वैदेशिक रोजगारीमा काम र कमाइभन्दा पहिला सूचना र जानकारी महत्त्वपूर्ण

 असार २६, २०८१ बुधबार १८:२६:०
unn.prixa.net

मदन पाैड्याल

काठमाण्डाै – म्याग्दीको बेनी नगरपालिका–२ ज्याम्रुकोटका २८ वर्षका मिलन सुवेदी वैदेशिक रोजगारीबाट फर्केको झन्डै ७ वर्षपछि फेरि विदेश जाने तयारीमा हुनुहुन्छ । यसअघि उहाँ १९ वर्षको उमेरमा २०७२ सालमा कतार जानुभएको थियो । कतारमा साढे २ वर्ष काम गर्नुभयो । तर भनेजस्तो कमाइ भएन । २०७४ सालमा घर फर्केका सुवेदी अहिले गाउँमै खेती र पशुपालनको काम गर्नुहुन्छ । तर भइरहेको खेती र पशुपालनबाट मात्रै परिवारको आर्थिक अवस्था सुध्रिएला भन्ने उहाँलाई लागेन । अहिले फेरि उहाँ कमाउनका लागि विदेश जाने तयारीमा हुनुहुन्छ । तर कुन देश जाने भन्ने चाहिँ निधो भइसकेको छैन ।

काम गर्न जाने देश जुन भए पनि राहदानी अर्थात् पासपोर्ट त चाहिन्छ नै । त्यसैले आफ्नो पुरानो राहदानी नवीकरण गर्न उहाँ जेठको अन्तिम हप्ता जिल्ला प्रशासन कार्यालय म्याग्दी पुग्नुभएको थियो । त्यहाँ सुवेदीसँगै भेटिनुभयो रघुगङ्गा गाउँपालिका–२ भगवती गाउँका ३८ वर्षका अम्बरबहादुर केसी । केसी भने मिलेसम्म युरोपको देश रोमानिया जाने तयारीमा हुनुहुन्छ । उहाँको परिवारमा बुबाआमासहित ७ जना छन् । छोराछोरी ३ जना छन् । बुबाआमा गाउँमा र केसीको परिवार ५ जना सदरमुकाम बेनीमा बस्छन् । उहाँको आफ्नै पोल्ट्रीफर्म पनि छ । तर यसबाट हुने कमाइले बालबच्चाको पढाइ, बेलाबखत हुने उपचार खर्च तथा अरू समस्या पर्दा थोरै कमाइले मात्रै नपुगेर विदेश जान लागेको केसी बताउनुहुन्छ ।

उहाँसँग पुरानो राहदानी थियो तर हरायो । उहाँले नयाँ राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुभएको छ । आवेदन फाराम, पुरानो राहदानीको फोटोकपी र नम्बर बुझाएपछि जिल्ला प्रशासन कार्यालयले केसीलाई डेढ महिनाभित्र राहदानी पाउन सक्ने जानकारी गरायो । त्यसअनुसार उहाँ नयाँ राहदानीको पर्खाइमा हुनुहुन्छ ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका केसी र सुवेदी दुवैले जानुअघि आवश्यक सूचना र परामर्श पनि लिनुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा रहेको आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) का सूचना तथा परामर्शकर्ताबाट विदेश जानुअगाडि कुन देश जाने ? कसरी जान सकिन्छ ? के काममा जाने हो ? त्यसका लागि सीप के छ ? पठाउने म्यानपावर कम्पनी कस्तो छनोट गर्ने ? खर्च कति लाग्ने हो ? गइसकेपछि समस्या या अप्ठारोमा परिहालेमा के गर्ने ? लगायतका धेरै विषयको जानकारी पाएको र त्यो जानकारीअनुसार जाँदा सहज हुनेमा उहाँहरू ढुक्क हुनुहुन्छ ।

सुवेदी भन्नुहुन्छ, ‘पहिला पनि विदेश त गएको हो तर यसरी बुझेर गएको थिएन, उ बेला जाँदा केही काम जानेको पनि थिइनँ, आफूसँग सीप पनि चाहिने रहेछ, वैधानिक प्रक्रियाबाट जानुपर्ने रहेछ, अब विदेश जाँदा पहिलाभन्दा धेरै सहज नै हुन्छ भन्ने लागेको छ, गइसकेपछि केही अप्ठ्यारो पर्‍याे भने सम्पर्क गर्ने ठाउँ र माध्यम पनि बनेको छ ।’

यसरी वैदेशिक रोजगारीमा जानेहरू अनि कतिपय वैदेशिक रोजगारीमा रहेका व्यक्तिको घर–परिवारका सदस्यहरूलाई आवश्यक सूचना र परामर्श दिनका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा छ । सामीले गएको चैतसम्ममा १२ लाख जनाभन्दा धेरैलाई यस्तो सूचना र जानकारी दिएको छ । पुरुष ८ लाख ९६ हजार २ सय ५० र महिला ३ लाख ३४ हजार ३ सय ३३ गरी कुल १२ लाख ३० हजार ५ सय ८३ जनालाई आवश्यक सूचना र परामर्श प्रदान गरिएको सामी कार्यक्रमले जनाएको छ ।

सामी नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित कार्यक्रम हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ३९ जिल्लाका एक सय वटा ५६ पालिका सरकारको नेतृत्वमा यो कार्यक्रम सञ्चालनमा छ । यसमा हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’ भन्ने मूल मर्मका साथ वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा उपलब्धिमूलक बनाई वैदेशिक रोजगारीमा रहेका श्रमिक र तिनका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य देशमा सुरक्षित र सम्मानजनक रूपमा काम गर्न सक्ने गरी श्रमिकलाई सूचना, सीप, परामर्शलगायतमा सहयोग गर्ने तथा वैदेशिक रोजगारमा आबद्ध निकायको क्षमता अभिवृद्धिमार्फत वैदेशिक रोजगारीका प्रतिफल वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसमा वैदेशिक रोजगारमा जाने सम्भावित श्रमिक, वैदेशिक रोजगारमा रहेका श्रमिक, वैदेशिक रोजगारबाट फर्केका श्रमिक र वैदेशिक रोजगारमा रहेका श्रमिकका परिवारका सदस्यहरूलाई आवश्यक सूचना, जानकारी तथा परामर्श दिने गरिएको सामीले जनाएको छ ।

सामी कार्यक्रमबाट सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी तथा सचेतना पहिलो प्राथमिकतामा छ । यसअन्तर्गत कार्यक्रम सञ्चालन भएका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय (जहाँबाट राहदानी वितरण गरिन्छ) भित्र आप्रवासी स्रोत केन्द्र छन् । त्यहाँबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई वैदेशिक रोजगारसम्बन्धी आवश्यक विषयमा सूचना दिने, सेवा सुविधाबारे जानकार गराउने तथा आवश्यक उपलब्ध सेवा सुविधामा पहुँच पुर्‍याउने काम हुन्छ ।

आप्रवासी स्रोत केन्द्र के हो ?

हुन त अहिले शहरदेखि गाउँघरसम्म सूचना र प्रविधिको प्रयोग बढ्दै गएको छ । तर अझै पनि कतिपयको पहुँचमा आवश्यक सूचना पुग्न नसक्ने अवस्था कायमै छ । त्यस्तै कतिपयले चासो राख्दा राख्दै पनि सूचना र जानकारी कहाँबाट लिने, कसले दिन्छ भनेर थाहा पाउन नसकेको अवस्था छ । त्यसैले वैदेशिक रोजगारसँग सम्बन्धित सूचना र जानकारीमा पहुँच पुर्‍याउने उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा छ । सामी कार्यक्रमले आप्रवासी स्रोत केन्द्र स्थापना र सञ्चालन, समुदायमा अभिमुखीकरण, रिटर्नी स्वयंसेवक परिचालन तथा सञ्चार साझेदारसहित सञ्चारमाध्यमको परिचालन गर्दै आएको छ । यसरी परिचालन गर्नुको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा जानेहरूलाई उचित परामर्श र वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा तथा सुविधा प्राप्त गर्न सहजीकरण गर्नु हो ।

पछिल्लो समय निरन्तरको छलफल, बहस र सामी कार्यक्रम सञ्चालन भएका क्षेत्रको उपलब्धि देखेर स्थानीय सरकार अर्थात् पालिका आफैँले पनि आप्रवासी केन्द्र सञ्चालन गरेका छन् । जसमा प्रदेश सरकार र सङ्घको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पनि समन्वय र सहयोग छ । यसरी सञ्चालन भएका केन्द्रलाई पनि सामीले प्राविधिक सहयोग गर्दै आएको छ । म्याग्दी, पर्वत, गुल्मी, पाल्पा र अर्घाखाँचीमा त्यस्ता स्रोत केन्द्र सञ्चालनमा छन् । वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा जानकारी दिन र सम्बन्धित सेवा तथा सुविधामा पहुँच पुर्‍याउनका लागि केन्द्रको सञ्चालन गरिएको हो । सरकारले पछिल्लो समय स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै कार्यविधि नै ल्याएको छ ।

वैदेशिक रोजगारी र यससँग जोडिएका सूचना र परामर्शका लागि निकायहरू

नेपालबाट तीन किसिमले वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ । आफ्नो योग्यता र इच्छाअनुसार रोजगारदातासँग सम्पर्क गरेर, म्यानपावर कम्पनीको सहजीकरणमा र सरकार–सरकारबीचको सम्झौताअनुसार । आर्थिक वर्ष २०५०/०५१ देखि सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको तथ्याङ्क राख्न शुरु गरेको थियो । त्यसयता ३० वर्षमा ६९ लाख ५३ हजार जनाभन्दा धेरै नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । यो सङ्ख्या वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जानेको मात्रै हो । अहिले दैनिक झन्डै २ हजार जना वैदेशिक रोजगारीमा जाने गरेको तथ्याङ्क छ ।

युवाहरूले देश छोड्नुपर्ने यो बाध्यताको मुख्य कारण देशभित्र गरिखाने पर्याप्त अवसर र विकल्प नहुनु र भएका विकल्प पनि कतिपय अवस्थामा सदुपयोग हुन नसक्नु हो । पछिल्लो समय अवसर पाएका कतिपय युवा पनि अलि धेरै कमाइको लोभमा विदेशिन थालेका छन् । कारण जेसुकै भए पनि विदेशिने युवाको सङ्ख्या पछिल्ला दिनमा बढ्दो छ । आयआर्जन र घरपरिवारको गुजारा चलाउन, कमाइ र भोलिको भविष्यको चिन्ता गरेर यति धेरैको सङ्ख्यामा युवा पलायन हुँदै गर्दा अर्को चिन्ता गर्नुपर्ने विषय छ, कतिपयले पर्याप्त सूचना र जानकारीविना नै विदेश उड्नु र समस्यामा पर्नु । त्यसैले कामका लागि विदेश जानुअघि आवश्यक सूचना र जानकारी लिनु निकै महत्त्वपूर्ण छ ।

पर्याप्त सूचना र जानकारी लिन सकेमा विदेश पुगेपछि हुन सक्ने झमेला र सास्तीबाट जोगिन सहयोग पुग्ने बताउनुहुन्छ यसअघि कतार पुगेर साढे दुई वर्ष काम गरी फर्किएका सुवेदी । उहाँ भन्नुहुन्छ, ‘कतार म पहिलो पटक रोजगारीमा गएँ, त्यस बेला अहिले जस्तो बुझेर जाने भन्ने नै थिएन, अरूलाई जस्तै मलाई पनि विदेश गए त काम पाइहालिन्छ, पैसो कमाइ पनि राम्रै हुन्छ, अरूले कमाएकै छन् नि भन्ने नै लाग्थ्यो । तर यहाँ आफूलाई लागेजस्तो त्यहाँ पुगेपछि नहुने रहेछ । जेनतेन दुई/साढे दुई वर्ष बिताएर जाँदा लागेको खर्च र केही आम्दानी गरेर फर्के, विदेश उड्नुअघि फुरुङ्ग भएको मन उता पुगेर कमाइ नहुँदा खिन्न नै भयो । अब जाने तयारी गर्दा विभिन्न निकाय र सङ्घ–संस्थाबाट सूचना, परामर्श पाएको छु, जुन काममा जाने हो त्यसअनुसारको काम सिकेर, तालिम लिएर जान्छु ।’

रोजगारीका लागि विदेश जानेहरूका लागि आवश्यक सूचना, परामर्श र जानकारी लिने/दिने विभिन्न सरकारी निकाय र सङ्घ–संस्था रहेका छन्–

१) तपाईँ रहेको पालिका
२) जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालय
३) वैदेशिक रोजगार बाेर्ड र विभाग
४) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
५) विभिन्न गैरसरकारी सङ्घ–संस्था

संविधानको अनुसूची–८ मा पालिकाको एकल अधिकार सूचीअन्तर्गत स्वदेशी तथा विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन, सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याङ्कको सङ्कलन तथा व्यवस्थापन, वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको सञ्चालन, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण, वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोगसम्बन्धी काम, कर्तव्य र अधिकार रहेको छ ।

यही अधिकारभित्र रहेर पालिकाहरूले काम गरिरहेका छन् । झापाको भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्की भन्नुहुन्छ– ‘हाम्रो पालिकामा वैदेशिक रोजगार शाखा नै छ । अनि सामी कार्यक्रम पनि सञ्चालनमा छ । यहाँ विदेश जानु अघिभन्दा  पनि जाने क्रममा ठगीमा परेको, पैसा खाइदिएको, अलपत्र परेको जस्ता धेरै केस आउँछन् । समस्या परिसकेपछि मात्रै यहाँ रुन र गुनासो गर्न आउनुहुन्छ । तर पछिल्ला वर्ष त्यस्ता घटना पनि केही कम हुँदै गएको जस्तो लाग्छ । सामी कार्यक्रमबाट सचेतनाका कार्यक्रम भएका छन् र ती प्रभावकारी पनि बनेका छन् । पालिकाले गर्ने कतिपय कार्यक्रम, गोष्ठी, अन्तरक्रियामा पनि हामीले सकेसम्म काम र कमाइका लागि विदेश नजाऔँ, आफ्नै गाउँघरमा आयमूलक काम गरौँ, यदि विदेश जानै परेमा सीप सिकेर जाऔँ, तपाईँले के सीप सिक्नुभएको छ ? कुन देशमा जान खोज्नुभएको छ ? कसरी जाँदै हुनुहुन्छ ? बुझेर मात्रै जानुस्, जानुअघि निकै सचेत हुनुपर्छ, नत्र दुःख पाइन्छ है भनेर भन्दै आएका छौँ ।’

यस्ता परामर्श र जानकारी निःशुल्क उपलब्ध हुन्छ । त्यसैले तपाईँ रोजगारीका लागि विदेश जाने योजनामा हुनुहुन्छ भने पहिला जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा सोधीखोजी गर्न र आफ्नो चासो, समस्या सुनाउन सक्नुहुन्छ । यति मात्रैले तपाईँको सबै समस्या हल पक्कै हुँदैन । किनभने वैदेशिक रोजगारीमा जानुअघि  धेरै कुरा बुझेर जानुपर्ने हुन्छ । अनि नेपाल सरकारको नियमअनुसार धेरै प्रक्रियाहरू पनि पूरा गर्नुपर्छ । त्यसैअन्तर्गत तपाईँ आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा पुग्नुहुन्छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट राहदानीको फाराम बुझ्ने, राहदानी वितरण गर्ने, हराएमा नयाँ बनाउने, नवीकरण तथा द्रुत सेवाको राहदानीका लागि सिफारिश गर्ने, राहदानीमा आवश्यक संशोधनका लागि सिफारिश गर्नेलगायतका काम हुन्छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार ‘सकेसम्म स्वदेशमै रोजगारी गरौँ, विदेश जाने भए सही सूचना लिई सीप सिकेर मात्र जाऔँ’ भन्ने सूचना प्रवाह गर्नकै लागि जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालनमा छन् । पाल्पामा गएको पुसदेखि सञ्चालनमा आएको सहायता कक्ष अहिले प्रभावकारी बनेको उहाँ बताउनुहुन्छ । सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएका सबैलाई सूचनाको पहुँच, कानूनी सहजीकरण, सीप तालिमका लागि सहजीकरण प्रदान गर्ने गरिएको छ । जसमा सम्भावित आप्रवासी कामदार, अध्ययनका लागि विदेश जाने विद्यार्थी, विदेशमा घुम्न जाने वा आफन्तलाई भेटघाट गर्न जाने सबैलाई सहायता कक्षबाट सेवा प्रदान हुँदै आएको छ । पाल्पामा यसरी सूचना र परामर्श पाउनेको सङ्ख्या गएको जेठ २० गतेसम्म ३ हजारभन्दा धेरै रहेको उहाँले बताउनुभयो । आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) का लागि तीन तहका सरकार, केन्द्र सरकार, लुम्बिनी प्रदेश सरकार र तानसेन नगरपालिकाको पनि सहयोग रहेको छ । तानसेनमा तथा जिल्ला समन्वय समितिको समेत सहयोग छ ।

सामी कार्यक्रमकी वरिष्ठ कार्यक्रम अधिकृत सङ्गीता रिजालका अनुसार राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा पुग्नेहरूलाई कम्तीमा वैदेशिक रोजगारीको आवश्यक सूचना र जानकारी दिने उद्देश्यले आप्रवासी स्रोत केन्द्र सञ्चालन भएका हुन् । आप्रवासी स्रोत केन्द्रले जिल्ला प्रशासन कार्यालयमा समन्वय गर्ने हुँदा वैदेशिक रोजगारीमा जानुअघि धेरै जानकारी पाउन सकिन्छ । त्यस्ता व्यक्तिलाई शुरुकै चरणमा अभिमुखीकरण गर्दा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी धेरै जानकारी हुन्छ । राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुग्नेहरू स्रोत केन्द्रमा पुग्नु अनिवार्य जस्तै नै छ । त्यसो हुँदा वैदेशिक रोजगारीमा जानेहरूले प्रक्रियासहित आवश्यक सबै जानकारी स्रोत केन्द्रबाटै पाउँछन् । त्यसैगरी वैदेशिक रोजगारीको क्रममा स्वदेश अथवा विदेशमा अफ्ठ्यारो पर्दा समेत स्रोत केन्द्रहरूले सहयोग र सहजीकरण गर्छन् ।

वैदेशिक रोजगारीबारे जानकारी दिन तथा समस्यामा परेका घरपरिवारको पहिचान गरी आप्रवासी स्रोत केन्द्र वा सम्बन्धित निकायमा सेवाका लागि सिफारिश गर्नका लागि विदेशबाट फर्किएका कतिपय व्यक्तिले कार्यक्रमको स्वयंसेवकको रूपमा खटेर पनि काम गर्ने गरेका छन् । उनीहरूले गाउँघरमै पुगेर पनि यदि तपाईँ वैदेशिक रोजगारीमा जाने हो भने सही सूचना र जानकारी लिएर मात्र जानुहोस् भनेर पनि जानकारी तथा सूचना दिने गर्छन् । सूचना र परामर्शसँगै उनीहरूले अरू कतिपय समस्यामा सहजीकरण पनि गर्ने गर्छन् । विदेश जानेहरूलाई आवश्यक जानकारी मात्रै नभई कतिपय विदेशमा समस्यामा परेकाहरूलाई परेको खण्डमा क्षतिपूर्ति दिलाउने प्रक्रियामा पनि आफूहरू सहयोगी बन्दै आएको मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा रिटर्नी स्वयंसेवक रहेकी रिमनी लामा बताउनुहुन्छ । सामीले समुदायमा नै गएर समेत वैदेशिक रोजगारीको विषयमा अभिमुखीकरण सञ्चालन गर्छ । सामीअन्तर्गत रिटर्नी स्वयंसेवकसहित समुदायस्तरमा अहिलेसम्म ६ लाख ८१ हजार ५ सय ५८ जनालाई अभिमुखीकरण भएको तथ्याङ्क छ ।

कसरी गर्ने सम्पर्क ?

तपाईँलाई वैदेशिक रोजगारीमा जानु छ, आप्रवासी स्रोत केन्द्रको बारेमा जानकारी पनि पाउनुभएको छ तर पुग्न समय र परिस्थिति छैन भने फोन गरेर पनि आफूलाई आवश्यक परेका जानकारी लिन सक्नुहुन्छ । परामर्शकर्ताले तपाईँलाई फोनमार्फत पनि जानकारी दिन्छन् । अर्को उपाय श्रम मन्त्रालयले सञ्चालन गरेको श्रमाधान कल सेन्टरमा पनि फोन गरेर आवश्यक सूचना तथा जानकारी लिन सकिन्छ । श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा लाग्दैन । ११४१ नम्बरमा निःशुल्क फोन गरेर आवश्यक जानकारी र सूचना लिन सकिन्छ । आप्रवासी स्रोत केन्द्रहरूको सम्पर्क नम्बर सेफर माइग्रेसन सामी कार्यक्रम तेस्रो चरण भन्ने फेसबुक पेजमा गएर लिन सकिन्छ । फेसबुक पेजमा सबै जिल्लामा रहेका स्रोत केन्द्रहरूको सम्पर्क नम्बरहरू उपलब्ध छन् ।

आप्रवासी स्रोत केन्द्र एउटा संयन्त्र हो । यसले वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई जानुअघि चाहिने सूचना दिने कामसँगै सीप तालिमको बारेमा पनि जानकारी दिन्छ । सीप तालिममा जोड्न समन्वयको काम पनि आप्रवासी स्रोत केन्द्रबाट हुन्छ । यसको उद्देश्य सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीको नाममा हुन सक्ने ठगीबाट जोगाउनु हो । समग्र वैदेशिक रोजगारीको प्रक्रियामा सहयोग पुर्‍याउने, समन्वय र सहजीकरण गरिदिने, सही सूचना र जानकारी दिने काम आप्रवासी स्रोत केन्द्रबाट हुन्छ । यसका साथै श्रम मन्त्रालय मातहतकै वैदेशिक रोजगार बोर्ड छ, विभाग छ जसले तपाईँहरूलाई सहयोग गर्छ । यी निकायमा गएर पनि सहयोग लिन सक्नुहुन्छ ।

अनि यी कुराहरू पनि थाहा पाइराख्नुपर्छ–

वैदेशिक रोजगार विभागका अनुसार १८ वर्ष पूरा भएपछि मात्रै वैदेशिक रोजगारीको प्रक्रिया थाल्नुपर्छ ।
आफू जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ ।
म्यानपावर अर्थात् इजाजतपत्रवाला निकाय, स्वास्थ्य परीक्षण गर्ने ठाउँ, रोजगार करार, श्रम स्वीकृति, आफू जाने देश, आफूले गर्ने काम, लाग्ने खर्चलगायतका बारेमा जानकारी लिनुपर्छ ।
वैदेशिक रोजगारका लागि अनुमति प्राप्त गरेका निकाय वा म्यानपावर कम्पनीसँग मात्र वैदेशिक रोजगारीमा जानेसम्बन्धी काम/कारोबार गर्नुपर्छ ।
वैदेशिक रोजगारमा जाने क्रममा तपाईँले सम्बन्धित रोजगार एजेन्सीलाई पैसा बुझाउँदै हुनुहुन्छ भने रसिद लिएर त्यसलाई सुरक्षित राख्नुपर्छ । हातमा पैसा होइन सकेसम्म बैंक भौचर र त्यसमा पनि सम्पूर्ण विवरण खुलाएर कारोबार गर्नुपर्छ ।
बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे/नपरेको यकिन गर्नुपर्छ । रसिदमा सम्बन्धित एजेन्सीको छाप भए/नभएको र बुझिलिनेको दस्तखत भए/नभएको हेर्नुपर्छ ।
वैदेशिक रोजगारीमा जाने कामका लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमुखीकरण तालिम लिनुपर्छ ।
वैदेशिक रोजगारीमा जाने क्रममा गर्नुपर्ने बीमा तथा कल्याणकारी कोष (सामाजिक सुरक्षा कोष) मा अनिवार्य रूपमा रकम जम्मा गर्नुपर्छ ।
राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमको प्रमाणपत्र, रकम बुझाएको रसिद, बीमा, स्वास्थ्य परीक्षणलगायतको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घरपरिवारका व्यक्ति वा भरपर्दो अभिभावकलाई पनि छोड्नुपर्छ ।
श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन । श्रम स्वीकृति गर्दा प्राप्त हुने युजरनेम र पासवर्ड लिन भुल्नु हुँदैन ।
नियमअनुसार वैदेशिक रोजगारीमा गएपछि त्यो देशमा रहेको नेपाली दूतावास वा नियोग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनुपर्छ ।

सूचना र जानकारीविना वैदेशिक रोजगारीमा जाँदा जोखिम

सोह्रौँ पञ्चवर्षीय योजना (२०८१ देखि ०८५/०८६) ले वैदेशिक रोजगारीको व्यवस्थापनलाई जोड दिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू विशेषगरी १८ देखि ४४ वर्ष उमेर समूहभित्रका छन् । जो वैदेशिक रोजगारीमा जानेहरू छन् त्यसमा धेरैजसोमा सीप र दक्षता कम देखिन्छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूलाई हेप्ने, अधिक समय काममा लगाउने, पासपोर्ट नदिने, यता भनेको र उता पुगेपछि काम र तलब सुविधा फरक पर्ने, नपाउने वा न्यून पारिश्रमिक दिने, विश्राम समय नदिने, कार्यस्थल परिवर्तन गर्न नदिने, बिरामी भएमा उपचार खर्च नदिने वा उपचार नगराउने, अकालमा ज्यान जाने, अङ्गभङ्ग हुने र महिला कामदार हिंसा तथा मानव बेचबिखनको शिकार हुने, यौन शोषणमा पर्ने जस्ता जोखिम हुन्छ । त्यसैले विदेश जानुअघि धेरै विषयको जानकारी लिनु आवश्यक हुन्छ भन्नुहुन्छ सामी कार्यक्रमकी वरिष्ठ कार्यक्रम अधिकृत सङ्गीता रिजाल ।

उहाँका अनुसार बुझेर मात्रै वैदेशिक रोजगारीमा जाने, हातमा सीप र दक्षता अर्थात् सीपयुक्त भए राम्रो कामको अवसर पाउनुको साथसाथै उच्च तलब तथा अन्य सुविधासमेत पाउने सम्भावना धेरै हुन्छ । रिजाल भन्नुहुन्छ, ‘तपाईँले रोजगारीमा जानुअघि थप बुझ्नु परेमा नजिकको सरकार वडामा जनप्रतिनिधि र कर्मचारी पनि छन् । त्यहाँबाट विदेश जानुअघि आवश्यक सूचना र जानकारी लिनुपर्छ । सही सूचना र जानकारी बेलैमा लिनुभयो भने भोलिका दिनमा अफ्ठ्याराे पर्दैन र तपाईँ विदेश पुगेपछि पनि पछुताउनु पर्दैन । आफ्नो सुरक्षाका लागि तपाईँ आफैँ सचेत हुनु महत्त्वपूर्ण छ ।’

वैदेशिक रोजगारीमा जाँदा जान्नैपर्ने महत्त्वपूर्ण कुरा

सामी कार्यक्रमकी वरिष्ठ कार्यक्रम अधिकृत रिजालका अनुसार– पहिला त रोजगारीका लागि कुन देश र कुन काममा जाने त्यो निर्णय गर्नुपर्छ । कति खर्च लाग्छ ? काम गरेबापत तलब, खाना र बस्ने व्यवस्था, काम गर्नुपर्ने घण्टा, ओभरटाइम भत्ता, करार अवधिलगायतका बारेमा राम्ररी जानकारी लिनुपर्छ । आफूले जानेको काम गर्नेगरी विदेश जाँदा सहज र त्यसअनुसारकै आम्दानी पनि हुन्छ । हातमा केही न केही सीप हुनु निकै महत्त्वपूर्ण छ ।

त्यस्तै दोस्रो महत्वपूर्ण विषय, तपाईँले विदेश जान सम्पर्क गरेको म्यानपावर कम्पनीले सरकारबाट इजाजत लिएको छ कि छैन भन्नेबारेमा पूर्ण जानकार हुनुपर्छ । पहिले लिएको श्रम स्वीकृतिको म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रूपले पुनः श्रम स्वीकृति लिनुपर्छ ।

तेस्रो, सरकारले जान रोकेका देशमा कुनै पनि माध्यमबाट जान हुँदैन । आफू जाने देशमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने सङ्घ–संस्थाको फोन वा अन्य सम्पर्क माध्यम टिपेर राख्नुपर्छ ।

अनि विदेश पुगिसकेपछि यदि अफ्ठ्याराे परिहालेमा ती सम्पर्क माध्यमबाट आवश्यक सहयोग लिन सकिन्छ । यी आवश्यक र महत्त्वपूर्ण सूचना, जानकारी र परामर्शका कुरा जानेर र बुझेर वैधानिक रूपमा विदेशमा काम गर्न जाँदा विदेश पुगेपछि दुःख र झमेला भोग्नु पर्दैन ।

(सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।)

तस्बिर : सामी

 याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया