काठमाण्डौ–तराई द्रुतमार्ग : मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो

 साउन २१, २०८१ सोमबार १३:१८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तरगत मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर आज सुरुङ छिचोल्नुभएको हो ।

धेद्रे सुरुङको निजगढबाट काठमाण्डाैतर्फ आउने १६ सय ५ मिटर लामो सुरुङ गएको जेठमा नै छिचोलिएको थियाे । आज काठमाण्डौबाट निजगढतर्फ जाने १७ सय ७२ मिटर लामो सुरुङ छिचोलिएको हो । धेद्रे–लेनडाँडा सुरुङमार्गको निर्माण ठेक्का चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो ।

अब काठमाण्डौबाट निजगढतर्फ महादेवटार सुरुङमार्ग आउँदो असोजसम्म छिचोलिने सेनाले जनाएको छ । सबैभन्दा लामो ३३ सय ५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । कुल ७१ किलोमिटर लामो द्रुतमार्गमा ६ वटा सुरुङ बन्दैछन्, यी सुरुङको लम्बाइ झन्डै साढे १० किलोमिटर छ । अहिलेसम्म झन्डै साढे ५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ ।

यस्तै यस आयोजनामा बन्ने ८९ वटा पुलको लम्बाइ १२ किलोमिटर ८८ मिटर रहेको छ । द्रुतमार्ग निर्माणलाई सेनाले ११ वटा खण्डमा विभाजन गरेको छ । जसमध्ये १ देखि ७ खण्ड र खण्ड १० मा ठेक्का लागेर कामसमेत भइरहेको छ । खोकना खण्डको साढे ६ किलोमिटर खण्डमा ठेक्का हुन सकेको छैन ।

दुई वर्षमा निर्माण सक्ने गरी २०७४ सालमा द्रुतमार्गको जिम्मा नेपाली सेनाले पाए पनि अहिलेसम्म केही प्याकेजको ठेक्का नै लागेको छैन । सरकारले आयोजनाको म्याद थपेर २०८३ सालको चैतलाई तोकेको छ ।

तस्बिर : विष्णु रिमालकाे फेसबुकबाट

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया