काठमाण्डौ महानगरको कार्यालय नजिक सडक भासियो, सडक डिभिजनले तत्कालै मर्मत गर्ने

 साउन २५, २०८१ शुक्रबार १३:१०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डौ महानगरपालिका कार्यालय नजिक सडक भासिएको छ । महानगरको कार्यालय रहेको काठमाण्डौ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । यो सडकले दरबारमार्गलाई जोड्छ ।

दरबारमार्गको महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने टुकुचा खोलामाथिको सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको महानगर प्रहरीले जनाएको छ ।

सडक विभागअन्तर्गत पर्ने भासिएको सडक यसअघि एकतर्फी सञ्चालन हुँदै आएको थियो । यसअघि पनि सडक भासिएको थियो । त्यति बेला अस्थायी रूपमा मर्मत गरिएको थियो ।

सडक भासिएको जानकारी आएको र तत्कालै मर्मत गर्ने गरी प्रक्रिया अगाडि बढेको सडक विभाग अन्तर्गत सडक डिभिजन काठमाण्डौमा सूचना अधिकारी महानन्द जोशीले उज्यालोलाई जानकारी दिनुभयो । डिभिजन कार्यालयले काठमाण्डौ महानगरलाई पनि यसबारेमा जानकारी गराइसकेको उहाँले बताउनुभयो ।

यसैबीच काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा टुकुचा खोलामाथि अझै केही घरहरू रहेको बताउँदै सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मेयर शाहले लेख्नुभएको छ, ‘आवश्यकताअनुसार खोलामाथि कतै कतै पुल बनाउनुपर्छ, खोलामाथि घर र बाटो होइन ।’

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया