म्याग्दीमा असार मसान्तसम्म ७५ प्रतिशत धान रोपाइँ

 साउन १, २०८१ मंगलबार १८:१८:३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा यस वर्ष असार मसान्तसम्म जम्मा ७५ प्रतिशत धान रोपाइँ भएको छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीमा जिल्लाभर अहिलेसम्म ७५ प्रतिशत धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

म्याग्दीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ३८ सय ६ हेक्टरमध्ये अहिलेसम्म २८ सय २८ हेक्टर क्षेत्रफलको जमिनमा धान रोपाइँ भएको छ । बेनी नगरपालिकामा ७० प्रतिशत, मालिका गाउँपालिकामा ६५ प्रतिशत, रघुगङ्गा गाउँपालिकामा ७५ प्रतिशत, मङ्गला गाउँपालिकामा ८५ प्रतिशत, धवलागिरि गाउँपालिकामा ६६ र अन्नपूर्ण गाउँपालिकामा ८५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिनुभयो ।

म्याग्दीकाे माथिल्लो र तल्लो क्षेत्रमा अहिले धमाधम रोपाइँ चलिरहेको छ । यस वर्ष मनसुनकाे प्रभाव ढिलो पर्नु, गाउँघरमा काम गर्ने दक्ष जनशक्तिको अभाव, सिँचाइ सुविधा नहुनु र खेतीयोग्य जमिन बाँझो रहँदा रोपाइँमा समस्या भइरहेको किसानहरूले बताएका छन् । राेपाइँमा ढिलाइ हुँदा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ ।

बेनी र मङ्गलामा अन्य पालिकाहरूको तुलनामा धेरै धान उत्पादन हुने गर्दछ । म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रहरूमा धानखेती हुँदै आएको छ । यी क्षेत्रहरू धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । उच्च हिमाली क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण भने धान खेती हुँदैन ।

म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरू रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने किसानहरूले त्यति चासो देखाएका छैनन् । नदी किनारका फाँटहरूमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय म्याग्दीकाे सीमित ठाउँमा सुक्खा धान १, २, ३ नामक जातको धान खेतीसमेत गर्ने गरिएको छ । किसानहरूले भने भात खानकै लागि भनेर बारीलाई मासेर खेत बनाई धान रोप्दै आएका छन् । म्याग्दीको पाखो बारीमा भने घैया धान रोप्ने चलन पनि छ ।

म्याग्दीमा गएकाे  वर्ष ३ हजार ८ सय ९० हेक्टरको जमिनमा धान खेती लगाइएकोमा १२ हजार ५९ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रकाे तथ्याङ्क छ ।

अन्तिम अपडेट: भदौ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया