काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा

 असार १८, २०८१ मंगलबार ११:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा, लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको मेलम्चीमा २० दशमलव ८ मिलिमिटर पानी परेको छ । यस्तै बाँकेमा १८ दशमलव ८, पर्वतमा १८ दशमलव ४ र म्याग्दीमा १८ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै ललितपुर, दोलखा, कास्की, धनगढी, धनुषा, कैलाली लगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

मनसुनी वायु सुदुरपश्चिमको कैलाली–कञ्चनपुर हुँदै पहाड तिर उक्लिदै गएको मौसमविदले बताएका छन् । आजदेखि केही दिन सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने सम्भावना रहेको छ  । मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

ठूलो पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया