरोका पूर्व सङ्केत भएमा तत्कालका लागि जनधनको क्षती रोक्नु वा घटाउनतर्फ प्रयास गर्नुपर्छ । विस्तारै पहिरो रोकथामका काम पनि गर्न सकिन्छ । कुनै ठाउँमा यसअघि कुनै समयमा पहिरो गएको छ र अहिले माथि चर्चा गरिएका सङ्केत देखिए भने अझ बढी सतर्क हुनुपर्छ । 

पानी रोकिएपछि पनि पहिरो जान सक्छ 

सामान्यतया ठूलो पानी परिरहेको बेला मात्रै पहिरोको जोखिम हुन्छ भन्ने बुझाइ हुन्छ । तर यो गलत बुझाइ हो । पानी रोकिएको लामो समयपछि पनि पहिरो जान सक्छ । दर्के पानी र चर्को घामले पहिरो ल्याउँछ भन्ने भनाइ पनि छ । ठूलो पानी परेपछि घाम लागे पनि पहिरोको जोखिम हुन्छ । सामान्यतया जमिनको माथिल्लो भागमा बग्ने पहिरो ठूलो पानी परिरहेको बेला जाने सम्भावना धेरै हुन्छ । तर ठूलो पहिरो लामो समय पानी परेर जमिन भिजेपछि वा पानी विस्तारै जमिनको तल्ला भागमा पुगेपछि पानी पर्न रोकिएको बेलामा पनि जान सक्छ । त्यसैले ठूलो पानी पर्दै गर्दा मात्रै पहिरोको जोखम हुन्छ भन्ने बुझ्नुहुन्न । 

जोखिमयुक्त ठाउँको पहिचान 

यसअघि कुनै समयमा पहिरो गएको थाहा छ भने त्यो ठाउँ पहिरोको जोखिममा छ भन्ने बुझ्नुपर्छ । यस्तै खोला घुमेको माथिल्लो भागमा बस्ती छ भने त्यहाँ खोलाले तल्लो भाग खोतलेर माथि पहिरोको जोखिम बढाएको हुन सक्छ । त्यस्ता ठाउँमा समयमै ढुङ्गा थुपार्ने, पर्खाल लगाउने लगायतका काम गरेर जोखिम घटाउन सकिन्छ । यस्तै जमिनमा चिरा परेको, भासिएको, पहाडको माथिल्लो भागमा कुप्रो भएर बसेको संरचना, ठूला ढुङ्गा वा ढिस्को तलतिर फर्केर बसेको छ भने त्यहाँ पहिरोको जोखिम छ भनेर बुझ्नुपर्छ । यस्तै डोजर वा एक्साभेटर प्रयोग गरेर नयाँ संरचना निर्माण गरिएको ठाउँको आसपास पनि जोखिम हुनसक्छ । त्यस्ता ठूला उपकरणले जमिन चलायमान भएर कमजोर पार्ने भएकाले पहिरोको जोखिम बढाएको हुनसक्छ । 

अहिलेबढी सतर्क हुनुपर्ने समय हो 

अबको झन्डै तीन महिना धेरै पानी पर्छ । पानी पर्दा पहिरोको जोखिम बढ्ने भएकोले विशेष सावधानी अपनाउनुपर्छ । पहिरोका कुनै सङ्केत देखिएमा तत्कालै सुरक्षित ठाउँमा जानु बुद्धिमानी हुन्छ । यस्तै पहिरोको जोखिमबाट बच्न वर्षायाममा भलको व्यवस्थापन राम्रोसँग गर्नुपर्छ । समुदाय वा घर नजिकै जमिनमा चिरा परेको छ भने चिम्ट्याइलो माटो हालेर पुर्ने वा प्लास्टिकले छोप्ने गरिहाल्नुपर्छ । पहिरोको जोखिम भएको बस्ती हो मौसम कस्तो हुन्छ, कति जोखिम छ भनेर जानकारी दिने सरकारी निकायमा फोन गरेर सोध्ने गर्न सकिन्छ । ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि त्यो समय सुरक्षित ठाउँमा गएर बस्नुपर्छ । मुख्य कुरा, आफू बसेको ठाउँ बाढी, पहिरो वा अन्य विपद्को दृष्टिकोणले कति जोखिम हो भनेर थाहा पाउनुपर्छ र त्यसै अनुसारको सतर्कता अपनाउनुपर्छ ।

(भूगर्भविद् डा. सुवोध ढकाल र प्रकोपविज्ञ श्रीकमल द्विवेदीसँगको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया