डिजिटल लाइसेन्सको नियमनका लागि ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई...
मंसिर ९, २०८१ आइतबार
छिमेकीको बिहेमा जन्त गएकाहरूको भात खाएपछि काम भएन । कोही तास खेल्न व्यस्त भए, कोही गफमा ।
‘खसी चाहिँ लोकल नै रैछ, मासु निकै स्वादिलो भयो’, एक जनाले दाँत कोट्याउँदै गफ झिके ।
‘गाउँमा बसेर यसैगरी खसीबोका, कुखुरा पाल्ने हो किन विदेश गैरहन पर्याे, यहीँ बसेरै विदेशको जति कमाउन सकिहाल्छ नि’, अर्कोले थपे ।
‘तर के गर्नु देशमा गरेर खाने राजनीतिक वातावरण नै छैन । सबै स्वार्थी, मतलबी, कामचोर र भ्रष्टाचारी मात्रै छन्’, अर्कोले मासुको स्वादलाई राजनीतिको बेस्वादसम्म जोड्न खोजे । त्यसपछि देश किन बनेन भन्नेमा गफको मेलो शुरू भयो ।
सरकारी गाडीमै शानसँग जन्त गएका सरकारी कर्मचारीले भने, ‘हेर्नुहोस्, हाम्रो राजनीतिक र प्रशासनिक प्रणाली नै खराब छ । कोही इमानदार र जिम्मेवार छैनन् । सबै कामचोर र भ्रष्टाचारी छन् । सेवा प्रवाह अझै झण्झटिलो छ । सुधार गर्न खोज्ने हामीजस्ता कर्मचारीलाई सधैँ पाखा लगाउने काम हुन्छ । यसरी कहाँ देश बन्छ ? पेन्सनपछि मलाई पनि यो देशमा बस्न मन छैन । छोराछोरी सबै बाहिर छन् । बाँकी जिन्दगी विदेशमै आनन्दसँग बिताउने हो ।’
सरकारी कर्मचारीले आफूबाहेक सबै खत्तम भएर देश बिग्रिएको निचोड निकाले । अब गफको मेलो थप्ने पालो आयो गाउँकै स्कूलका हेडमास्टरको । गाउँमा बिहे भएकाले चाँडै नै स्कूल बन्द गरेर आएका उनले चश्मा मिलाउँदै भने, ‘वास्तवमा भन्ने हो भने हाम्रो शिक्षा प्रणाली नै राम्रो छैन । शिक्षकहरूलाई उचित पारिश्रमिक र सम्मानको अभाव छ । हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाए पनि कतिपय बालबालिका अझै विद्यालयको पहुँचभन्दा बाहिर छन् । देशमा शिक्षाको गुणस्तर राम्रो नभएपछि उच्च शिक्षाका लागि विदेश जाने लहर चल्न थाल्यो । सरकारी स्कूलप्रति भरोसा छैन । म सरकारी स्कूलमा पढाउँछु, मेरा केटाकेटी चाहिँ बोर्डिङ स्कूलमा पढ्छन् । के गर्नु म एक्लैले सुधार गरेर केही नहुने । यस्तै चाल हुने हो भने देशमा शिक्षाको विकास कहिल्यै हुँदैन ।’
‘शिक्षाको मात्रै के कुरा गर्नुहुन्छ ? कृषि क्षेत्र त झन् खत्तम छ’, गाउँको खेतबारी बाँझै राखेर शहरमा बस्न थालेका अर्का मान्छे बोल्न थाले, ‘सरकारले मल, बीउ, सिँचाइ केही दिँदैन । तै पनि कतिले त गरेका पनि छन् । कता हो कसले तीन सय मुरी धान फलाए रे । जाँगर हुने हो भने गाउँठाउँमै खेतीपाती गरेर पनि मनग्य कमाउन त सकिँदो रहेछ नि । तर के गर्नु एक त मान्छेहरू अल्छी भए, खेतीपाती गर्नुको सट्टा किनेर खान सजिलो हुन थाल्यो । अर्कोतिर किसानको हितमा सरकारले केही काम गर्दैन । किसान पलायन भए । मान्छेलाई गाउँभन्दा शहर प्यारो हुन थाल्यो । आफ्नै गाउँमा बस्ने, खसीबोका र गाईभैँसी पाल्ने, खेतबारी हराभरा बनाउने, आफैँले उब्जाउ गरेको खाने हो भने कोही मान्छे भोकै हुँदैन थिए, बिरामी पनि पर्दैन थिए । तर मान्छे सबै अल्छी भए ।’
‘गाउँमै बसेर केही गर्छु भन्ने किसानका लागि पालिकाले पनि काम गरेको छ नि । तर हाम्रोमा माथिदेखि नै बिगार्ने काम भयो क्या’, सरकारी मोटरसाइकल चढेर बिहेको निम्तो मान्न पुगेका त्यही गाउँका वडाध्यक्षले भने, ‘हामीलाई राम्रोसँग काम गर्न दिने हो भने सबै समस्या चुड्कीको भरमा समाधान हुन्छ । गाउँकै खेतबारी हराभरा हुन्छ । यहीँ राम्रो स्कुल र कलेज खुल्छन् । अस्पताल र उद्योगधन्दा स्थापना हुन्छन् । मन्त्री, नेता र कर्मचारी जनमुखी र पारदर्शी हुनुपर्याे । जथाभाबी डोजरे विकासको अन्त्य हुनुपर्याे, हेर्नुहोस् त त्यहाँ पर असोजको वर्षाले पहिरो खसेर सबै गाउँ नै जोखिममा परेको छ ।’ त्यही बेला उनको मोबाइलमा घण्टी बज्यो । ‘ए ल म जानुपर्याे ल, त्यहाँ आफ्नै डोजरले बाटो खन्ने काम गरिरहेको छ, गएर हेर्नुपर्ने भयो’ भन्दै उनी निस्किए ।
अन्त्यमा गाउँका अगुवाको गफ गर्ने पालो आयो । उनले गफ टुङ्ग्याउँदै भने, ‘देशमा केही नभएको पनि होइन । केही भएको छ तर हुनुपर्ने जति भएको छैन । कुरा गर्ने धेरै भए तर कुराअनुसार काम गर्ने कोही पनि भएनन् । मैले त भनेको भन्यै छु, बोलेको बोल्यै छु, खै कसैले सुन्दैन । मैले भनेजस्तो हुने हो देश उहिल्यै बनिसक्थ्यो । मैले भनेजस्तो कसैले नगरेर देश उँभो लाग्न नसकेको हो बुझ्नुभयो नि ? ल म त अर्को बिहेमा पनि पुग्नु छ, के गर्नु भेटघाट र गफगाफमै दिन बिताउनुपर्छ ।’
बिहेमा जन्त गएका सरकारी कर्मचारी, शिक्षक–प्राध्यापक, गाउँका अगुवा र स्थानीय नेताहरूले पालैसँग देश बिग्रियो भन्दै चिन्ता गरे । आफूबाहेक अर्को इमानदार बन्ने हो भने देश सप्रिन्थ्यो भन्ने निचोड निकाले ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।