ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पास हुन नसकेका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने अवसर पाएका छन् । एक महिनापछि हुने मौका परीक्षा विद्यार्थीका लागि आफ्नो नतिजा सुधार्न एक महत्त्वपूर्ण अवसर हो ।
विद्यार्थीलाई परीक्षामा सफल हुनका लागि धेरै दबाब हुन सक्छ जसले उनीहरूको भावनात्मक र मानसिक स्वास्थ्यमा चिन्ता उत्पन्न गर्न सक्छ । यस अवस्थामा घरपरिवार र आफन्तले विद्यार्थीलाई तनाव र चिन्ता व्यवस्थापन गर्न मद्दत र हौसला प्रदान गर्नुपर्छ ।
विद्यार्थीले कुनै प्रकारको तनाव लिनु हुँदैन भन्ने मुख्य कुरा हो । पूरक परीक्षाको तयारी गरिरहेका विद्यार्थीले सकारात्मक सोच राख्न जरुरी छ । पहिले मनबाट अनुत्तीर्ण भएको डर हटाउनु आवश्यक छ । उच्च मनोबल र दृढ विश्वासका साथ परीक्षामा सहभागी हुने परिस्थिति निर्माण गर्नुपर्छ । यसरी तयारी गर्दा उत्तीर्ण हुन सक्ने स्थिति बन्न सक्छ ।
अबको एक महिना पूरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अत्यन्त महत्त्वपूर्ण समय हो । एक वर्ष अध्ययन गरिसकेका कारण अबको एक महिनामा बुझ्न सजिलो हुन्छ । यस समयमा विद्यार्थीले त्यही किताब र पाठलाई पुनरावलोकन गर्नुपर्छ । त्यसैले तयारीका लागि एक महिना पर्याप्त समय हो । विद्यार्थीले अब्बल हुन व्यवस्थित समय तालिका बनाएर तयारी गर्नुपर्छ ।
यसअघि दिएको परीक्षाको अनुभव निकै मूल्यवान् हुन्छ । परीक्षामा कति प्रश्न हल गरियो ? पर्याप्त तयारी थियो कि थिएन ? यदि तयारी अपूरो थियो भने त्यसलाई पूर्णता दिनु आवश्यक छ । त्यसका लागि विगतमा सोधिएका प्रश्न, यसअघिका परीक्षामा सोधिएका प्रश्नपत्र जम्मा गर्ने र अभ्यास गर्ने । आफैँले लेखेका उत्तर विषय शिक्षक र साथीभाइलाई देखाउने र सुधार गर्ने कुरामा ध्यान दिनु आवश्यक छ । आफूले नजानेको वा नबुझेको कुरा शिक्षक वा जान्ने साथीलाई सोध्नुपर्छ ।
विद्यार्थीले दोस्रो मौकाको तयारी गर्दा कम समयमा धेरै पढ्नुपर्ने हुन्छ जसले गर्दा एक वर्षभरि पढेका कुरालाई एक महिनामै दोहोर्याउनुपर्ने चुनौतीपूर्ण हुनसक्छ । यस्तो अवस्थामा विद्यार्थीले यो मौकालाई बोझभन्दा अवसरको रूपमा लिएर सकारात्मक रहनु आवश्यक छ । तसर्थ विद्यार्थीले अहिलेसम्म पढेका कुरालाई घोक्नेभन्दा मुख्य अवधारणा बुझ्नमा केन्द्रित हुनुपर्छ ।
परीक्षाको तयारी गर्न केही आधारभूत आवश्यकता छन् । अध्ययन गर्दा मुख्य विषयका बुँदा टिपोट गरेर पढ्ने, लेख्ने र निरन्तर अभ्यास गर्नुपर्छ ।
तयारीका उपाय
विद्यार्थीले तयारी गर्दा व्यवस्थित योजना र समय व्यवस्थापन गर्नु अत्यन्तै जरुरी छ । दैनिक अध्ययन तालिका बनाएर तयारी गर्नुपर्छ जसमा गाह्रो विषयलाई बढी प्राथमिकता र कम गाह्रो विषयलाई कम समय मिलाएर अध्ययन गर्नुपर्छ ।
एकैचोटि लामो समयभन्दा छोटो–छोटो समयमा अध्ययन गर्दा ध्यान केन्द्रित रहन्छ । साथै अध्ययन सामग्रीको सही चयनले तयारीलाई प्रभावकारी बनाउँछ । यसका लागि शिक्षक, जान्ने साथी वा अनुभवी व्यक्तिको सहयोग लिनुपर्छ । परीक्षामा सफल हुन नियमित अभ्यास गर्न आवश्यक छ ।
विद्यार्थीले मुख्य पाठ्यपुस्तक र टिपाेटकाे आधारमा अध्ययन गर्नुपर्छ । तर शिक्षकले पाठ्यपुस्तकसँगै व्यावहारिक शिक्षा दिन सकेमा विद्यार्थीलाई बुझ्न थप सहज हुन्छ । विद्यार्थीले पनि मौलिक उत्तर दिन सकेमा धेरै नम्बर पाउने सम्भावना बढ्छ ।
अहिलेको समयमा हामी प्रविधिसँग जडिएका छौँ । विषय शिक्षा प्राप्त गर्न प्रत्यक्ष सम्पर्क नभए पनि सामाजिक सञ्जालमार्फत हामी जिज्ञासा राख्न सक्छौँ । यसैगरी अनलाइन स्रोत जस्तै– युट्युब भिडियो, अनलाइन क्लास र अन्य शैक्षिक वेबसाइटको प्रयोग गर्न सकिन्छ ।
शिक्षकले विद्यार्थीलाई सहजीकरण गर्नुपर्छ । अपेक्षित परिणाम हासिल गर्न अतिरिक्त कक्षाको व्यवस्था गर्नुपर्छ । साथै सधैँ विद्यार्थीलाई सकारात्मक भावना विकास गर्न र उनीहरूको मनोबल उच्च राख्नुपर्छ । शिक्षकले विशेष कक्षा सञ्चालन, त्यसको प्रबन्धन र अनुगमन गर्नुपर्छ ।
अभिभावकले विद्यार्थीलाई घरमा शान्तिपूर्ण वातावरण प्रदान गर्नुपर्छ । विद्यार्थीको स्वास्थ्यका लागि उनीहरूको खानपानमा ध्यान दिनु आवश्यक छ । विद्यार्थीलाई मानसिक तनाव भएको गतिविधिबाट सावधान रहन आवश्यक छ । परीक्षाको तयारीमा विद्यार्थीले शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ । त्यसका लागि स्वास्थ्यकर खानपानमा ध्यान दिनुपर्छ ।
परीक्षा दिँदा सबै परीक्षा केन्द्र, समय र परीक्षाका लागि आवश्यक सामग्री सही तरिकामा छुटाउनु हुँदैन । परीक्षा दिँदा पनि निर्देशनानुसार सम्पूर्ण पालना गर्नुपर्छ । जसमा सिम्बल नम्बर, उत्तर पुस्तिकाको नम्बर र रजिस्ट्रेशन नम्बर सही लेख्नुपर्छ । प्रश्नको हल गर्दा कुन प्रश्नलाई कति अङ्क दिइएको छ भन्ने अनुसार समय व्यवस्थापन गरी लेख्नुपर्छ ।
विद्यार्थी जीवनमा परीक्षा धेरै दिनुपर्छ । यदि कुनै परीक्षा बिग्रिँदैमा सबै सकियाे भनेर साेच्नु हुँदैन । विद्यार्थीले यसबाट सिक्नुपर्छ र अगाडि बढ्नुपर्छ । उनीहरूलाई हौसला दिनु अत्यन्तै आवश्यक छ ।
नेपालमा परीक्षा मात्र विद्यार्थीको ज्ञानको मापदण्ड होइन । परीक्षामा सिकेका शिक्षाका पाठलाई सकारात्मक दृष्टिकोणले अभिवृद्धि गर्न आत्मसात् गर्नुपर्छ जसले सृजनात्मक, सकारात्मक र रचनात्मक विकासलाई अगाडि बढाउन सक्छ ।
यो एक महिनाको अवधि निकै महत्त्वपूर्ण छ । विद्यार्थीले दैनिक समय तालिका बनाउँदा अध्ययन प्रभावशाली हुन्छ । अहिलेको अवसरको महत्त्व बुझेर तयारी गर्न यो एक महिनाको समय अत्यन्त आवश्यक छ र यसपालि नै कक्षा ११ मा भर्ना हुन पाइन्छ ।
(शिक्षाविद् राजेन्द्र पहाडीसँगको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पहाडी शिक्षाविद् हुनुहुन्छ ।